देउवाप्रति सुवास नेम्वाङको कटाक्ष – गोलीको त आँखा हुँदैन, यो कसले भनेको बिर्सिएँ – Nepal Press

देउवाप्रति सुवास नेम्वाङको कटाक्ष – गोलीको त आँखा हुँदैन, यो कसले भनेको बिर्सिएँ

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै उनको कार्यकालमा भएका घटनाको स्मरण गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले ३० वर्षअघिको एउटा घटना सम्झिए । ‘उहाँलाई बधाई दिन म उभिएको छु, बधाई दिँदा केही जिज्ञासा छन्,’ उनले भने, ‘थुप्रै घटनाक्रम सम्झिन्छु । कसको पालामा हो त्यो चाहिँ बिर्सेँ । रोचक, घोचक घटना मैले सम्झिन्छु । सार्है रोचक चाहिँ संसदमा सवाल-जवाफ थियो । एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनु भयो-गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

२०४८ सालमा देउवा गृहमन्त्री हुँदा तत्कालीन विपक्षी एमालेको आन्दोलनमा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीकी सम्झना दाहालको गोली लागि मृत्यु भएको थियो । त्यसबारे देउवाले संसदमा जवाफ दिँदा ‘गोलीको आँखा नहुने’ बताएका थिए ।

नेम्वाङले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए । उनले जनादेशबाट नभइ अदालतको आदेशबाट सरकार प्राप्त भएको जिकिर गरे ।

‘सम्माननीय प्रधानमन्त्रीले भनेको सुनेको थिए- सरकारमा जानलाई हामीलाई जनादेश छैन,’ नेम्वाङले भने, ‘अहिले त उहाँलाई बधाई दिनुपर्ने अवस्था आयो । उहाँले कहिले जनादेश पाउनु भएछ ? अदालतको आदेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं । यो मैले अन्यथा कुरा भनेको होइन ।’


प्रतिक्रिया

One thought on “देउवाप्रति सुवास नेम्वाङको कटाक्ष – गोलीको त आँखा हुँदैन, यो कसले भनेको बिर्सिएँ

  1. hahahhahahahhahahhahahahahahahahhahah nembang bro 163 janadesh hoin ki 93 ho hahhahahah kathai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर