अदालतबाट सजायपछि फरार ५ जना पक्राउ – Nepal Press

अदालतबाट सजायपछि फरार ५ जना पक्राउ

रूपन्देही । रुपन्देही प्रहरीले पाँचजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलाबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार, बुधबार र बिहीबार उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबर रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थायी घर भइ हाल नवलपुर मध्यविन्दु नगरपालिका–१४ बस्ने ५८ वर्षिय पुर्ण बहादुर पाण्डे, बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरिवाना भएका पर्वतको कार्कीनेटा–६ स्थायी घर भइ हाल बुटवल–८ बस्ने अशोक कुमार शर्मा, सोही मुद्दामा १५ दिन कैद र १४ लाख जरिवाना सजाय भएका तिलोत्तमा–५ का ४२ वर्षिय एक नारायण अर्याल रहेका छन् ।

कसुर मुद्दामा १० दिन कैद र ३६ लाख जरिवाना भएका बुटवल–१३ का ४६ वर्षिय शिव कुमार रण र लागूऔधष मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना भएका बुटवल– १३ का विशन राना रहेका छन् । फरार प्रतिवादीहरुलाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले रुपन्देही प्रहरीले २०७८ वैशाख १ देखि ‘फरार प्रतिवादीविरुद्धको अपरेशन कार्यक्रम’ सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका हालसम्म २२ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर