‘एमाले मिलिसक्यो, लडौं भन्न चाहनेलाई पनि अब विवादको बिषय छैन’ (भिडियो) – Nepal Press

‘एमाले मिलिसक्यो, लडौं भन्न चाहनेलाई पनि अब विवादको बिषय छैन’ (भिडियो)

हामीले कार्यदलका तर्फबाट अघि सुवास कमरेड (सुवास नेम्वाङ) ले भनेजस्तै यो १० बुँदे सहमति गरेका हौं । त्यो १० बुँदे सहमति अहिले झट्ट हेर्दा कतिपयलाई लाग्न सक्छ- त्यतिकै बसे, खुरुखुरु लेखे ।

वास्तवमा यो सहमतिमा पुग्नका लागि हामीले धेरै प्रयत्न गर्नुपर्‍यो । कयौं कुरामा चित्त नबुझ्दा नबुझ्दै पनि पार्टीको वृहत्तर एकता र भावी पुस्तालाई सुरक्षित गर्नलाई हो हामीले यो गरेको ।

हाम्रो देश चीन र भारतको बीचमा रहेर अत्यन्त संवेदनशील भूराजनीतिक अवस्थामा छ । देश भित्र र बाहिरका शक्तिले जसरी हाम्रो देशमा विभिन्न क्रियाकलाप गरिरहेका छन् । ती सम्पूर्ण कुरालाई मनन् गरेर हामी कोही दुई पाइला हट्यौं, कोही तीन पाइला अगाडि । यसरी हामी सहमतिमा पुगेका हौं ।

अघि सुवास कमरेड (सुवास नेम्वाङ) ले भनेजस्तै हामीले पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैजनालाई यो सहमति गर्ने आरम्भ चरणदेखि अन्तिम बिन्दुसम्म सम्पूर्ण कुराको जानकारी गराएका छौँ । उहाँहरूलाई सो कुराको जानकारी गराउनुको साथ साथै सहमति गर्नु पूर्व अन्तिम बिन्दुमा जानकारी गराएका छौँ ।

केही बुँदाहरूमा यहाँ यस्तो भए हुन्थ्यो भन्ने भनाई अवश्य रहेका हुन् । मेरा पनि केही अडान छन्, सुवास कमरेडका पनि छन्, अरू कमरेडका पनि छन् । सबैको आ-आफ्ना अडानमा कायम रहेर यो सहमति गर्न सक्दैनथ्यौं ।

हामीले राष्ट्रको साझा उदेश्य, पार्टीको साझा उदेश्य, आज हामीले झेल्नु परेको समस्या र सम्भावित पार्टी विभाजनको खतरा टाल्नका लागि हामीले कतिपय कुरा चित्त बुझ्दा, नबुझ्दै पनि ती सहमति गरेका हौं । भोलि हाम्रा संगठनात्मक प्रणाली क्रियाशील भएपछि कतिपय कमिकमजोरीलाई हटाएर अगाडि बढ्ने छौं भन्ने विश्वासका साथ सहमति गरेका हौं।

हामी सबैलाई थाहा छ २०७५ जेठ २ गते पूर्वको अवस्थामा जाने यो सम्झौतामा स्पष्ट रूपमा लेखिएको छ । साथसाथै फागुन २३ पछि कुनै पनि तर्फ भन्ने शब्द प्रयोग गरिएको छ । हामी सबैजना कानुनका ज्ञाता नै छौँ, कुनै पनि तर्फ भन्दा के अर्थ लाग्छ ? त्यहाँ हामीले बहस पनि गरेका थियौँ, दुई पार्टीबीच एकता हुन लागेको अर्थ पनि आउने भयो नि कमरेड ! भन्ने कुरा पनि आयो । किन त्यस्तो शब्द प्रयोग गर्ने ? त्यसकारण हामीले धेरै बिचार गरेर दुईतर्फ भन्ने शब्द त्यहाँ प्रयोग गरेका छौँ ।

अलिकति तितो नलागोस्, पार्टी अध्यक्षले नेतृत्व गरेको ठाउँबाट होस वा हाम्रा वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको ठाउँबाट होस्, हाम्रो विधानसँग नमिल्ने, हाम्रो पार्टीको एकतासँग नमिल्ने ती सबै कुराहरू बदर हुनेछन् भनेर त हामीले घोषणा गरिसकेका छौँ । यो भन्दा ठूलो एकताका लागि घोषणा अरू के हुन सक्दछ ? यो भन्दा फराकिलो कुरा अरू के हुन सक्दछ ?

यसलाई कमरेडहरुले अवश्य पनि निकै महत्वकासाथ आत्मसाथ गरेको हुनुपर्छ भन्ने मेरो विश्वास छ । यसका साथसाथै अदालत या विश्वासको मतका सन्दर्भमा म प्रवेश नै गर्न चहान्न् ।

अघि सुवास नेम्वाङले भने जस्तै त्यो त चरण नै सकिसक्यो । तर, यसभन्दा पछि हाम्रो राष्ट्रिय महधिवेशनको प्रसंग छ । कमरेडहरुको मनमा पनि त्यो हुनसक्छ-कसरी हुन्छ ? विभिन्न तहका अधिवशेनका कुरा छन् । सदस्यता नवीकरणको कुरा छ । कतिपय कमरेडहरुलाई केन्द्रीय कमिटीमा थप्नुपर्ने कुरा छ । ती कुराहरुका बारेमा हामीले यो सहमतिमा स्पष्ट रुपमा उल्लेख गरेका छौं ।

जब हामी एउटै गन्तव्यतर्फ पाइला चाल्छौं, एउटै उद्देश्यका साथ अगाडि बढ्छौं, त्यतिबेला यी महाधिवेशन, अधिवेशन, सदस्यताको वितरण स्वभाविक रुपमा हाम्रो सल्लाहबाट हुन्छ । त्यसका लागि हामीले कार्यदलको प्रस्ताव पनि गरिसकेका छौं ।

यसरी यति सहमति हामीले गरिसकेपछि अब हामीले के का लागि विवाद गर्ने ? सिद्धान्तका लागि मतभेद छ भनौं भने जनताको बहुदलीय जनवादका बारेमा कसैले प्रश्न उठाएको देखिँदैन । कार्यक्रममा विवाद छ भने समाजवाद प्राप्तिका लागि दलाल पुँजीपति वर्गविरुद्ध संघर्ष गर्दै जाने भन्ने अठोटमा कसैले सैद्धान्तिक बहस गरेको देखिँदैन ।

नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, हामी नेपालीको स्वाभिमान, श्रमजिवीको हक अधिकारलाई बलियो बनाउँदै, हाम्रा साधन, स्रोतलाई पूर्ण रुपमा सामाजिक रुपान्तरणको बाटोमा जाने कुरामा कसैको विवाद देखिदैन । समावेशी लोकतन्त्र, न्यायिक समानताका लागि लड्ने हाम्रो जुन अठोट हो त्यसमा पनि प्रश्न छैन् । अब त्यसमा प्रश्न छैन भने के भनेर लड्ने ? अब लड्न मन लाग्नेलाई पनि गाह्रो पर्छ जस्तो लाग्छ मलाई ।

अब संगठनात्मक कुराका लागि लडौं भन्ने हो भने हामी २०७५ जेठ २ मा जान्ने भन्ने भइसकेपछि म त त्यहाँ पनि ठाउँ देख्दिनँ ।

मनहरु अलिकति यो बीचमा परेको खाल्डो भन्दा नजिक आउने अवस्था बनिसक्यो । कहिलेकाँही समय आफैं धेरै ठूलो शक्तिशाली हुन्छ भन्छन् । त्यो पनि रैछ कि क्या हो । त्यसकारण अब यो सहमतिमा अझैं केही गर्नुछ भने हामी स्थायी कमिटीबाट गर्न सक्छौं ।

(एमालेको विवाद मिलाउन गठित कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष रावलले आइतबार सिंहदरबारस्थित एकतापक्षधर सांसदहरुसँग अन्तरक्रिया गर्ने क्रममा राखेको धारणाको संपादित अंश ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर