लुम्बिनीका मुख्यमन्त्रीले बाँडे कृषि एम्बुलेन्स, कृषिजन्य उत्पादनको बजारीकरण सहज हुने अपेक्षा – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीले बाँडे कृषि एम्बुलेन्स, कृषिजन्य उत्पादनको बजारीकरण सहज हुने अपेक्षा

रुपन्देही । कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहजताका लागि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले कृषि एम्बुलेन्स वितरण गरेका छन् । हेफर इन्टरनेशनल नेपालले उपलब्ध गराएका एम्बुलेन्स मुख्यमन्त्रीले वितरण हुन् ।

लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाका २८ वटा सहकारी संस्थालाई हेफरले कृषि एम्बुलेन्स प्रदान गरेको हो ।

साना किसानहरूको दीगो विकासमा सहयोग गर्ने गरी उपलब्ध गराएको कृषि एम्बुलेन्सबाट २० हजार ७५१ बढी कृषकहरुले प्रत्यक्ष लाभ लिनसक्ने भएका छन् । लुम्बिनी प्रदेशअन्तरगतका पाल्पाका ३, अर्घाखाँची, बाँके, दाङ र बर्दियाका २/२ वटा सहकारीहरुले कृषि एम्बुलेन्स प्राप्त गरेका छन् ।

यसैगरी गुल्मीको एक सहकारीले एम्बुलेन्स प्राप्त गरेको छ । संस्थाले प्रदेश १ को एक सहकारी, प्रदेश २ का ५, बागमती प्रदेशका ६ र गण्डकी प्रदेशका ४ सहकारीहरुले कृषि ढुवानी साधन प्राप्त गरेका छन् ।

सहकारी संस्थाका प्रतिनिधिलाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कृषि सामग्री ढुवानीका लागि प्राप्त गरेका सवारीलाई आवश्यक काममा मात्रै प्रयोग गरी सदस्यहरुलाई सेवा प्रदान गर्न आग्रह गरे ।

कृषिको आधुनिकीकरण र व्यवसायीकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र ढुवानीको साधनले कृषकहरुलाई बजारीकरणमा समेत सहजता प्रदान गर्ने बताउँदै उनले परम्परागत खेतीबाट व्यवसायिकतातर्फ उन्मुख हुन कृषकहरुलाई सुझाव दिए ।

नेपाल कृषिको तुलनामा श्रम निर्यात गर्ने मुलुकका रुपमा विकास हुँदा समस्याहरु थपिँदै गएको बताउँदै उनले युवाहरु विदेसिँदा पारिवारिक तथा सामाजिक समस्या उत्पन्न भएको बताए ।

लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारहरुको निर्माण तथा कृषकहरुको क्षमता विकासका कार्यक्रमलाई जोड दिएको बताए ।

कृषि अनुदानका माध्यमबाट प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउनका लागि आवश्यक प्रोत्साहनका कार्यक्रमहरु ल्याउने उनको प्रतिवद्धता थियो । पूर्व भूमि, व्यवस्था तथा कृषि तथा सहकारीमन्त्री आरती पौडेलले आफ्ना पालामा समेत कृषकहरुलाई आत्मनिर्भर बनाउनेगरी अनुदानका कार्यक्रमहरु ल्याउनुका साथै कृषकको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिएको उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले प्रदेशका सबै कृषि उत्पादनहरुलाई एकीकृत गरी बजारीकरण गर्नेगरी भौतिक संरचना निर्माणको तयारी भइरहेको उल्लेख गरे ।

हेफर इन्टरनेशनलले नेपालमा कृषकहरुको दीगो विकासका लागि विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत रहेर सहकारीहरुलाई कृषि एम्बुलेन्सका रुपमा ढुवानीका साधन प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक डा. तिर्थराज रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *