संक्रमणबाट वडाअध्यक्षको मृत्युपछि नगरपालिका सिल – Nepal Press

संक्रमणबाट वडाअध्यक्षको मृत्युपछि नगरपालिका सिल

रुपन्देही । कोरोना संक्रमणबाट एक वडाअध्यक्षको कोरोनाबाट मृत्यु भएपछि अर्घाखाँीको सन्धिखर्क नगरपालिका शील गरिएको छ । सन्धिखर्क नगरपालिका-८ का वडाअध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडाअध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो । बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडाअध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ५ दिनअघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यकबाहेकका सम्पूर्ण काम साउन १७ गतेसम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिनसम्म शोकपुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

शिक्षण पेशाको अवकाशपछि नेकपा एमालेबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी पार्टीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका थिए ।

भुसालको निधनले पार्टीमा ठूलो क्षति भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले शोकको घडीमा ३ दिनसम्म जिल्लाका ६१ वटै वडाहरू तथा ६ वटा स्थानीय तहमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने, जिल्लास्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र १३ दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोकपुस्तिका राखि मृतक भुसालप्रति शोक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

जिल्लामा हालसम्म कोरोनाका कारण ७० जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए । कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपालिकामा ३ जना गरी ७० जनाको मृत्यु भएको छ ।

हालसम्म जिल्ला भरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या २६ सय ३४ पुगेको छ। अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *