संसदीय समितिमा माधव नेपालको उत्तेजना : प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् ! (भिडियो) – Nepal Press

संसदीय समितिमा माधव नेपालको उत्तेजना : प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् ! (भिडियो)

काठमाडौं । प्रतिनिधिसभा दोस्रो पल्ट पुन:स्थापना भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकको कार्यसूची विगतका निर्णयको समीक्षा गर्ने थियो ।

संसदीय समितिहरू विषयगत हुने भएकाले मुलतः यस्ता समितिमा विषयवस्तु केन्द्रित धारणा राखिन्छ ।

समितिका सदस्यहरू राजनीतिक पार्टीमार्फत जनप्रतिधि बनेर आएकाले राजनीतिबाट टाढा नहुने भए पनि उनीहरूले पनि आफूलाई विषय केन्द्रित गर्छन् ।

आजको बैठक पनि कार्यसूचीअनुसारकै विषय वस्तुमा छलफल भएर अघि बढ्दै थियो । यहीक्रममा बोल्ने समय पाए समिति सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ।

उनले आफ्नो भनाइ राख्नेक्रममा शुरूमै संसद पुन:स्थापित भएकोमा आफूहरूको हृदय गदगद भएको भन्दै त्यसमा भूमिका खेल्ने सबैलाई धन्यावाद थिए । यसबाट संसद संविधान, लोकतन्त्रको रक्षा भएको र मुलुकको राजनीतिक स्थात्विको निम्तिमा एक पाइल अघि बढिएको टिप्पणी उनले गरे । नेता नेपालको यही भनाइबाटै विषयगत समितिमा राजनीतिक विषयको प्रवेश भयो ।

एमालेको संस्थापन पक्षका सांसद नारदमुनी रानाले नेपाल लक्षित गर्दै राजनीतिक टिप्पणी नै गरे । अहिलेको सरकार र संसद जनताले नभइ सर्वोच्चले बनाइदिएको भन्दै नेता नेपालप्रति खिसिट्युरी गर्ने भावमा उनी प्रस्तुत भए ।

त्यसपछि नेपाल पक्षकै सांसद दीपकप्रकाश भट्टले उनलाई ‘प्रतिगमनको मतियार’ भन्दै समितिमा बस्ने अधिकार नभएको बताए।

त्यसपछि माधव नेपाल आक्रोशित हुँदै रानाप्रति कड्किए- प्रतिगमनको मतियार बन्ने, राजीनामा दिनुस्, निस्किनुस् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी पनि विवादमा मिसिए । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने भन्दै उनले पनि रानाविरुद्ध आक्रोश ओकले ।

सभापति पवित्रा निरौला खरेलले भने समिति राजनीतिक विवाद गर्ने थलो नभएको भन्दै विषयबस्तुमा केन्द्रित हुन भन्दै विवाद मत्थर पार्ने कोसिस गरिन् ।

यस्तो थियो विवादको सप्रसंगः

माधव नेपाल : संसद पुन:स्थापित भएकोमा हाम्रो हृदय गदगद भएको छ । त्यसमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएकोमा, साहसपूर्ण भूमिका खेल्नु भएकोमा म मान्य सदस्यहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु । यो कदमले प्रतिनिधिसभालाई जोगाएको छ, व्यवस्थापिकाको रक्षा गरेको छ । न्यायपालिका जोगाएको छ । कार्यपालिका जोगाएको छ । न्यायपालिकाको मर्यादा र सम्मानमा अभिवृद्धि गरेको छ ।

संविधानको रक्षा गरेको छ, लोकतन्त्रको रक्षा गरेको छ । र, मुलुकको राजनीतिक स्थायत्व निम्ति यसले एउटा राम्रो पाइला चालेको छ ।

नादरमुनि राना : (माधव नेपालतिर संकेत गर्दै) केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापना भएको छ । यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो । अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो । सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन । दुवैलाई जनताले ल्याएका होइनन् ।

दीपकप्रकाश भट्ट : ‘प्रतिगमनका मतियार’ तपाईंलाई यो समितिमा बस्ने अधिकार छैन्, बाहिर जानुहोस् । प्रतिगमनका मतियारहरुले, संविधानकाविरुद्ध जानेहरुले यहाँ बोल्ने अधिकार छैन ।

राना : मलाई किन खबर गरेको ? मलाई खबर किन गरेको बैठकमा आउनुस् भनेर ?

नेपाल : प्रतिगमनको मतियार बन्ने, राजीनमा दिनुस्, निस्किनुस् ।

पवित्रा निरौला खरेल : (सबैलाई रोक्ने प्रयास गर्दै) मान्यज्यूहरूलाई मैले अनुरोध गरेँ, तपाईं विषयवस्तुमा बोल्नुहोस् ।

दिव्यमणि राजभण्डारी : संविधानविरुद्ध बोल्ने ? (टेबुल ठटाउँदै ) यो सरकार अदालतले बनाएको होइन । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने ?

खरेलः मान्यज्यु शान्त हुनुहोस् ।

भट्ट : पार्टीभित्रको अन्तरविरोध संसदीय समितिमा किन ल्याउँदै हुनुहुन्छ ?

खरेल : मान्यज्यूहरू राजनीति आफ्नो पार्टीमा गर्नुहोस् । यो समितिको बैठक हो । समितिको बैठकले निर्णय गरेका विषयको समीक्षाको बैठक हो । यहाँ पार्टीको छलफल होइन । पार्टीको छलफल अन्तै गर्नुहोस् ।

समितिमा राजनीतिक विषय माधव नेपालले नै प्रवेश गराएका थिए । नारदमुनिले सायद पार्टीको हिसाबले प्रतिवाद गर्नुपर्छ भनेर जवाफ दिन खोज्दा उनीविरुद्ध कांग्रेस र माओवादीका सांसद पनि खनिए ।

संयोग नै मान्नुपर्छ, समिति सभापति पवित्रा निरौला पनि एमालेमा माधव नेपाल पक्षधर भएकाले उनीमाथि निष्पक्ष व्यवहार नभएको महशुस गरे र आफूलाई किन बोलाइयो बैठकमा भनेर प्रश्न गरे ।

समितिमा ओली पक्षका अर्का सांसद मोहन वानियामात्र थिए ।उनी केही नबोली बसे । माधव नेपालको व्यवहार भने आफ्नै कार्यकर्ता रानाप्रति स्वभाविक देखिएन । मानौं, केपी ओलीसँगै आमुन्ने सामुन्ने भएको शैलीमा नेपाल प्रस्तुत भएको टिप्पणी सांसदहरुले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर