सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता – Nepal Press

सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता

काठमाडौं । ईंग्ल्यान्डमा टी-२० लिग खेल्न गएका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्यहाँको क्रिकेट बोर्डबाट अपमानित हुँदै स्वदेश फर्किएका छन् । सन्दीपका अनुसार ईंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले उनको भिसालाई ‘अवैध’ मान्दै स्वदेश फर्किहाल्न भनेको थियो ।

उनको भिसा के कारणले अवैध भयो भन्ने प्रष्ट जवाफ ईसीबीले दिएको छैन । दर्जनौं देशहरूमा गएर टी-२० लिग खेलिसकेका नेपाली स्टार ईसीबीको यो व्यवहारले दु:खी भएका छन् । उनले ईसीबीसँग जवाफ मागिरहेका छन्, तर पाएका छैनन् । यता, नेपालको क्रिकेट संघ भने स्वदेशी खेलाडीमाथि हेपाहा व्यवहार हुँदा मौनता साँधेर बसिरहेको छ ।

सन्दीपले फेसबुकमा यस्तो लेखेका थिए, ‘म जुलाइ ९ मा युके आउँदा अध्यागमनमा केही पनि समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । मेरो १० दिनको क्वारेन्टाइन सकिनुभन्दा दुई दिनअघि जुलाइ १९ मा मलाई ईसीबीले भन्यो कि मेरो भिसा वैध छैन र मैले चाँडोभन्दा चाँडो देश छोड्नुपर्ने छ । म के गलत भयो भनेर सोधिरहेको छु, तर ईसीबीका कसैसँग पनि सही जवाफ छैन । कम्तीमा मेरो भिसा के कारणले वैध भएन भन्ने स्पष्ट जवाफ पाउने हक म राख्छु ।’

सन्दीपले यस्तो लेखेपछि पनि ईसीबीले आधिकारिकरूपमा उनलाई कुनै जवाफ दिएन । त्यसपछि सन्दीप चुपचाप स्वदेश फर्किन वाध्य भए ।

क्रिकेटसम्वन्धी चर्चित वेबसाइट क्रिकइन्फो डटकमले सन्दीपसँग भिसा भए पनि त्यसले हन्ड्रेडमा खेल्न अनुमति नदिने बुझिएको जनाएको छ ।

समाचारमा भनिएको छ, ‘यो बुझिएको छ कि लामिछाने वैध भिसामार्फत बेलायत प्रवेश गर्न सफल भएका थिए, तर त्यसले उनलाई द हन्ड्रेडमा खेल्न अनुमति दिन्थेन ।’

अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

समाचारमा जनाइएअनुसार सन्दीपले समस्या समाधानका लागि ईसीबीसँग पहल गरेका थिए, तर उनलाई भनियो कि यस प्रतियोगितामा खेल्नका लागि फेरि आवेदन गर्न उनीसँग पर्याप्त समय छैन ।

ईसीबीका एक बेनामी प्रवक्तालाई उद्धृत गर्दै क्रिकइन्फोनले लेखेको छ, ‘भिसा समस्याका कारण सन्दीपले ‘हन्ड्रेड’ को पहिलो संस्करण खेल्न नसकेकोमा हामी वास्तवमै दु:खी छौं । हामीलाई आशा छ क्रिकेट फ्यानहरूले भविष्यमा यस प्रतियोगितामा उनलाई देख्न सक्नेछन् ।’

तर, सन्दीपले यसअघि पनि ईंग्ल्यान्डमा टायर फाइभ भिसा लिएर नै क्रिकेट खेल्ने गरेको उनका म्यानेजर रमण सिवकोटी बताउँछन् । यसपाली के कारणले समस्या देखाइएको हो भन्ने प्रष्ट नभएको उनको भनाइ छ ।

‘त्यहाँ खेल्ने त टायर फाइभ भिसाले नै हो । तर, उहाँले दुईवटा प्रतियोगिता (भाइटालिटी ब्लास्ट र द हन्ड्रेड) खेल्नुपर्ने थियो । पहिलो प्रतियोगिताका लागि पाएको स्पोन्सरसीप दोस्रो प्रतियोगितामा स्वीकार नगरिएको हो कि भन्ने अनुमान छ । तर, स्पष्ट कारण भनिएको छैन,’ उनले भने ।

यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

सन्दीपले ईंग्ल्यान्डमा अघिपछि आयोजना हुने दुई टी-२० लिग ‘भाइटालिटी ब्लास्ट’ र ‘द हन्ड्रेड’ का लागि टायर फाइभ भिसा एप्लाइ गरेका थिए । दुवै प्रतियोगिताका लागि एउटै सर्टिफिकेट अफ स्पोन्सरसीप काफी हुने उनलाई बताइएको थियो । तर, कोभिड १९ का कारण भिसा आउन ढिलाइ भयो र उनले भाइटालिटी ब्लास्टमा भाग लिन सकेनन् । त्यसपछि आफूलाई अफिसियलहरूले स्पोन्सरसीपको म्याद जुलाइ १० सम्म बाँकी रहेकाले त्योभन्दा अगाडि युके आइपुगेमा समस्या नहुने आश्वासन दिएको उनले बताएका छन् । त्यस बमोजिम सन्दीप जुलाइ ९ मा नै युके पुगेका हुन् ।

सबै सर्त र प्रक्रियाहरू पूरा गर्दा पनि सन्दीपले प्रतियोगिता खेल्न नपाउनु र तत्काल स्वदेश फर्किन वाध्य पार्नुले ईसीबीको हेपाहा व्यवहार झल्किएको छ । यस सम्वन्धमा नेपालको क्रिकेट बोर्डले भने अहिलेसम्म मौनता साँधिरहेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस विषयमा आफूले मिडियाबाट मात्र थाहा पाएको बताए । सन्दीपको तर्फबाट क्रिकेट संघमा अहिलेसम्म कुनै जानकारी नगराइएकाले कुनै पहलकदमी नलिएको उनको भनाइ छ ।

चन्दले नेपाल प्रेससँग भने, ‘उनको भिसा नै मिलेन भन्ने कुरा मैले मिडियाबाट थाहा पाएको हो । त्योभन्दा बढी जानकारी छैन । सन्दीपको तर्फबाट हामीलाई कुनै लिखित वा मौखिक गुनासो आएको खण्डमा हामीले पहल गर्ने कुरा हुन्छ ।’

सन्दीपलाई ईंग्ल्यान्डमा खेल्न ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउनेबाहेक संघको अरु भूमिका नरहेको उनी बताउँछन् ।

‘यदि अन्याय नै भएको रहेछ भने हामी ईंग्ल्यान्डको बोर्डदेखि आइसीसीमा पनि पत्राचार गर्न सक्नेछौं । तर, सन्दीपलाई के कारण देखाएर खेल्न नदिइएको हो भन्ने मुख्य कुरा हो । लिखितरूपमै केही भनिएको हुनुपर्छ । यस विषयमा हामीलाई सन्दीपबाट औपचारिक जानकारी आउनुपर्‍यो,’ उनले भने ।

यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

सन्दीपका म्यानेजर सिवाकोटीले यो विषयलाई सम्बन्धित निकायहरूमा पुर्‍याउने सम्बन्धमा छलफल भइरहेको बताए । यद्यपि, सन्दीप अहिले यसलाई थाती राखेर चितवन जाँदैछन् ।

सन्दीपलाई एकपछि अर्को धक्का

अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

यसै वर्ष उनी पाकिस्तान सुपर लिगको ड्राफ्टमा समावेश भए पनि ‘अनसोल्ड’ रहे । यद्यपि, अफगानिस्ताका रसिद खानले प्रतियोगिताबाट हात झिकेपछि उनले मौका पाएका थिए । तर, कोभिडका कारण यो लिग पनि स्थगित भएपछि सन्दीपले खेल्न पाएनन् ।

बेलायतमा हुने भाइटालिटी ब्लास्ट र द हन्ड्रेडका लागि छानिँदा सन्दीप निकै उत्साहित थिए । यी दुवै प्रतियोगिताका लागि उनी पहिलोपटक छानिएका हुन् । तर, कोभिडका कारण भिसा आउन ढिलाइ भएकाले भाइटालिटी ब्लास्ट उनले गुमाए । यो प्रतियोगिता जून ९ देखि शुरू भएर सेप्टेम्बर १८ मा सकिएको छ ।

भाइटालिटी ब्लास्ट गुमाए पनि द हन्ड्रेडको पहिलो संस्करणमा भाग लिन सन्दीप समयमै बेलायत पुगेका थिए । तर, फेरि पनि अभागी सावित भएर घर फर्केका छन् । ईंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नै आयोजना गरेको द हन्ड्रेडमा सन्दीपले ओभल इन्भिन्सिवल्सबाट खेल्न लागेका थिए । सो क्लवले उनलाई ६० हजार पाउण्डमा खरिद गरेको थियो । सन्दीपले खेल्न नपाउने भएपछि ओभल्सले उनको स्थानमा हाल विश्व वरियताको एक नम्बरमा रहेका टी-२० बलर ताब्राइज साम्सीलाई आवद्ध गरेको छ ।

विश्वकै व्यस्तमध्येका टी-२० क्रिकेटर सन्दीपले गत माघमा अष्ट्रेलियामा आयोजना भएको बिग ब्यासयता कुनै पनि अन्तर्राष्ट्रिय टी-२० लिगमा खेल्न पाएका छैनन् । यसबाट उनलाई आर्थिक रूपमै पनि ठूलो नोक्सानी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर