१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम, आत्तिनु पर्दैन – Nepal Press

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम, आत्तिनु पर्दैन

काठमाडौं । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ ।

नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा हिजो साँझ बैंकिङ ह्याक सम्बन्धी चेतावनीयुक्त म्यासेज आएको थियो । राष्ट्र बैंक प्रवक्ता देवकुमार ढकाल तथा सहप्रवक्ता नारायणप्रसाद पोखरेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका नाममा पठाइएको इमेलको स्क्रिनसटले कर्मचारीमा शंका र त्रास पैदा गर्‍यो ।

प्रवक्ता देवकुमार ढकाललाई अपरिचित नम्वरबाट फोन गरी ‘योर स्टिम ह्याज विन ह्याक’ भनेर फोन काटिएको थियो ।
उक्त सन्देशमा नेपाल राष्ट्र बैंक सहित १५ वटा बैंकहरु ह्याक हुने दावी गरिएको छ । जसमा कुमारी बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक , माछापुच्छ्रे बैंक, एनएमबी बैंक , एनआइसी एसिया बैंक, नेपाल एसवीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक रहेका छन् ।

नेपाल राष्ट्र बैंकले भने सर्वसाधारणमा त्रास फैलाउने काम भएको भन्दै नआत्तिन अनुरोध गरेको छ । सिस्टममा कुनै खराबी नरहेको केन्द्रीय बैंकले जनाएको छ ।

उक्त म्यासेजपछि राष्ट्र बैंक र अन्य बैंकका कर्मचारीसमेत थप सतर्कसहित अलर्ट अवस्थामा रहेको प्रवक्ता ढकालले जानकारी दिए ।
‘हाम्रा कर्मचारीहरूले उक्त सन्देश पाएपछि रातभरी सुत्न पाएका छैनन् । हाम्रो प्रणालीमा कुनै खरावी पाएनौं । कमीकमजोरी भएकालाई इन्ट्याक राख्नका लागि साथीहरूले मेहनत गरेका छन् । कसैले त्रास फैलाउने काम गरेपनि हाम्रो बैंकिङ प्रणाली सुरक्षित छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *