नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा – Nepal Press

नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा

कोभिसिल्ड र भेरोसेलले सबैतिर मान्यता नपाउँदा सुटिङ प्रभावित हुनसक्ने

काठमाडौं । बलिउड फिल्मको सुटिङ भारतभित्रै सुरु भएको छ तर, विदेश छायांकन भने स्थगित छ । विदेशमा फिल्म छायांकनलाई लिएर बलिउडलाई अहिले अर्को टाउको दुःखाइ भएको छ ।

त्यो हो : कोभिड खोप ।

भारतले उत्पादन गरेको कोरोनाभाइरस विरुद्धको कोभिसिल्ड खोपलाई अझै थुप्रै युरोपेलीसहितका मुलुकले मान्यता दिएका छैनन् । केही देशले यात्रा प्रतिबन्ध लगाउँदा पनि बलिउडको विदेश छायांकन अनिश्चित बनेको छ ।

यदि परिस्थिती चाँडै ठीक भएन भने या त विदेशको छायांकन तालिका स्थगित गर्नुपर्छ या त, लोकेसन र स्क्रिप्टमा परिवर्तन गर्नुपर्छ ।

बलिउडका लागि युरोप निकै आकर्षक छायांकन गन्तव्य मुलुक हो । तर, थुप्रै युरोपेली मुलुकले कोभिसिल्ड खोपलाई मान्यता दिएका छैनन् । नेपालमा समेत कोभिसिल्ड खोपको प्रयोग भएको छ ।

कुन-कुन युरोपेली देशले दिए कोभिसिल्डलाई मान्यता ?

यद्यपी, फ्रान्स र युरोपियन युनियन लगायतका १६ मुलुकले खोपलाई मान्यता दिएका छन् । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको कारणले पनि थुप्रै मुलुकले भारतलाई उच्च जोखिमपूर्ण मुलुकको सूचीमा राखेका छन् । कमर्सियल उडान पनि हुनसकेको छैन ।

यस्तोमा, फिल्म छायांकनलाई ती देशले अनुमति दिन सम्भावना न्यून छ । यही मेसोमा कंगना रनावत स्टारर फिल्म धाकडको छायांकन युरोपकै हंगेरीमा कोभिड मापदण्ड पालना गर्दै भैरहेको त छ तर, सोचेजस्तो सजिलो भएको छैन ।

बलिउडको जस्तै समस्या नेपाललाई पनि पर्ने देखिएको छ भने किनभने, कोभिसिल्ड नेपालमा पनि प्रयोग भएको छ । प्रत्येक देशको आफ्नै खोप नीति भएकाले कुन खोप लगाएमा कुन देश जान पाइन्छ भन्ने कुरामा पनि अन्यौल छाएको छ ।

चिनियाँ खोप भेरोसेल लगाएकालाई अमेरिका, युरोप र अष्ट्रेलियाले मान्यता दिएका छैनन् जसले गर्दा भेरोसेल लगाएका बहुसंख्यक फिल्मकर्मी ती देशमा जान पाउनेछैनन् ।

खोप राष्ट्रियताको कारण स्वदेशमा स्थिती अनुकूल भएपनि विदेशमा भने स्थिती तत्काल साम्य हुने सम्भावना देखिएको छैन । अझै पनि नेपाललाई अमेरिका, युरोप लगायतका मुलुकले यात्रा प्रतिबन्ध लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर