टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा चीन अगाडि – Nepal Press

टोकियो ओलम्पिकमा आज २१ स्वर्णको छिनोफानो हुँदै, पदक तालिकामा चीन अगाडि

एजेन्सी । टोकियोमा जारी ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा आज थप २१ स्वर्ण पदकको छिनोफानो हुँदैछ । अन्य खेलको प्रतिस्पर्धा जारी रहँदा १३ खेलका २१ स्पर्धा भने आज सकिन लागेका हुन् ।

आज आर्चरीको पुरुष टिम, आर्टिस्टिक जिम्न्यास्टिकको पुरुष टिम, क्यानोई स्लालोमको पुरुष टिम, साइक्लिङको क्रस कन्ट्री माउन्टेन बाइक, डाइभिङको पुरुष १० मिटर स्यान्च्रो, फेन्सिङको महिला साब्रे र पुरुष फोइल विधाका फाइनल खेलहरु हुनेछन् ।

त्यस्तै जुडोको महिला ५७ केजीमूनि र पुरुष ७३ केजीमूनि, शुटिङको पुरुष र महिला स्कीट, स्केटबोर्डिङको महिला स्ट्रिट, पौडीको महिला १०० मिटर फ्लाई, पुरुष १०० मिटर ब्रेष्टस्ट्रोक, महिला ४ सय मिटर फ्रिस्टाइल र पुरुष ४ गुण ४ सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्णको छिनोफानो हुनेछ । टेवलटेनिसको मिक्स डवल्र, तेक्वान्दोको महिला ६७ केजीमूनि र पुरुष ८० केजीमूनि तौलसमूह, भारोत्तोलनको महिला ५५ केजी तौलसमूह र ट्रायथोलनको पुरुषतर्फको फाइनल खेलहरु आजै हुनेछन् ।

शुक्रबार उद्घाटन भएको प्रतियोगितामा शनिबारदेखि स्वर्ण पदकका प्रतिस्पर्धा सुरु भएका थिए । सुरुआती स्वर्ण जितेयता चीनले पदक तालिकामा अग्रता बनाइरहेको छ ।

आइतबारसम्मको पदकतालिकामा चीनले ६ स्वर्ण १ रजत र ४ कांस्य गरी ११ पदक जितेको छ ।

आयोजक जापानले ५ स्वर्ण र १ रजत गरी ६ पदक तथा अमेरिकाले ४ स्वर्ण २ रजत र ४ कांस्य गरी ११ पदम जितेको छ ।

दक्षिण कोरियाले २ स्वर्ण र ३ कांस्य जितेको छ । अहिलेसम्म ११ देशका खेलाडीले स्वर्ण जितेका छन् । अहिलेसम्म ३० स्वर्णको छिनोफानो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *