पृथ्वीमानलाई देउवाले दिए न्याय, चितवनका तीन जनाको ‘हाइ प्रोफाइल’ नियुक्ति – Nepal Press

पृथ्वीमानलाई देउवाले दिए न्याय, चितवनका तीन जनाको ‘हाइ प्रोफाइल’ नियुक्ति

चितवन । सरकारले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङको नाम राष्ट्रपति समक्ष सिफारिस गर्दा उनी को हुन् भन्ने धेरैले चासो राखेका छन् ।

राष्ट्रिय राजनीति र अन्यत्र पनि खासै चर्चामा नरहेका गुरुङ कांग्रेस वृत्तमा पनि पूराना नेता हुन् । २०४८ सालमै चितवनमा कांग्रेसबाट संसदीय चुनावको उम्मेदवार बनेका गुरुङ अहिलेसम्म लाभको पदमा भने पुगेका छैनन् ।

उनी नेपाली कांग्रेस विभाजित भएर शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस बनाएका बेला चितवन जिल्लाको सभापति थिए । एकिकरणपछि उनी चितवन कांग्रेसको सहसभापति बने । कांग्रेसको केन्द्रीय संगठन विभागको उपप्रमुखमा २०७७ साउन २६ गते मनोनित भएका थिए ।

गुरुङ कांग्रेस केन्द्रीय सदस्य पदमा दुई पटक पराजित भएका थिए । उनी कांग्रेस चितवनको सल्लाहकार हुन् । ७२ वर्षीय गुरुङ कास्कीको घलेलबाट चितवनमा बसाइ सरेका हुन् ।

उनले केही समय पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन समेत गरेका थिए । २०३४ सालतिर कांग्रेसमा लागेको भनेर जागिर खोसिएपछि उनी राजनीतिमै सक्रिय भए ।

हाल चितवन भरतपुर नगरपालिकाको दिव्यनगरमा बस्ने गुरुङ देउवाका सदावहार सहयोगी हुन् । देउवाले उनलाई प्रदेश प्रमुख बनाएर न्याय गरेको टिप्पणी कांग्रेस कार्यकर्ताले गरेका छन् । प्रदेश प्रमुखमा नियुक्त गुरुङको थातथलो कास्कीको घलेल हो ।

पृथ्वीमान गुरुङ कांग्रेसबाट बेलाबखत अवसर गुमाएका व्यक्तिमा पर्छन् । संविधानसभा निर्वाचन २०७० मा चितवन क्षेत्र नम्बर ५ र स्थानीय तहको निर्वाचन २०७४ मा भरतपुर महानगरको मेयरमा टिकट पाउने सूचिमा रहेका गुरुङलाई अन्तिम आवरमा हटाइएको थियो । तर, पनि उनी पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सूचिमा अटेका थिए ।

२०३६ सालको आन्दोलनमा गुरुङले कास्कीमा बहुदलको पक्षमा नेतृत्व लिएका थिए । पछि चितवन आएका उनले २०४६ सालको आन्दोलनको समेत नेतृत्व गरे । जनआन्दोलन सञ्चालन समिति चितवनको ५ सदस्यीय टिममा बसेर अगुवाई गरे ।

जनआन्दोलनकै सिलसिलामा माडीमा प्रहरीले उनी सहित ३७ जनालाई एउटै डोरीले बाँधेर पक्राउ गरेको थियो । उनलाई पञ्चायतकालमा सर्वस्वहरण सहित टाउको मूल्य तोकिएको थियो । बहुदल पहिले उनी चितवन कांग्रेसको सचिव भएर पनि काम गरे । देशमा बहुदल आएपछि २०४८ सालमा उनले चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाए । तर, पराजित भए ।

भूमी समस्या समाधान आयोगमा समेत केही वर्ष काम गरेका गुरुङ कांग्रेस चितवनलाई मजबुत बनाउन खटिएका व्यक्तिमा गनिन्छन् ।

संयोग नै मान्नुपर्छ सरकारले मंगलबार नियुक्त गरेका तीन जना व्यक्ति चितवनै परेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडे, लुम्बिनीका प्रदेश प्रमुख प्रस्तावित अमिक शेरचन र गण्डकीका गुरुङ तीनै जना चितवनका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर