प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपाल पक्षले पनि दुईजना पाउने – Nepal Press

प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपाल पक्षले पनि दुईजना पाउने

काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । केहीलाई तत्कालै हटाउने तयारी छ ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।

नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्यासी एमाले निर्वाचन आयोगका प्रमुख हुन् भने सीता पौडेल र धर्मनाथ यादव केन्द्रीय सदस्य हुन् । कलौनी र यादव पनि एमालेकै नेता हुन् भने राजेश झा अहिराज मधेशवादी अभियन्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर