हामीले एमालेका सांसद चोरेका होइनौं, उहाँहरु नै आउनु भएको हो : प्रमुख सचेतक विष्ट (भिडियो) – Nepal Press

हामीले एमालेका सांसद चोरेका होइनौं, उहाँहरु नै आउनु भएको हो : प्रमुख सचेतक विष्ट (भिडियो)

सुर्खेत । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले एमालेका सांसद आफूहरुले नचोरेको र उहाँहरु आफैं सत्ता गठबन्धनमा आएको बताएका छन् । ‘कसैको पकेटबाट दुई रुपैयाँ चोर्दा त मुद्दा लाग्छ, मान्छे चोर्न सकिएला त !’ नेपाल प्रेससँग विस्टले भने, ‘सांसद चोरेको भन्ने कुरा राजनीतिक बिकाउका लागि भएका हुन् ।’

बाध्य भएर अध्यादेशमार्फत् बजेट ल्याएको बताउँदै उनले अध्यादेशविरुद्ध एमालेले हालेको रिटमा अदालतबाट आउने फैसलालाई स्वीकारेर अघि बढ्ने पनि बताएका छन् ।

पार्टी संसदीय दलको बैठकपछि विष्टले भने- हाम्रो दलको वैठकले समसामयिक विषयमा आवश्यक निर्णय गरेको छ । सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउने, सरकारले ल्याएको अध्यादेशमार्फतको बजेट कार्यान्वयन गराउने आदि निर्णय भएका छन् । समग्रमा कर्णाली प्रदे्श सरकारले तीन वर्षको अवधिमा गरेको कामका समीक्षा भएको छ । सरकारले राम्रो काम गरेको निर्णयमा हामी पुगेका छौं ।

सरकारले हरेक वडामा पर्याप्त बजेट पठाइरहेको भन्दै उनले संघीय सरकार कर्णालीका लागि आकाशको फल जस्तो बनिरहेको बताए । यसका बाबजुत पनि कर्णाली सरकारले विकास निर्माण काम गरिरहेको उनको बुझाइ छ । ‘हरेक वडामा एक करोड भन्दा बढि बजेट जानु आफैंमा सुखद कुरा हो । यसका अलावा सरकारले संरचना निर्माण गरेको छ’ उनी भन्छन्, ‘कानूनहरु निर्माण गरेको छ । प्रदेशको स्थापना भएसँगै यही सरकारले कानूनहरु निर्माण गरेको हो । वीरेन्द्रनगरका सडकहहरु बनेका छन् । ढिलै भएपनि सडक कालोपत्रे भएको छ ।’

सरकारले वर्षान्तसँगै रकमान्तर गरेको विष्ट भन्छन्– एघार महिना काम हुन्छ, बाह्रौ महिनामा बजेटको भुक्तानी हुन्छ । यो स्वभाविक हो । अहिले रकमान्तरका नाममा विरोधका लागि विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर