अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने, विदेशी बजारको पनि छैन टुंगो – Nepal Press

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने, विदेशी बजारको पनि छैन टुंगो

काठमाडौँ । कोरोनाभाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ ।

सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्र कोरोनाभाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो । नेपाल चलचित्र सङ्घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो ।

पहिलो- चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन ? दोस्रो- सङ्कटमा रहेको चलचित्र क्षेत्र झन सङ्कटको चपेटा पर्‍यो । तेस्रो- अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ । हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यीनै हुन् । यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ । यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ ।

कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै । अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन । कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत-३’, ‘चपली हाइट-३’, ‘लप्पन छप्पन-२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ ।

नेपाल चलचित्र सङ्घका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । “सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो”, चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले भने ।

सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन् । तेत्तीस प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन । “त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन”, उनले भने ।

नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः शुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ ।

विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ ।

विश्व बक्सअफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका । हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ । हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन् । चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सँधैका लागि बन्द हुने बीबीसीले उल्लेख गरेको छ ।

कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्घले जनाएको छ । देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।

राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ । जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ । ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ । दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ ।

राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन् । कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ । कतिपय हल गोदाममा परिणत भएको छ । यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ । समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ । अन्यथा चलचित्र क्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ । यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ ।

चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै रु दुई अर्ब बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्क भने छैन । वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाबाट निकालिएको छ ।

अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ । कलाकार घरमै आराम गरिरहेका छन् । कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ । हलवाला र निर्माता ब्याजको मारमा परेका छन् । जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन । दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन् ।

प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुङ्गो लागेको छैन । नेपाल चलचित्र सङ्घका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ । अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन् । दर्शक नै नआई हल खुल्न सक्दैन । कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ । सामान्य भएकै अवस्थामा खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ । यसकारण पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीको धारणा रहेको छ ।

यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले पनि अरु क्षेत्र खुले पनि चलचित्र क्षेत्र खुलिहाल्न कठिन रहेको बताए । उनका अनुसार सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने छ । “यसो गर्दा तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने भने होइन । केही रूपमा कामको शुरुआत गर्न सकिन्छ भन्ने हो । यसले सबैलाई आत्मबल प्रदान गर्छ । यसरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेको तुलनामा फर्कन सक्छ भन्ने हो”, अधिकारीले भने ।

यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ । स्वास्थ्य मन्न्त्रालयसँग तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । “एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो । स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो । त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि शुरु हुन्थ्यो । यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो”, उनले भने ।

चलचित्र निर्माण नहुँदा निर्माणमा सहभागी सबै चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव त पर्ने नै भयो । योसँगै वितरण र प्रदर्शन पनि हुन सक्दैन । चलचित्र निर्माणका लागि प्रदर्शन अपरिहार्य छ । जबसम्म चलचित्र प्रदर्शन हुन सक्दैन तबसम्म निर्माण हुन सक्दैन । चलचित्र निर्माण र प्रदर्शन हुन नसक्दा चलचित्र क्षेत्र शून्य अवस्थामा रहन्छ । अहिलेको अवस्था यही नै हो ।

चलचित्र क्षेत्र कहिले खुल्छ र कसरी खुल्छ भने विषयमा चलचित्रकर्मीमा नै अन्योल छ । चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थासँग पनि भावी रणनीति छैन । न त चलचित्र विकास बोर्डले नै यसबारे प्रष्ट पार्न सकेको छ । यस्तो अवस्थामा चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय त लाग्ने नै छ तर अबका दिनमा चलचित्र क्षेत्रले विश्वास कायम गर्न सक्छ कि सक्दैन, दर्शकलाई रिझाउन सक्छ कि सक्दैन भन्ने पनि मुख्य विषय बनेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर