झलनाथले पैसा नपाएको गुनासो गरेपछि देउवाको त्यो जवाफ – Nepal Press

झलनाथले पैसा नपाएको गुनासो गरेपछि देउवाको त्यो जवाफ

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय वर्तमान मन्त्रिपरिषदबाट नभएको स्पष्ट पारेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै गरेको र त्यसबारे कुनै थप निर्णय नभएको सरकारका एक मन्त्रीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन गरेका थिए । टेलिफोनमा खनालले अघिल्लै सरकारले निर्णय गरेको सुनेको तर दूतावासबाट पैसा नपाएको गुनासो गरेपछि देउवाले ढुक्क भएर उपचार गराउन भन्दै उपचार खर्च सरकारले व्यहोर्ने बताएको जनाइएको छ ।

यसबारे कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले मापदण्ड र नीतिविपरीत उपचार खर्च नबाँड्न आग्रह गरेका छन् । देउवानिकट मन्त्रीले भने गर्दै नगरेको कामका लागि देउवाको आलोचना भएको बताएका छन् ।

‘झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय अघिल्लो सरकारको हो । त्यही निर्णय अनुसार भारतस्थित दूतावासबाट उपचार खर्च निकासा गर्ने भनिएको रहेछ । प्रधानमन्त्रीसँग फोन हुँदा झलनाथजीले नै सरकारले दिने भनेको रकम निकासा नभएको बताएपछि प्रधानमन्त्रीले म बुझेर मिलाउँछु भन्नुभएको रहेछ’, ती मन्त्रीले नेपाल प्रेससँग भने ।

एमाले नेतृत्वको सरकारले एमालेकै नेतालाई उपचार खर्च उपलब्ध गराउन गरेको निर्णय तत्कालै फिर्ता लिन मानवीय दृष्टिले पनि उपयुक्त नभएको ती मन्त्रीको दावी छ ।


प्रतिक्रिया

One thought on “झलनाथले पैसा नपाएको गुनासो गरेपछि देउवाको त्यो जवाफ

  1. ते लठ्ब्रो सरकार !!!!! अरु कुरा त अघिल्लो सरकार ले गरेका सबै उल्ट्याउन सक्ने ले त्यो चाहि किन न उल्ट्यायेको त? छ यसको उत्तर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर