स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण : मैले संचालन गरेका अस्पताल गैरनाफामूलक हुन् – Nepal Press

स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण : मैले संचालन गरेका अस्पताल गैरनाफामूलक हुन्

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले संचालन गरेका अस्पतालहरु गैरनाफामूलक भएको दाबी गरेका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्पष्टीकरण दिँदै उनले आफूले संचालन गरेका अस्पताल गैरनाफामूलक भएको बताए ।

आफूलाई निजी अस्पतालका संचालक भएको भन्दै आलोचना गरेका विषयमा समितिले उनलाई प्रश्न गरेको थियो । ‘नाफा नलिने सर्तमा मैले सेवा संचालन गरेको हुँ । सरकारको स्रोत साधनले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवामूलक अस्पताल संचालन गरेका हौं’ उनले भने ।

विशुद्ध सेवामूलक भावले अस्पताल संचालन गर्न खोजिएको उनको भनाई थियो । सरकारी अस्पतालमै जस्तै सस्तो दरमा उपचार तथा पीसीआर परीक्षण गर्ने गरी अस्पताल संचालन गर्न लागेको उनले बताए ।

आफू विगत ८ वर्षदेखि स्वास्थ्य तथा शिक्षा समितिमा आबद्ध रहेकाले पनि स्वास्थ्य क्षेत्रको समस्याबारे आफूलाई अवगत रहेको उनको भनाई छ । स्वास्थ्य सेवा प्रदान गर्नुु राज्यको दायित्व भएको समेत उनले बताए । कोरोना संक्रमितको उपचार चुस्त बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने उनको भनाई छ । गम्भीर भएर अस्पताल अक्सिजन र पूर्वाधार व्यवस्थापनमा ध्यान दिने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर