विदेशिने यात्रुको सास्ती: न सहजै टिकट, न उडानको निश्चितता – Nepal Press

विदेशिने यात्रुको सास्ती: न सहजै टिकट, न उडानको निश्चितता

काठमाडौं । झापाकी रोशनी गौतमलाई नेदरल्याण्ड जानका लागि आफन्तले एक महिनाअघि नेदरल्याण्डबाटै टर्किस एयरलाइन्सको टिकट काटिदिए । उनको पहिलो उडान गत जुन २८ मा काठमाडौंबाट इस्तनावुलका लागि थियो ।

उनी सबै तयारी सकेर उडानका लागि काठमाडौं आइन् । काठमाडौं आएर टर्किस एयरलाइन्समा बुझ्न गइन् । एयरलाइन्सले जुन ३० सम्मका लागि उडान स्थागित भएको जानकारी दियो ।

तर जुन ३० मा पनि उनको उडान भएन । फेरि १२ जुलाईसम्मका लागि स्थागित भएको भनियो । त्यसपछि फेरि १८ जुलाईका लागि उडान सरेको भनियो ।

उडान स्थगित हुँदाहुँदा हैरान भएकी रोशनीलाई भिसाको म्यादै सकिने चिन्ताले सताउन थाल्यो । यसअघि भिसा लगाउन भारत जाँदा–आउँदा र क्वारेन्टिनमा बस्दा एक लाख रुपैयाँ सकिसकेकी रोशनीलाई फेरि उहीं नियति भोग्नुपर्ने चिन्ता बढ्यो । र उनी टर्किस एयरलाइन्सको हात्तीवनस्थित केन्द्रीय कार्यालयमा बुझ्न गइन् ।

सुरुमा त्यहाँका कर्मचारीले खासै चासो दिएनन् । उनले ‘पत्रकार बोलाएर छानविन गराउँछु’ भनेपछि टिकट थमाइयो । उनी १२ तारिखमा इस्तानाबुल उडिन् ।

उड्नुअघि उनले बुझिन् कि, त्यसअघि पनि टर्किस एयरका उडान रद्द वा स्थागित भएका होइन रहेछन् । महंगोमा अरुले टिकट काटेर उडेपछि रोशनी जस्ता धेरै यात्रुलाई झुक्याइएको रहेछ ।

रोशनी त एक प्रतिनिधि यात्रु मात्र हुन् । पछिल्लो समय धेरै यात्रुले यस्तै सास्तीको सामना गरिरहनु परेको छ ।

कोरोनाका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाइ उडान नियमित हुन थालेको एकसाता बढी भए पनि यात्रुले सहजै उडान भर्न पाएका छैनन् ।

टिकट पाउनै मुस्किल, पाए पनि एयरलाइन्स कम्पनीले झुक्याएर अर्कैलाई महंगोमा टिकट बेच्ने गरेको यात्रुहरुको आरोप छ । विशेषगरी विदेशबाट आफन्तले सस्तो भाडादरमा काटिदिएका टिकटलाई नेपालमा रहेका कम्पनीका कर्मचारीले मंहगोदरमा अरुलाई बेचेर सम्बन्धित यात्रुलाई उडान रद्द भएको बताउने गरेको उनीहरुको आरोप छ ।

उडान सहज नहुँदा रोजगारी र अन्य विभिन्न प्रयोजनका लागि विदेश जान लागेका यात्रु प्रभावित भएका छन् । कहिले हवाइ उडान नै रद्द हुने त कहिले एयरलाइन्स कम्पनीले मनलाग्दी टिकटको मिति सारिदिँदा यात्रु प्रभावित भएका हुन् ।

यतिसम्म कि नेपाल एयरलाइन्स र हिमालय एयरको अन्तर्राष्ट्रिय उडानका टिकट ट्राभल एजेन्सीको सिष्टम नै सेटिङ मिलाइएको छ । एरोलिना ट्राभल एण्ड टुरका संचालक याम खड्काका अनुसार दुवै कम्पनीले केही ट्राभल एजेन्सी र अन्य स्रोतसँगको मिलोमतोमा सिस्टममा उडान भरिएको देखाउँदै आएका छन् ।

यो समस्या केही समय पहिला टर्किस एयर र कतार एयरवेजमा पनि थियो । उडान शुरु गरेको लामो समयसम्म उनीहरुले सिष्टममा टिकट नै देखाएनन् । अन्तर्राष्ट्रिय उडान नियमित गरेपछि मात्र ट्राभल एजेन्सीले सिष्टममा टिकट देखिने बनाए ।

कारोनाका कारण पर्यटक आवागमन कम भएसँगै अन्तर्राष्ट्रिय उडान गर्नेमा अधिकांश वैदेशिक रोजगारीमा जानेहरु हुन्छन् । तर, उनीहरुले हवाई टिकट काटेर यात्रा गर्दा करिब एक वर्षमा हुने कमाइ खर्च गर्नुपर्ने बाध्यता छ ।

अत्यधिक मंहगो हवाई भाडा र होटल–क्वारेन्टिन बस्नुपर्ने भएकाले उनीहरु बढी मारमा परेका छन् । जसकारण वैदेशिक रोजगार व्यवसायीले यसको विरोध गर्दै आएका छन् ।

एरोलिना ट्राभलका संचालक खड्का अनुसार अहिले साउदी जाने यात्रुले हवाई भाडा र क्वारेन्टिनसमेत गरेर कम्तीमा दुई लाख रुपैयाँ तिर्नुपर्छ । ‘दुईचार पैसा कमाउन गएका नेपाली कामदारलाई चर्को हवाई भाडा निल्नु न ओकल्नु भएको छ,’ उनले भने ।

उजुरी परेको छैन, हामीले केही गर्न सक्दैनौंः नागरिक उड्ययन प्राधिकरण

खुलेआम यात्रु ठगिँदा पनि नियामन निकाय नागरिक उड्डयन प्राधिकरण भने ‘उजुरी परेको छैन’ भन्दै ढुक्कसँग बसिरहेको छ । प्राधिकरणमा हवाई सेवा कम्पनीको अनियमितता रोक्नका लागि भन्दै महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा समिति नै बनाएको छ । तर, अहिलेसम्म उजुरी नपरेकाले आफूहरुले केही गर्न नसक्ने बताउँछन्, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री । उनका अनुसार उजुरी आए तुरुन्त छानविन गरिनेछ ।

पहिला नेपालबाट ८ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले १३ वटा कम्पनीले मात्र नियमित उडान भरिरहेका छन् । त्यसमा दुईवटा कम्पनी नेपाली छन् ।

अहिले टर्किस एयरलाइन्स, कतार एयरलाइन्स, जजिर्रा, फ्लाई दुवही, सलाम, एयर एरेबीया, एयर अरबीया आबुदावी, सिंगापुर एयर, मालिन्दो, मलेसियन एयरले उडान भरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता क्षेत्रीका अनुसार नेपालले उडान अनुमति दिएपनि नेपाल–चीन उडान भएको छैन । त्यस्तै बंगलादेश, थाइल्याण्ड र भुटान र जापानले पनि अहिले नेपालबाट हुने हवाई उडान रोकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *