सडक बनाउन ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध – Nepal Press

सडक बनाउन ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध

म्याग्दी । बेनी-दरवाङ सडक निर्माणमा ढिला गरेपछि स्थानीयबासीले सडकमै ठेकेदारको फोटोसहितको पोष्टर राखेर विरोध गरेका छन् ।

स्थानीयले लामा समानान्तर जेभी कम्पनीका जिपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् । लामा दोलखाका नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद हुन् ।

२०७४ साउनमा बेनी सिमचोकसम्मको साढे १२ किलोमिटर सडकको ठेक्का लिएका लामाले २०७६ माघ १२ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने  थियो । पटक-पटक थपिएको म्यादमा पनि काम नगर्दा सडकमा पहिरो जाने, खेतीयोग्य जमिनमा क्षति पुग्न थालेपछि गाउँलेले ठेकेदारको विरोध गरेका हुन् ।

सडक फराकिलो बनाउने क्रममा पर्खाललगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको स्थानीय बताउँछन् । निर्माण कम्पनीले न्यून जनशक्ति र उपकरण प्रयोग गरेका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताइएको छ । डोजरमात्र प्रयोग गरेर सडक फराकिलो बनाउँदा वर्खायाममा सडक आसपासका बस्तीमा पहिरोको जोखिम बढेको छ ।

बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरी गाउँपालिकाबासीसँग जोडिएको यस सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाखमा सम्झौता भएको थियो । पूर्वाधार कार्यालय म्याग्दीले अहिलेसम्म ५० प्रतिशतमात्र काम सकिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर