रक्सी पार्न छाडेर तरकारी खेतीमा रमाउँदै गुम्बाका महिला: आम्दानी दोब्बर, सम्मान उत्तिकै – Nepal Press

रक्सी पार्न छाडेर तरकारी खेतीमा रमाउँदै गुम्बाका महिला: आम्दानी दोब्बर, सम्मान उत्तिकै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका– १५ ठूलो सुकौलीस्थित गुम्बा टोल ‘लोकल रक्सी’का लागि चर्चित थियो । यहाँका अधिकांश महिला रक्सी पार्नमै व्यस्त हुन्थे । तर, अहिले यो गाउँका महिला रक्सी पार्न छाडेर तरकारी खेतीमा जुटेका छन् ।

तरकारी खेती गर्न थालेपछि आम्दानी पनि बढेको र आत्मसम्मानको अनुभूति भएको उनीहरुले बताएका छन् । राजमार्गदेखि नजिकैको यो टोलका महिलालाई उद्यमशील बनाउन प्रदेश सरकार र सामूहिकताले सहयोग गर्यो ।

गुम्बा टोलको सक्रिय कृषक समूहमा १८ महिला छन् । एक गैरसरकारी संस्थाले समूह गठन गर्दा बचत नगर्ने शर्तमा सहकार्य थालेका दिदिबहिनीले व्यक्तिगत र समूहिकरुपमा तरकारी खेती गरिरहेका छन् ।

गुम्बाका महिलाहरुले १४ वटा टनेल बनाएर तरकारी खेती सुरु गरेका थिए । उनीहरुले गतवर्ष १३ वटा टनेल थपे । अहिले करिब एक विगाहा क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

साहस नामक एक गैरसरकारी संस्थाको हौसलाले यहाँका महिला उद्यमशीलतातर्फ आकर्षित भएका हुन् । सुरुमा वडा कार्यालयको ३० हजार रुपैयाँ बजेटमार्फत अदुवा खेतीबाट २ लाख आम्दानी भएपछि यहाँका महिला तरकारी खेतीमा थप उत्साहित भएका हुन् ।

सिजनमा एउटै टनेलबाट डेढ लाखसम्म कमाइ भएको उनीहरु बताउँछन् ।

‘रक्सी बनाउने पेसा छाडेर टोलनै तरकारी खेतीमा लाग्यो’, सक्रिय कृषक महिला समूहकी कोषाध्यक्ष अजिता मोक्तानले भनिन्, ‘अहिले जता हेर्यो, त्यतै तरकारी छ, दिनहुँ आम्दानी छ ।’

उनको घरमा २ टनेल छन् । गत वर्ष करिब २ लाख बराबरको तरकारी बेचेकी अजिता यो वर्ष दोब्बर बढी आम्दानी गर्ने सोचमा छिन् । बारीमा टमाटर, काँक्रो, बोडी छ ।

‘एक प्रदेश निर्वाचन क्षेत्र, एक नमूना फार्म’ कार्यक्रम अन्र्तगत थोपा सिँचाई तथा इन्सेक्ट नेटसहितको प्लाष्टिक घर (टनेल) निर्माणका लागि पहिलो वर्ष १७ लाख ७० हजार, दोस्रो वर्ष ९ लाख २२ हजार बराबरको अनुदान पाएपछि उनीहरुका लागि कृषिकर्म सहज बनेको छ ।

तरकारी खेतीबाटै उनीहरु ५ लाख बराबरको कोष बनाउनसमेत सफल छन् । सुरुमा २ सय रुपैयाँ बचत थालेका उनीहरुले अहिले मासिक एक हजार रुपैयाँ बचत गरिररहेका छन् ।’

‘सबै परिवार आयआर्जनमा व्यस्त छन्’, अजिताले भनिन्, ‘अझ धेरै जग्गामा तरकारी लगाउने सोच सबैमा छ ।’ समूहकी सचिव वविता मोक्तान रक्सी बनाउने काम छाडेर महिलाहरु तरकारी खेतीमा लागेको बताउँछिन् ।

‘तरकारी खरिद गर्नुपर्ने टोल आजकाल तरकारी बजार जस्तो छ’, उनी भन्छिन्, ‘हरेक दिन कारोबारीमा व्यस्त छौँ, मकै–कोदो फल्ने बारी तरकारीले भरिएको छ ।’ यो टोलबाट दैनिक ४० क्रेट बराबरको तरकारी बिक्री भइरहेको छ ।

तरकारी स्थानीयस्तरमै खपत हुन्छ । वडामै करिब ८ सय घरधुरी भएकाले बजार धाउनुपर्ने बाध्यता छैन । ‘सामूहिक खेतीबाट पोहर घरखर्च भनेर १३ हजार पाएका थियौँ’, उनले भनिन्, ‘योपाली केही बढ्छ, कसैलाई ऋण चाहिए समूहबाटै दिँदै आएका छौँ ।’

उनका अनुसार गत वर्ष करिब ५ लाख बराबरको आम्दानी थियो । तरकारीकै बचतबाट बाख्रापालन, तरकारी खेती विस्तारमा स्थानीय अग्रसर छन् ।

समूहकी अध्यक्ष सम्झना पाख्रिनले तरकारीकै आम्दानीले छोरालाई इञ्जिनियर पढाइरहेको बताइन् । ‘हरेक खर्चका लागि श्रीमानसँग माग्नुपर्ने बाध्यता पनि टरेको छ । पहिला घरमा रक्सी बनाएर पसल–पसल डुलाउने टोल भनेर चिनिन्थ्यो’, उनी भन्छिन्, ‘आजकल तरकारीको बजार भनेर चिनिएको छ ।’

उनले खेतीमा केही प्राविधिक ज्ञान नहुँदा समस्या भएको दुखेसो पोखिन् ।

फेरिँदै कमानेको परिचय

कमानेस्थित किरणचोक टोलका किसान पनि व्यवसायीकरणमा लागेका छन् ।

प्रहरी सेवाबाट अवकास पाएका आचार्य तीन दाजुभाइले टोललाई नै कृषिकर्ममा रुपान्तरण गर्दैछन् । मन्त्री निवास, राजदूतको सुरक्षामा खटिँदै आएका डण्डीराज १० वर्ष पहिले अवकास पाए । अपराध, अनुसनधानमा सक्रिय उमानाथले ७ वर्ष पहिले प्रसनिबाट स्वेच्छिक अवकास पाए ।

७ वर्ष सशस्त्र प्रहरीमा कार्यरत टेकनाथले उपदानमा जागिर छाडे । ३ दाजुभाइ मिलेर ७ कट्टठामा टनेल बनाएर टमाटर लगाए । चैतमा टमाटर लगाएका उनीहरुले असारदेखि बेच्न सुरु गरेका छन् । हालसम्म ५ क्विन्टल बेचिसके । प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म बेचेका छन् ।

यी दाजुभाइले टोलबाटै मदिरा उत्पादन गर्ने कार्यलाई रोकेका छन् । हरेकका घरमा गाई पाल्ने, तरकारी खेती गर्ने अभियान चलाइरहेका छन् ।

टोलमा दैनिक करिब ४ सय लिटर दुध संकलन गरेर डेरीमा बेच्छन् । ससाना घडेरी जग्गामा धेरैले तरकारी खेती थालेका छन् ।

‘बाँझो र गेग्रान जमिनमा पनि तरकारी फल्दो रहेछ’, उमानाथ आचार्यले भने, ‘केही वर्षमै यो टोल सबै तरकारी पाइने ठाउँमा गनिनेछ ।’ डण्डीराजले टोल स्वरोजगारतर्फ उन्मुख भएको बताए ।

कृषि ज्ञान केन्द्र चितवनका कृषि प्रसार अधिकृत मिनबहादुर पुनले अफसिजनमा दोब्बर बढी उत्पादन लिन टनेलमा खेती गर्ने बढेको बताए ।

‘वातावरणीय प्रभावलाई अनुकुल पार्ने, अफसिजनमा निरन्तर उत्पादन लिन टनेल उपयोगी हुन्छ’ उनले भने, ‘पछिल्लो वर्ष करिब ७० रोपनीमा टनेल थपिएको छ ।’

उच्च प्राविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रमका रुपमा गत वर्षदेखि बजेट विनियोजन हुन थालेको हो । त्यस पहिले ब्लक, पकेटजोनलगायतका कार्यक्रममा टनेल निर्माणमा अनुदान दिँइदै आएको थियो ।

प्रदेश सरकारको एक रोपनीमा टनेला खेतीका लागि २ लाख ६८ हजार रुपैयाँ अनुदान दिने कार्यविधि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर