जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू, निधिका मान्छेले सदस्यतामा धाँधली गरेको आरोप – Nepal Press

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू, निधिका मान्छेले सदस्यतामा धाँधली गरेको आरोप

जनकपुरधाम । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ ।

कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आज मध्यान्हबाट नेता कार्यकर्ताहरूले रिले अनसन शुरू गरेका हुन् । धनुषा क्षेत्र नम्बर १ र ४ मा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

क्षेत्र नम्बर १ का सभापति जितनारायण यादव र क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पंजियारले आफ्ना पक्कडका व्यक्तिलाई क्रियाशील सस्यता बाँडेको आरोप छ । उनीहरू दुवैजना कांग्रेस उपसभापति विमलेन्द्र निधी गुटका हुन् ।

पार्टी कब्जा गर्ने गलत मानसिकताका साथ क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको नेता संजिव यादव बताए । उनले भने, ‘क्रियाशील सदस्यता वितरण मापदण्ड अनुसार भएको छैन । यसविरुद्ध पूर्वसांसद चन्द्रमोहन यादव काठमाडौंमा आमरण अनसन बसेको ५ दिन भयो । तर, पार्टी नेतृत्वले वेवास्ता गरेका कारण हामी पनि अनुसन शुरू गरेका छौं ।’

धनुषामा १२ हजारको हाराहारीमा क्रियाशील सदस्यता रहेकोमा यसवर्ष ७ हजार थपिएको छ । जसमा हजारौं क्रियाशील सदस्यता पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत रहेको अनसनमा बसेका नेताहरूको दावी छ । उनीहरूले धाँधली गरेर बाँडेको क्रियाशील सदस्यता खारेज नगनरेसम्म असनसन जारी राख्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर