नर्भिकले ६ अर्ब लगानी थप्ने, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने – Nepal Press

नर्भिकले ६ अर्ब लगानी थप्ने, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

काठमाडौं । नर्भिक अस्पतालले सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि परिचयात्मक कार्यक्रम आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् ।

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिने भएको छ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुने जनाइएको छ। थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ ।

यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैय्या तथा सुनसरीको दुहबीमा पनि १०० शैय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर