अमेरिकाले नेपाललाई थप खोप सहायता उपलब्ध गराउने – Nepal Press

अमेरिकाले नेपाललाई थप खोप सहायता उपलब्ध गराउने

काठमाडौं । अमेरिकाले नेपाललाई थप खोप सहायता उपलब्ध गराउने जनाएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा राजदूत र्‍यान्डी बेरीले थप खोप तथा स्वास्थ्य सहायताका लागि अमेरिका तयार रहेको बताएका हुन् ।

गतसाता अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराएको र आवश्यक परे थप सहयोग गर्ने जनाएको अर्थ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

मन्त्री शर्माले कोभिड-१९विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

भेटको क्रममा राजदूत बेरीले कोभिड-१९ विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए । ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले आगामी दिनमा सहायतालाई निरन्तरता दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर