चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक ५२० रुपैयाँले बढ्यो – Nepal Press

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक ५२० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक पाँच सय २० रुपैयाँ बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक ११ हजार पाँच सय ६१ रुपैयाँबाट बढाएर १२ हजार ८१ रुपैयाँ तोकेको हो ।

श्रम ऐन २०७४ को दफा एक सय ६ बमोजिम चिया बगानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ मासिक पारिश्रमिक साउन १ गतेबाट लागू हुने छ ।

नयाँ तोकिएको न्यूनतम पारिश्रमिकभित्र आधारभूत पारिश्रमिक सात हजार सात सय ६९ र महंगी भत्ता चार हजार तीन सय १२ रुपैयाँ कायम गरिएको छ । यस्तै, दैनिक पारिश्रमिकमा आधारभूत दुई सय ८१ र महंगी भत्ता एक सय ५४ गरी जम्मा चार सय ३५ पुर्याइएको छ ।

प्रतिघण्टामा आधारभूत ३७ रुपैयाँ र महंगी भत्ता २० रुपैयाँ गरेर ५७ रुपैयाँ पुर्याइएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक, चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता यसअघिकै ५५ रुपैयाँ कायम गरिएको छ ।

मन्त्रालयका अनुसार एक वर्षअघि अर्थात २०७७ साउन १ गतेदेखि लागू हुनेगरी चिया बगानमा कार्यरत श्रमिकको आधारभूत पारिश्रमिक सात हजार दुई सय ४९ र महंगी भत्ता चार हजार तीन सय १२ गरी जम्मा ११ हजार ५ सय ६१ थियो । यस्तै दैनिक आधारभूत पारिश्रमिक दुई सय ६१ र महंगी भत्ता एक सय ५४ गरेर जम्मा चार सय १५ थियो । प्रतिघण्टा ३५ रुपैयाँ र महंगी भत्ता अहिलेकै जति २० रुपैयाँ गरेर जम्मा प्रतिघण्टा ५५ थियो ।

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक, चिया बगानका सरदार, नाइके र चौकीदारको समयेत दैनिक भत्ता भने यस अघिकै ५५ रुपैयाँ कायम गरिएको छ ।

यस अघि कति थियो, अहिले कति पुग्यो ?

पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित श्रमिकको पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्न अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा संघीय सरकारले तोकेभन्दा कम नहुने गरी निर्धारण गर्न सकिने जनाइएको छ ।

तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिने–दिने गरी कुनै रोजगार सम्झौता पनि गर्न नपाइने भनिएको छ ।

अन्तर्राष्ट्रिय मजदूर दिवस अर्थात मे १ को अवसरमा बैशाख १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत श्रमिकको पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेका थिए । त्यसको २ दिनपछि बैशाख २० गते सरकारले न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० बाट बढाएर १५ हजार पुर्याइएको सूचना राजपत्रमा प्रकाशित भएको थियो ।

त्यतिबेला अन्य श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँदा चिया वगानमा कार्यरत श्रमिकका नबढाइएको भन्दै सरकारको आलोचना भएको थियो । चिया वगानमा कार्यरत श्रमिकले राज्यले आफूहरुमाथि विभेद गरेको गुनासो गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *