…त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल – Nepal Press

…त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल

कैलाली । आइतबार भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएपछि पहिलो पटक बुधवार एमालेका नेता माधव नेपाल र रावलबीच भेटवार्ता भएको छ ।

पार्टी एकताको लागि नेपाल पक्षबाट रावलको नेतृत्वका कार्यदल तयार गरिएको थियो । तर, कार्यदलले तयार गरेको सहमतिमा माधव नेपालले असन्तुष्टि व्यक्त गरेपछि रावल र नेपालबीच दूरी बढेको थियो ।

सहमति कार्यान्वयन नभएको र विश्वासको मत दिने दिन छलफल नभएको भन्दै आइतबार राजीनामा दिएका रावललाई मनाउन सुदूरपश्चिम प्रदेशका मन्त्रीसहित १२ सांसद रावल निवास टोखा पुगेका थिए ।

नेपाल पक्षका सांसद मात्रै टोखा पुगेका हुन् । २५ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बाहेकका २४ जना सदस्य मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना रहेका छन् । १७ जना नै रावलले राजीनामा फिर्ता लिनु पर्ने पक्षमा रहेको उनीहरु बताउँछन् ।

प्रदेशसभा सदस्यहरूले रावललाई भेटेपछि १० बजे एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । १२ सांसद सहित केही नेताहरू पनि उक्त छलफलमा थिए । कोटेश्वरमा करिब ३० मिनेट सम्म चलेको छलफल पछि बुधबारनै साँझ रावल भेट्न नेता नेपाल टोखा पुगेका हुन् ।

नेपाललाई सुदूरपश्चिम प्रदेशबाट गएको टोलीले जुनसुकै अवस्थामा पनि भीम रावलको राजीनामा फिर्ता गराउनुपर्ने बताएका थिए । प्रदेशको टोलीबाट एमाले प्रदेश संसदीय दलका नेता प्रकाश शाहले रावलको राजीनामाले नेपाल समूहभित्रै अविश्वास सृजना हुने र देशभर यसको गलत सन्देश जाने बताएका थिए ।

‘दलको नेताले नेपाललाई सुरुमा राजीनामा फिर्ता लिन लगाउनु प¥यो भन्नुभयो । अनि पार्टी एकताको लागि सशक्त रूपमा उभिनुपर्छ भन्नुभयो,’ छलफलमा सहभागी एक सांसदले भने, ‘एउटै टिमभित्र अविश्वास गर्नु राम्रो भएन । यसले देशभरका कार्यकर्ताहरूमा असर पर्छ भन्ने सुझाव नेपाललाई दिनुभयो’

जवाफमा माधव नेपालले आफूले राजीनामा फिर्ता लिन पहल गर्ने बताएका थिए ।

‘म पहल गर्छु । अहिलेसम्म सबैलाई समेटेर लगेको छु । मलाई पनि नेता बनाउनु भएको छ,’ नेपालले भनेका थिए । करिब ३० मिनेटको छलफलमा पार्टीको आगामी रणनीतिको विषयमा त्यति धरै कुराकानी भएन । तर, नेपालले विश्वासको वातावरण अझै नबनाएको हुँदा पार्टी एकतामा समस्या भइरहेको सुनाएका थिए ।

‘विश्वासको वातावरण अध्यक्षले सृजना गर्नुपर्ने हो । सुरुदेखि अहिलेसम्म विश्वास गर्न लायक काम भएको छैन’ नेपालले भनेका थिए, ‘सबै ठाउँमा जालझेल भयो । विश्वास गर्ने भरपर्दो आधार भएपछि मात्रै एकताका लागि सहमत हुन्छौं ।’

छलफल फेरि राजीनामा फिर्ता गराउनेतर्फ केन्द्रित भयो । प्रदेशसभा सदस्यहरूले भीम रावलले राजीनामा फिर्ता नलिए आफूहरूले पनि सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । त्यसपछि नेपाल थप गम्भीर बनेका हुन् ।

नेता नेपालले रावलको निर्णयबाट आफू पनि आश्चर्यचकित बनेको भन्दै फिर्ता लिन पहल गर्ने आश्वासन प्रदेश सदस्यहरुलाई दिएका थिए । छलफलमा सहभागी १२ सांसदसहित अन्य नेताहरूलाई भने रावलले राजीनामा दिनुको कारण बारे बिहानै प्रस्ट पारेका थिए ।

कार्यदलको संयोजक भएर १० बुँदे सहमति भएपछि विश्वासको मत लिने बेला छलफल नै भएन । त्यसपछि उनलाई नैतिक संकट पैदा भयो । रावल निवास टोखामा भएको छलफलमा सहभागी एक सांसदले भने, ‘विश्वासको मत दिँदा आफैं कार्यदलको संयोजक भएकाले पार्टी एकतामा बाधा पुग्ने, मत नदिँदा केपी ओलीलाई समर्थन गरेको देखिने । त्यही भएर उहाँले राजीनामाको बाटो रोज्नु भएको हो ।’


प्रतिक्रिया

One thought on “…त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल

  1. रावलकाे नयाँ नाटक,चुकुल खुस्काईसकेपछि केकाे राेड्याई ? मन माधवसंग तन एमालेमा राखेर हुन्छ ? प्रचण्ड माधबसंग मिल्न गए भैगाेनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर