चीनमा नेपाल चर्चा : भारतमुखी देउवा प्रधानमन्त्री भए पनि नेपाल–चीन सम्बन्ध बलियो छ – Nepal Press

चीनमा नेपाल चर्चा : भारतमुखी देउवा प्रधानमन्त्री भए पनि नेपाल–चीन सम्बन्ध बलियो छ

काठमाडौं । नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् ।

चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता प्रकाशित एक आलेखमा फुदान विश्वविद्यालयका प्राध्यापक झाङ जिदोङद्वारा लिखित आलेखको हेडलाइन छ : भारतमुखी प्रधानमन्त्री भएपनि नेपाल र चीनको सम्बन्ध बलियो छ ।’

देउवा कति लामो समयसम्म सत्तामा रहन्छन् भन्ने कुरा निश्चित नभएको प्राध्यापक जिदोङको तर्क छ । संसदमा कम्युनिष्टहरुकै बहुमत भएकाले आउने चुनावमा देउवाले आफ्ना लागि जितको अनुकूल वातावरण सिर्जना गर्न नसक्ने तर्क पनि छ ।

कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने र यसले अर्थतन्त्रमा थप क्षति पुर्‍याउन सक्ने भन्दै प्राध्यापक जिदोङले भाइरसको आगामी धक्काले सत्तारुढ पार्टी असफल हुनसक्ने अनुमान पनि गरेका छन् । ‘अहिलेको नेपालमा कसैलाई स्वीकार गर्नभन्दा अस्वीकार गर्न सजिलो छ’ उनको विश्लेषण छ ।

नेपालको परराष्ट्र नीतिले पहिले नै आकार लिइसकेकाले कुन दल शक्तिमा आउँछ भन्ने कुराले अर्थ नराख्ने उनको टिप्पणी छ । चीन र भारतलाई बेवास्ता गरेर नेपालको कुनैपनि शक्तिले मुलुकलाई समृद्धिको दिशातर्फ डो¥याउन नसक्ने तर्क पनि उनको छ ।

देउवाको उदयले नेपाललाई केही हदसम्म भारततर्फ धकेल्ने भएपनि चीन, भारत र तेस्रो मुलुकसँगको बहुपक्षीय सन्तुलित सम्बन्धमा परिवर्तन नआउने उनको विश्लेषण छ । ‘चीनका लागि नेपालको नेतृत्व र सत्तारुढ दललाई बुझ्नुभन्दा नेपालको परराष्ट्र नीतिलाई गहिरोरुपमा बुझ्नु महत्वपूर्ण हुन्छ’ उनले भनेका छन् ।

हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक आलेखमा कुनाल पुरोहितको एउटा विश्लेषण प्रकाशित छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै दिल्लीसँगको सम्बन्धमा सुधार आउने अनुमान उनले गरेका छन् । ७५ वर्षिय प्रधानमन्त्रीले सन्तुलित कूटनीति अपनाउने र अमेरिका र उसका साझेदार मुलुकसँग सम्बन्ध बलियो तुल्याउने विश्लेषण पनि उक्त अखबारको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर