दबाबमा देउवा : तिलक रावललाई मन्त्री बनाउने कि योजना आयोगको उपाध्यक्ष ? – Nepal Press

दबाबमा देउवा : तिलक रावललाई मन्त्री बनाउने कि योजना आयोगको उपाध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवामाथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावललाई अर्थमन्त्री बनाउन दबाब परेको छ । देउवानिकट कांग्रेसका प्रभावशाली नेताहरूबीच रावललाई मन्त्री बनाउन दबाब परेको चर्चा चलेपछि कांग्रेस वृत्तमा खैलाबैला भएको छ ।

रावल राष्ट्र बैंकबाट अवकाश भएपछि कांग्रेसनिकट भएर काम गरे पनि संविधानसभामा मधेशी जनअधिकार फोरमबाट सदस्य भएका थिए । विजय गच्छदारसँग नजिक रहेका रावल पछिल्लो समय राजनीतिमा सक्रिया छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको सम्धीसमेत रहेका रावललाई मन्त्री बनाउन कताबाट दबाब आयो भन्ने औपचारिक रूपमा कांग्रेस नेताहरूले बताउन चाहेका छैनन् । तर, सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले प्रधानन्यायाधीशलाई पनि गुन लगाउने चर्चा कांग्रेस वृत्तमा चलेको छ ।

रावललाई मन्त्री बनाएर कैलालीमा लेखराज भट्ट निर्वाचित भएको रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव लडाएर सांसद बनाउन सकिनेसम्मको छलफल पनि चलेको स्रोतले जनाएको छ ।

रावललाई मन्त्री बनाउँदा पार्टीभित्र र बाहिरबाट थप विरोध हुने ठानेका देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएर दबाबमुक्त हुने सम्भावना रहेको समेत उनी निकट स्रोतले जनाएको छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्तै दबाब झेलेको उनी निकटस्थहरूले बताउन थालेका छन् । उनको पालामा कसलाई मन्त्री बनाउन दबाब दिइएको थियो भन्ने खुलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर