कुलमानलाई स्वीकार्न किन गाह्रो मान्छ राजनीतिक नेतृत्व ? – Nepal Press
नेपाल चिन्तन

कुलमानलाई स्वीकार्न किन गाह्रो मान्छ राजनीतिक नेतृत्व ?

केही समयअघि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा टेलिभिजन अन्तरवार्तामा ‘कुलमान घिसिङलाई नेशनल हिरो अर्थात राष्ट्रिय नायक’को संज्ञा दिए । तर यस्ता राष्ट्रिय नायकको नायकत्वलाई देशले कुन रुपमा उपयोग गर्न सक्छ भन्ने खासै चर्चा चलेको पाइँदैन ।

यसबारे कुलमान स्वयम्ले के सोचेका होलान. ? जनताले के ठानेका होलान् ? जे भए पनि असफल नेता र व्यवस्थापक भएको देशलाई अध्याँरोबाट उज्यालोमा लैजाने कुलमान निस्क्रिय हुनुहुन्न । र, देश तथा जनताले उनीबाट अधिकतम् लाभ लिन सक्नुपर्छ ।

कुलमानलाई धेरै मिडियाहरुले पछ्याई रहेका हुन्छन्, तर उनी धेरै मिडियामा आउँदैनन । उनले जति अन्तर्वाता दिएका छन्, त्यहाँ नयाँ विचार, दूरदृष्टि व्यक्त गरेका छन् ।

पछिल्लो समय उनले नेपाललाई नेपाललाई संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको मुलुक बनाउने सकिने बताए । अहिले पनि नेपाल विश्वका १० गरिब मुलुकमध्येको एक हो । अहिले नेपालीको प्रतिव्यक्ति आय ११९० डलर छ ।

अहिले सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको मुलुक लक्जम्बर्ग हो, जसको प्रतिव्यक्ति आय १ लाख ४३ हजार डलर भनिएको छ । कहाँ ११९०, कहाँ १ लाख ४३ ! लक्जमबर्गको प्रतिव्यक्ति आय नेपालको भन्दा १४० गुणा बढी छ । यो स्थितिमा नेपालीको प्रतिव्यक्ति आय १४० गुणा बढाउने कुलमानको सपना चानचुने होइन ।

लेखक

उनले मेलम्चीमा लार्के र यांग्री खोला जोडिए पछि ५१ करोड लिटर पानी उपत्यकामा आउँछ, त्यसमा २८ किलोमिटर सुरुङ खनेर जोड्न सक्यो भने रसुवा उपत्यकामा हिमालको हिउँलाई संग्रह गरेर एउटा स्टोरेज आयोजना वनाउन सकिने पनि बताएका छन् । उनका अनुसार २८ किलोमिटरको बीचबीचमा टर्वाइन जोडेर बिजुली निकाल्न सकिनेछ । अन्ततः त्यो पानी वाग्मतिमा मिसाउँदा काठमाडौं उपत्यकामा पानीको बहाव वढेर खोला सफा मात्रै हुँदैन, जल पर्यटन पनि बढ्नेछ । र, काठमाडौंमा खानेपानीको समस्या दीर्घकालीन रुपमा नै समाधान हुनेछ ।

उनको अर्को स्टोरेज योजना छ, मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङमा एउटा स्टोरेज आयोजना वनाउने । यसले मनाङलाई समृद्ध बनाउँछ । हाल संचालनमा रहेका तीनवटा विद्युतगृहहरुले हिउँदको समयमा पनि आफ्नो उच्चतम् क्षमताअनुसार बिजुली उत्पादन गर्न सक्छन् ।

मनाङको स्टोरेज योजनामा केही रकम खर्च होला, तर पछि बन्ने तथा अहिले संचालिन करिब १९० मेघावाटका तीनवटा आयोजनाले बिजुलीको अधिकतम् माग हुने हिउँदको समयमा समेत आफ्नो उत्पादन क्षमताको एकतिहाईमा सीमित भएको बेलामा क्षमता अनुसारकै बिजुली उत्पादन गर्छ । यसले देशलाई धेरै फाइदा हुने निश्चित छ ।

उनले प्रस्तावित बुढीगण्डकी आयोजनाको सन्दर्भमा सरकारले लिएको नीतिको आलोचना गरेका छन् । सरकारले अर्बौं रुपैयाँ अनुत्पादक क्षेत्रमा लगानी गर्न लागेको उनको आरोप छ । सो आयोजना नेपालको एउटा सपनाको परियोजना हो, यो बन्नु पर्छ भन्ने कुरामा दुईमत छैन । तर यो निकै महंगो परियोजना हो । किनभने यसको लागत प्रतियुनिट २० रुपैयाँ र बनाउन पनि कम्तिमा ८ देखि १० वर्ष लाग्छ ।

सरकारले कुन मोडालिटीमा वनाउने भन्ने टुंगो नलागी प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरिरहेको छ र अहिलेसम्म २० अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । उनको तर्कअनुसार परियोजना सुरु भएको अन्तिम चरण अर्थात् ८ देखि १० वर्षमा आयोजनाले ओगट्ने जग्गा डुबानमा पर्छ र त्यसमा आश्रित जनता विस्थापित हुन्छन् । त्यतिबेलासम्म उनीहरुले सो क्षेत्रको उपयोग आरामले गर्न सक्नेछन र राज्यको त्यत्रो रकम अहिले नै खर्च गनु पर्ने कुनै कारण छैन ।

जुनबेला आयोजना तयार हुन्छ र प्रभावित क्षेत्र डुब्न थाल्छ, त्यतिवेला मात्र मुआब्जा वितरण गरे हुने थियो । त्यसको सट्टा एकदुई वर्षमै प्रतिफल दिने प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्ने आयोजनामा लगानी गर्दा बढी उपयोगी हुन्थ्यो ।

उनले नेपालका विभिन्न परियोजना किन समयमा पूरा हुँदैनन् र लागत बढ्छ भन्ने कुरामा पनि अनुभव सुनाएका छन् । उनले भनेका छन्– अहिलेको सार्वजनिक खरिद् ऐनअनुसार ठेक्कापट्टा लगाउँदा सबैभन्दा कम कबोल गर्नेलाई दिनु पर्छ, नत्र अख्तियारले समाउँछ । यसरी कम कबोल गर्ने ठेकेदारले गुणस्तरमा ध्यान दिन सक्दैनन् । उनीहरुले कबोल गरेको रकममा आयोजना पूरा हुँदैन भन्ने कुरा सबैलाई थाहा हुन्छ । तर थाहा हुँदाहुँदै पनि राम्रो काम गर्नसक्ने ठेकेदारलाई दिन सकिँदैन । यसले गर्दा लागत पनि बढाइन्छ र समय पनि ।

नेपालका अधिकांश ठेक्काहरु चिनियाँ कम्पनीले पाउँछन् तर ती ठकेदारमध्ये अधिकांश बी तथा सी श्रेणीका हुन्छन् । चीनमै नाम कमाएका राम्रा ठेकेदारले यहाँ बिड नै गर्दैनन्, जसकारण समय र गुणस्तरमा सम्झौता गर्नुपर्ने स्थिति आउँछ । अहिलेको सार्वजनिक खरिद ऐनले सो कुरा नसच्याउँदासम्म नेपालको विकासले गति नलिने कुरा पनि उनले औंल्याए ।

कुलमान घिसिङ एउटा दूरदृष्टि भएका नेपालका टेस्टेड व्यवस्थापक तथा लिडर हुन् । उनले भन्ने गरेका सबै कुरा कार्यान्वयन गर्न पाए भने नेपालको कायापलट गर्न सक्छन् । किनभने डुब्न लागेको विद्युत् प्राधिकरणलाई नाफामा लगे र १८ घण्टा लोडसेडिङ भोग्न बाध्य जनतालाई लोडसेडिङमुक्त बनाए ।

उनी विद्युत् प्राधिकरणबाट निवृत्त भएको पनि एक वर्ष बितिसक्यो । उनले सम्हालेको पदमा दोहोरिने इच्छा व्यक्त गर्दै प्रधानमन्त्रीलाई भेट्न चाहेका थिए, तर निवर्तमान प्रधानमन्त्री ओलीले उनलाई भेट नै दिएनन् । अन्ततः शाक्य थरका नयाँ कार्यकारी निर्देशकलाई नियुक्त गरे ।

बर्तमान प्राधिकरणको नेतृत्वलाई त्यति खोट लाउने स्थिति त छैन तर पनि देशले नै माग गरेको कुशल व्यवस्थापक तथा नेतालाई सो पदमा नदोहोर्‍याउनु गलत थियो । बर्तमान सरकारले पनि उनी जस्ता सक्षम र इमान्दार व्यवस्थापकलाई कुनै निकायको महत्वपूर्ण जिम्मेवारी दिएर देशको कायापलट गर्न चाहँदैन ।

कतिपयले कुलमानलाई राजनीतिको मूलधारमा हेर्न चाहेका छन् । तर यसबारे उनले प्रष्ट धारणा सार्वजनिक गरेका छैनन् । उनी काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडे जित्ने निश्चित छ । यद्यपि, एकजना कुलमानले चुनाव जितेर मुलुकको कायापलट गर्न सम्भव छैन । उनी कुनै राजनीतिक लाइनबाट प्रधानमन्त्रीसम्म भएमा केही फरक अवश्य हुनेछ ।

अहिलेको राजनीतिक प्रणालीले कुलमानलाई सहँदैन, स्वीकार्दैन । राजनीतिक दलले ठूलो छाती बनाएर कुलमानलाई नेतृत्वमा ल्याउने हो भने मुलुकको मुहार उज्यालिने थियो, नागरिकको आश पूरा हुनेथियो ।

प्रतिक्रिया

One thought on “कुलमानलाई स्वीकार्न किन गाह्रो मान्छ राजनीतिक नेतृत्व ?

  1. कुलमानको बारेमा शंकै छैन । तर शिर्ष कको किन भन्ने प्रश्नको जवाफ दिने या खोज्ने या आफ्नै तर्क पनि दिए हुन्थ्यो नि लेखक ज्यू। खाली काम र याजनाका बेलिविस्तार मात्रै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *