देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख – Nepal Press

देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भयो : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरे ।

पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’

पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरेका थिए ।

उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’

वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरे । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ थियो ।

एकताका लागि आफूले अझै प्रयास जारी राख्ने ओलीले बताए । उनल भने, ‘मसँग अझै आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु । एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु ।’

ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर