भारतीय अखबार दैनिक भाष्करको कार्यालयमा छापा, विरोधमा विपक्षीको नाराबाजीपछि दुबै सदन स्थगित – Nepal Press

भारतीय अखबार दैनिक भाष्करको कार्यालयमा छापा, विरोधमा विपक्षीको नाराबाजीपछि दुबै सदन स्थगित

दिल्ली । भारतको चर्चित अखबार दैनिक भाष्करको कार्यालयमा आज बिहान कर सम्बन्धी नियामक निकाय सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी)ले छापा मारेको छ ।

सीबीडीटी प्रवक्ता सुरभी अहलूवालियाले यसबारे पुष्टि गरेकी छिन् । उनले भनिन्, ‘दैनिक भाष्करको कार्यालयमा सीबीडीटीको अप्रेसन जारी छ । यस सम्बन्धमा अहिले हामी यति मात्र भन्न सक्छौं ।’

कुन विषयलाई लिएर अप्रेसन गरिएको भन्नेबारे प्रवक्ता सुरभीले विस्तृत जानकारी दिइनन् । दैनिक भाष्करका राष्ट्रिय सम्पादक लक्ष्मीप्रसाद पन्तले जयपुर कार्यालयमा सीबीडीटीको टीम पुगेको आफूलाई जानकारी मिलेको बताए ।

दैनिक भाष्कर भारतकै चर्चित अखबार हो । कोरोना महामारीको समयमा यसले थुप्रै खोजमूलक सामाग्री प्रकाशन गरेको छ । जसमा महामारी नियन्त्रणमा सरकारको फितलो व्यवस्थापनबारे प्रश्न गरिएको थियो ।

भाष्करको कार्यालयमा भएको छापालाई लिएर सत्तापक्ष र विपक्षबीच चर्किएको विवादका कारण भारतको दुबै संसदका सत्र स्थगित भएका छन् । विपक्षी नेताले सरकारले मिडियाको आवाज दमन गर्ने कार्य गरेको आरोप लगाएका छन् ।

दुबै सदन दिउँसो २ बजेसम्मको लागि स्थगन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर