पेट्रोलियम पाइपलाइनमा समस्या, बाइपासमार्फत आपूर्ति सूचारु राखिने – Nepal Press

पेट्रोलियम पाइपलाइनमा समस्या, बाइपासमार्फत आपूर्ति सूचारु राखिने

काठमाडौं । भारतबाट नेपालमा तेल ओसार्न प्रयोग भइरहेको पेट्रोलियम पाइपलाइनमा समस्या देखिएको छ । पर्साको परवानीपुरस्थित पाइपलाइनको भल्बमा समस्या आएपछि तत्काल मर्मत तथा सफाइको तयारी निगमले गरेको छ ।

निगमका अनुसार सो क्षेत्रमा तेल थिग्रिएर बसेको लेदो जस्तो पदार्थ देखिएपछि आपूर्ति प्रभावित भएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पाइपलाइनमा केही वस्तु अड्केर बसेको जस्तो देखिएकाले सफा गर्न लागिएको बताए ।

उनले भने, ‘पेट्रोलियम पाइपलाइनमा जति चापमा तेल आउनु पर्ने थियो आएन । पर्साको परवानीपुर क्षत्रको पाइपलाइनको भल्ब एक्से गरेर हेर्दा तेल थिग्रिएर बसेको लेदोजस्तो देखियो ।’

पाइपलाइन मर्मत हुँदा बाइपास बनाएर आपूर्ति सूचारु गरिने उपाध्यायले जानकारी दिए ।

पाइपलाइन परियोजनाका प्रमुख तथा अमलेखगन्जका प्रमुख प्रदीप यादवले भोलिबाट पाइपलाइन मर्मतको काम सुरु हुने बताए ।

यादवले भने, ‘जुन चापमा पाइपलाइनबाट तेल आउनु पर्ने हो त्यो चापमा नआएपछि मर्मत सुरु भएको छ । भारतका इन्जिनियरले नै मर्मत गर्ने हो । यसमा नेपालको पैसा खर्च हुँदैन । ७ दिनमा मर्मत सकिन्छ ।’

प्रत्येक २ वर्षमा पाइपलाइन सफा गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको उनले बताए ।

२०७६ सालमा मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माण भएको थियो । यो दक्षिण एशियाकै पहिलो सीमापार पाइपलाइनका रूपमा रहेको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको छ । परियोजनामा भारत सरकारको ४ अर्ब ४० करोड भारु आर्थिक सहयोग रहेको छ । कूल लम्बाई ७० किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर लामो छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार पाइपलाइन सञ्चालनमा आएपछि करिब सवा ३ अर्ब रुपैयाँ ढुवानी खर्च बचत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर