आन्दोलित यातायात व्यवसायी भन्छन्- कोरोनाले थला परियो, भाडा नबढाए चाबी बुझाउँछौं (भिडियो) – Nepal Press

आन्दोलित यातायात व्यवसायी भन्छन्- कोरोनाले थला परियो, भाडा नबढाए चाबी बुझाउँछौं (भिडियो)

काठमाडौं । निषेधाज्ञाका कारण लामो समय असर परेको यातायात क्षेत्र केही दिनअघि मात्र आंशिकरूपमा खुलेको छ । तर सार्वजनिक सवारी शुरू भएको केही दिनमै व्यवसायीले आन्दोलन थालेका छन् । आज काठमाडौंको चक्रपथ क्षेत्रमा भाडा समायोजनको माग गर्दै बस, ट्रक, टेम्पो, ट्याक्सीलगायतका सवारी सडकमा ल्याएर ट्राफिक अस्तव्यस्त हुने गरी प्रदर्शन गरिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आव्हानमा गरिएको सवारी प्रदर्शनमा २० हजार सवारी सडकमा उतारिएको दावी गरिएको छ । एकान्तकुनाबाट शुरू भएको सवारीसाधनसहित प्रदर्शनले चक्रपथ परिक्रमा गरेको छ ।

महासंघका महासचिव भरत नेपाल ९ वर्षदेखि भाडा वृद्धि नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने निरन्तर वृद्धि भइरहेकोले त्यसैको विरोधमा आन्दोलन गरेको बताए ।

नेपालले भने, ‘बैंकले व्याज लिएर नाफा कमाइरहने तर त्यही बैंकलाई ऋण लिएर व्यवसाय गरेका यातायात घाटामा उठ्नै नसक्ने गरी थला परेका छन् । अब आउने मौद्रिक नीतिमा यातायात व्यवसायीका समस्या सामाधान हुनुपर्‍यो । अब अन्तर प्रदेश नभनी सरकारले सबैतिर ५० देखि ६० प्रतिशत भाडा वृद्धि गर्ने बेला आएको छ । ९ वर्षमा पेट्रोलियम पदार्थ मूल्य कति वृद्धि भएको छ । बुझेर सरकारले वैज्ञानिक भाडादर लागू गर्नुपर्छ ।’

सरकारले भाडा समायोजन र बैंकको ब्याजमा सहुलियत दिने निर्णय नगरे सबै सवारीसाधनको चावी सीडीओमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने नेपालले बताए । उनले नेपाल प्रेससँग भने, ‘सरकारले हाम्रो माग नसुने भित्री सडकमा सवारी साधनहरू राखेर नै प्रदर्शन गर्ने छौं । सरकारले त्यति गर्दा पनि माग सम्बोधन नगराए देशभरको यातायात बन्द गराउने छौं । १० हजार पर्ने टायरको मूल्य वृद्धि भएर ५० हजार भइसक्यो तर भाडा तर भने पहिलेको नै छ । विगत दुई वर्ष कोरोनाले सबैभन्दा धेरै यातायात क्षेत्र नै समस्यामा परेको छ ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यातायात व्यवसायीले आन्दोलनको विषयमा विभागलाई केही जानकारी नभएको बताए । उनले भने, ‘संघीय सरकारले लामो दूरीको यातायातको भाडा वृद्धि गरिसकेको छ । अब प्रदेश अन्तर्गतको प्रदेशले नै निर्णय गर्ने हो । हामीले केही गर्न र भन्न मिल्दैन । यातायात व्यवसायीले कुरा नबुझेर काठमाडौं उपत्यकामा प्रदर्शन गरेका होलान् ।’

सरकारले केही दिनअघि अन्तर प्रदेश सवारीसाधनको भाडा २८ प्रतिशत वृद्धि गरेको थियो । सर्वसाधारणले भने यो भाडावृद्धिको समेत विरोध गरेका छन् ।

अन्तर प्रदेशमा मात्र बढाइएको भाडाले समस्या समाधान नहुने भन्दै आजको आन्दोलन शक्ति प्रदर्शनका लागि भएको यातायात व्यवसायीको दावी छ । पहिलो र दोस्रो लहरको कोरोना महामारीका कारण करिब १ वर्ष सार्वजनिक सवारी बन्द भए । कमाइ नहुँदा पनि बैंकको बैंकको ताकेता गरिरहेको उनीहरूको भनाइ छ ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले हिजो उद्योग परिसंघको साधारणसभामा महामारीले थला पारेको निजी क्षेत्रको लागि राहतको प्याकेज ल्याउने आश्वासन दिएका थिए । उनले त्यसका लागि सम्बोधन गर्नुपर्ने समस्याको फेहरिस्त दिन निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *