एउटा विमान, जसले परदेशबाट नेपाली युवाको शव ओसार्छ – Nepal Press

एउटा विमान, जसले परदेशबाट नेपाली युवाको शव ओसार्छ

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित राजदूतावासको आग्रहमा महिनामा निगमको एक उडान प्रयोग हुँदै आएको हो । त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरर्राष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले सबैभन्दा बढी मलेसियाबाट र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।

निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो ।

निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर