आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ – Nepal Press

आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ

काठमाडौं । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सम्झिन आयोजित कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करिब ७० मिनेट सम्बोधन गरे ।

अदालतको २८ असारको आदेशले प्रधानमन्त्रीबाट एमाले अध्यक्षमा मात्रै खुम्चिएपछि सार्वजनिक कार्यक्रममा ओलीको यति लामो सम्बोधन पहिलो पटक हो ।

तीन दिनदेखि केन्द्रीय कमिटी पनि जारी रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलीरहँदा ओली यसअघि भन्दा फरक सुनिए । सम्बोधनमा ओलीले प्रायः आफ्ना विरोधीमाथि कडा प्रहार गरिहाल्थे । तर, बिहीबार त्यस्तो देखिएन ।

ओलीले न त पार्टी बाहिरका आफ्ना विरोधीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’, न त पार्टी भित्रकै विरोधी वरिष्ठ नेता माधव नेपाल लक्षित कडा टिप्पणी गरे ।

बरु उनले उल्टै विगतका गल्तीमा आम माफी दिने भन्दै नेपाल पक्षलाई पार्टी भित्र मिलेर काम गर्नका लागि आह्वान गरे । ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ विवाद छाडेर पार्टी एकता निम्ति आह्वान गर्दै ओलीले भने, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

यो उनको आम स्वभाव विपरितको प्रस्तुती हो । विगतमा ओली आफ्ना सहकर्मी माधव नेपालप्रति निकै आक्रमक टिप्पणी गर्थे । नेपालप्रति उनी कतिसम्म आक्रामक हुन्थे भन्ने ‘अडिट’ गर्न धेरै टाढा पुग्नै पर्दैन्, अघिल्लो महिनाका यी दुई टिप्पणी नै काफी छन् ।

३० असार : बालुवाटारबाट बर्हिगमण्नका लागि बाध्य पार्ने आदेश अदालतले दिएको दुई दिनपछि ओली आफ्नो निजी निवास बालकोट सरे । आफ्नै निवासको बार्दलीबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नभएको उद्घोष गरे । ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ नेता नेपाल लक्षित उनको टिप्पणी थियो, ‘पछिपछि लाग्ने उहाँहरू (माधव नेपाल बाहेकका एमाले नेताहरु)ले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’

१६ असार : मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाउन सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेता नेपाललाई ओलीले शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भने । ‘उनी (माधव नेपाल) शेरबहादुर देउवाको पार्टी नै प्रवेश गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ ओलीको भनाइ थियो, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन्। जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ। ’

लचकताको कारण

यति आक्रामक ओलीले च्यासलमै तीन दिनसम्म चलेर आज सकिएको केन्द्रीय कमिटीको बैठकबाट तीनै नेता नेपाललाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गराए ।

‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’

देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई आजको बैठकबाट ओलीले कारवाही गर्न सक्थे तर गरेनन् । केन्द्रीय कमिटीको शुरुकै दिन स्पष्टीकरण सोध्ने निर्णय गराएका ओलीले बैठक टुंगिनै लाग्दा यसको प्रसंग नै कोट्याएनन् । हिजो नै २४ घण्टे स्पष्टीकरण २२ सांसदलाई थमाइसकिएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालले आज कारवाहीबारे बैठकमा प्रसंग नै नचलेको बताए ।

यसका केही कारण छन् । ओली अब एमाले अध्यक्ष मात्रै हुन्, प्रधानमन्त्री छैनन् । पहिले गुमाउनुजति गुमाइसकिएका कारण अब माधव नेपालकै कारण उनले सत्ता गुमाउनु पर्ने छैन् । केन्द्रीय कमिटीमा अधिकांश प्रदेश कमिटीका अध्यक्षहरुले बिफिङका क्रममा नेपाल पक्ष पार्टीमा नहुँदा एमालेलाई धक्का लाग्ने आँकलन सुनाए । अर्कोतिर एमालेको दुवै पक्षको ठूलो पक्ति पार्टी विभाजनको विपक्षमा छ । यस्तोमा ओली सम्हालिन चाहे, सम्हालिए ।

अर्को कारण भनेको राष्ट्रपति विद्या भण्डारीमाथि महाअभियोगको तयारी नेता नपालकै साथ लिएर देउवा र प्रचण्डले थाल्नु हो । यस्तो सूचना पाएका ओलीले हिजोको केन्द्रीय कमिटी बैठकमा जवाफ फर्काउने क्रममा महाअभियोगको प्रसंग झिकेका थिए । देउवा र प्रचण्डलाई उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख्न चेतावनी दिएका थिए ।

‘एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु,’ उनले भनेका थिए ।

विश्वासको मत लिँदा १ सय ६५ मत पाएका देउवालाई राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउन धेरै मत चाहिँदैन । माधव नेपाल पक्षकका ‘नो भोट’का पक्षमा उभिने १० सांसद तान्दा त्यो सजिलै पुग्छ । देउवा, प्रचण्ड र नेपालको यस्तो तयारीले ओली थप लचक हुन चाहे । किनभने आफ्नै पार्टीका सांसदहरुको साथ विरोधीहरुले लिएर राष्ट्रपतिबाट भण्डारीको बर्हिगमन भएको ओली हेर्न चाहँदैनन् ।

त्यसैले ओली लचक भए र माधव नेपाललाई आफू दोस्रो अध्यक्ष समेत दिन तयार रहेको प्रसंग हिजोको बैठकमा उठाए । ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ, उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो,’ ओलीले बैठकमा भनेका थिए, ‘उहाँको त्यो मक्सद त पूरा हुँदैन। बहुमत त हामीलाई निश्कासन गरेर पार्टी कब्जा गर्न चाहिएको हो ।’

पवार सेयरिङमा कुरा मिलाएर नेपाल सहमतिमा आउँछन् भन्ने कुरा ओलीलाई राम्रोसँग थाहा छ । विवाद मिलाउन गठित एमाले कार्यदलले यो विषयलाई नटुंग्याएपछि नेता नेपाल कार्यदले तयार गरेको १० बुँदे सहमतिको अपनत्व लिन तयार भएनन् ।

उनी पक्षकै कार्यदल सदस्य घनश्याम भुसालले रोकेपछि यो विषयबाट कार्यदल पछाडि हटेको थियो । ‘पावर सेयरिङ कायर्दललमा हुँदैन,’ भुसालको मत थियो, ‘यहाँ विधि, विधानको कुरा हुन्छ । व्यक्तिगत कुराका विषयमा उहाँहरु (ओली र नेपाल) आफैले मिलाउनुपर्छ ।’ यद्यपि नेपाल यो विषयमा खुलेर बोल्न चाहँदैनन् । पदको लोभ गरेको आरोप लाग्ने डर उनलाई छ ।

एकताका निम्ति के भइरहेको छ ?

एमालेको दोस्रो तहका नेता शुक्रबारसम्म ओली र नेपालबीच भेट गराउने प्रयासमा छन् । ओली र नेपाल बसेर पावर सेयरिङको विषय आफै टुंगो लगाउन् भन्ने चाहाना उनीहरुको छ । ओली आफैं पनि अब पार्टी मिलाउने पक्षमा छन् । त्यसका लागि उनले नेता भीम रावललाई दुवै पक्षको ‘नेगोसियएटर’ बनाएका छन् ।

बिहिबारै ओलीले रावलाई माधव नेपालका कुरा के-के छन् सोधेर ल्याउनुहोस् भन्दै गृहकार्य दिएका छन् । ओली पक्षकै नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले पार्टी मिलाउन ओलीलाई दवाव दिइरहेका छन् । विघटित कार्यदलका सदस्यहरु त दुवै तर्फ लागिरहेकै छन् ।

यसबीचमा दुवै पक्षका केही सांसद पार्टी मिलाउनु पर्ने भन्दै अभियान नै चलाइरहेका छन् । दुई दिनदेखि उनीहरु निकै सक्रिय भएका छन् । यस्तोमा ओली पक्षका सांसदहरु कुष्ण दाहाल, सूर्य पाठक, एनपी सावा लिम्बु, राजेन्द्र राई, शान्ति पाख्रिन र यज्ञ बोगटी लागेका छन् । त्यस्तै माधव पक्षका सांसदहरु यज्ञराज सुनुवार, झपट रावल, पवित्रा निरौला, जयकुमार राई, राजबहादुर बुढा र दीपक प्रकाश भट्ट पनि यो काममा जुटेका छन् ।

उनीहरुले कार्यदलसँग बेसर पार्टी मिलाउने बारे अन्तरक्रिया गर्ने र संयुक्त वक्तव्य जारी गर्ने सम्मको तयारी गरेका छन् । वक्तव्य ‘ड्राफ्ट’को जिम्मा दीपक प्रशका भट्टलाई दिइएको छ ।

यस्तोमा ओलीको बढ्दो लचकता र पार्टी विभाजन विरुद्ध उभिएको पार्टी भित्रको ठूलो मतका कारण एमालेमा नपत्याउँदो तरिकाले सहमति भए अनौठो हुने छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर