हरिबोल गजुरेलको आरोप : ओलीले २०४७ सालको संविधान बोकेर दुई-दुई पटक संसद विघटन गर्नुभयो – Nepal Press

हरिबोल गजुरेलको आरोप : ओलीले २०४७ सालको संविधान बोकेर दुई-दुई पटक संसद विघटन गर्नुभयो

देउवाले गिरिजाले जस्तै पहिचान बदल्नुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै संविधान बोकेर दुई-दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन्।

‘पुरानै २०४७ सालको संविधान लिएर उहाँ हिँड्नु भयो र दुई-दुई पटक संसद विघटन गर्नुभयो,’ प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने प्रतिनिधिसभाको कार्यक्रममा गजुरेलले भने, ‘पार्टी-पार्टी मिलेर बनाउँदा पनि सरकार नबन्दा संसद बचाउन पनि धारा ७६(५) को प्रावधान राखिएको छ ।’

संविधान बनाएकाले नै संविधानको रक्षा नगरेको उनको भनाइ थियो । एमाले नेता एमव् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति लक्षित गर्दै उनले भने, ‘ यहाँ बोल्नुभयो पूर्व सभामुख , उहाँको संविधान बनाउन पनि महत्वूपर्ण भूमिका थियो । जसले बनाएको हो उसको रक्षा गर्ने दायित्व हुन्छ ।’

दलीय अनुशासन तोडेकाले नै अहिले दलीय प्रणालीको कुरा गरेको उनको भनाइ छ । ‘पहिलो पटक विघटन हुँदा नेकपामा छलफल भयो ?,’ गजुरेलले भने, ‘के दलीय प्रणाली, अनुशासन त्यही हो ? हामीले परिकल्पना गरेको अनुशासन त्यही हो ? आफू अनुशासन पालना नगर्ने, दललाई व्यवास्ता गर्ने अनि ठूला कुरा गरेर हुन्छ ? नेपाली जनता बेकुफ छन् ?’

देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाएको भन्ने भनाइप्रति आक्रोस पोख्दै गजुरेलले त्यो अवस्थाको सिर्जना कसले गरेको हो भनेर प्रतिप्रश्न गरे।

‘शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘निर्वाचित सांसदले प्रस्ताव गरेपपछि उहाँ प्रधानमन्त्री बन्नु भएको हो । अदालतले त व्याख्या गरेको मात्रै हो । के अदालतले संविधानको व्याख्या गर्न नपाउने ? किन राखेको संवैधानिक अदालत ? किन राखेको ?’

उनले थपे, ‘ अदालतमा जानुपर्ने अवस्था कसले सिर्जना गरेको हो ? आफैले बनाएको संविधान आफैले व्याख्या गर्नुपर्ने हो नि ? किन अदालतमा जानुपर्ने अवस्था सिर्जना गरेको ?’

देउवामाथि केही आशंका भएको भन्दै उनले अब त्यसलाई सुधार गर्ने मौका भएको बताए। ‘शेरबहादुर जी प्रधानमन्त्री हुनुहुन्छ, उहाँमाथि केही आशंका पनि छन्,’ गजुरेलले भने, ‘उहाँलाई यो अवसर पनि हो । अब उहाँले गिरिजाप्रसादले जस्तो अन्तिम क्षणमा जस्तो पहिचान बनाएर जानु भयो त्यस्तै गर्नुपर्छ । पहिचान सुधार गनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर