मोवाइल बैंकिङबाट पठाएको पैसा बीचमै ‘गायब’ ! के हो समस्या ? – Nepal Press

मोवाइल बैंकिङबाट पठाएको पैसा बीचमै ‘गायब’ ! के हो समस्या ?

काठमाडौं । मोवाइल बैंकिङमार्फत रकम ट्रान्सफर वा भुक्तानी गर्दा खाताबाट मौज्दात रकम घट्ने तर सम्बन्धित खातामा रकम नजाने प्रकृतिका समस्या धेरै देखिने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा ग्राहकले यस विषयमा गुनासो गर्दा २४ घण्टाभित्र रकम फिर्ता हुने जवाफ आउँछ । तर, २४ घण्टाभित्र पनि रकम फिर्ता नभएको गुनासो सेवाग्राहीको छ ।

नाम नखुलाउने सर्तमा मोवाइल बैंकिङका एक प्रयोगकर्ताले फोन पेमार्फत रकम ट्रान्सफर गरेको तथा इच्छाइएका व्यक्तिको खातामा रकम ट्रान्सफर सफल नभए पनि रकम काटिएको गुनासो गरे ।

‘मोवाइल बैंकिङको फोन पेमार्फत भुक्तानीका लागि रकम ट्रान्सफर गर्दा मेरो व्यालेन्सबाट रकम घट्यो, तर सम्वन्धित व्यक्तिको खातामा रकम गएन’, उनले भने । उनले सम्वन्धित बैंकमा गुनासो गर्दा एफवान सफ्टको फोन पेमा सम्पर्क गर्न आग्रह गरिएको बताए ।

‘बैकले फोन पेमा सम्पर्क गर्न भन्यो, तर अहिलेसम्म पनि रकम फिर्ता नआएपछि सापटी मागेर फेरि पठाए,’ उनले भने ।

त्यस्तै अर्की एक महिला सेवाग्राहीले आफ्नो मोवाइल बैंकिङको एप्समार्फत ६ सय रूपैयाँको रिचार्ज गरेकोमा फोनमा रिचार्ज फेल देखाए पनि व्यालेन्स भने काटेको बताइन् ।

अर्का एक सेवाग्राहीले एक बैंकको खाता नम्बर गल्ती हुँदासमेत व्यालेन्स काटिएको र सम्वन्धित बैंकहरूमा खबर गरेको महिनौं दिनपछि मात्रै रकम फिर्ता भएको गुनासो गरे ।

बैंक तथा फोन पेमा पटकपटक रकम फिर्ता गर्नका लागि मोवाइल फोनमा अतिरिक्त खर्च हुने गरेको गुनासो उनीहरूले गरेका छन् । यसरी बैंक तथा वित्तीय संस्थाबाट काटिएको रकम व्याजसमेत नआउने र आफूले व्यहोरेको सास्तीको क्षतिपूर्तिसमेत नपाएको सेवाग्राहीको गुनासो छ ।

गुणस्तर न्यून तर शुल्क चर्को

नेपालमा करिब १ करोड ३० लाखभन्दा बढी मोवाइल बैंकिङका प्रयोगकर्ता छन् । कोभिडको समय नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले डिजिटल कारोबारलाई प्रोत्साहन गरेका कारण मोवाइल बैंकिङका प्रयोगकर्ता बढिरहेका छन् ।

नेपालमा इन्टरनेटको उपलब्धता सहज हुँदै गएकाले मोवाइल बैंकिङका प्रयोगकर्ता बढ्दै गएका हुन् । नेपालका सानादेखि ठूला व्यवसायहरू समेत व्यवसायमैत्री बन्दै गएकाले डिजिटल बैंकिङ अन्तर्गतको फोन पे, क्यूआर कोड, फण्ड ट्रान्सफर, कनेक्ट आईपीएस, ईसेवा, खल्तीलगायतका भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको छ ।

स-साना निक्षेपहरू झिक्न वा राख्नका लागि बैंक गएर घण्टौ लाइनमा बस्नुपर्ने झन्झटका कारण ग्राहकहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढि गर्ने गरेका छन् । डिजिटल भुक्तानी प्रणाली बढ्दो प्रयोगले एटीएम सेवाको प्रयोग कम हुँदै गएको देखिन्छ । विभिन्न युटिलिटी सम्वन्धि बिल भुक्तानी, अनलाइन वस्तुको अण्डर, सेयर रकम भुक्तानीजस्ता काम यही डिजिटल भुक्तानी प्रणालीमार्फत गर्ने गरेका छन् । डिजिटल भुक्तानीको प्रणालीको बढ्दो प्रयोगले बैंक तथा वित्तीय संस्थालाई शाखा रहित नगदरहित र ‘फेसलेस’ बैंकिङ प्रणाली सञ्चालनका आधारहरू तयार भइरहेका छन् ।

प्रविधिको प्रयोगले ग्राहकको समय वचत भएको साथै बैंक तथा वित्तीय संस्थामा भीडभाड कम भएको छ । यसले वित्तीय संस्थाको सञ्चालन लागत घटाएको छ भने आम्दानी बढेको छ । ग्राहकको भीडभाड कम हुँदा बैंकमा दैनिकरूपमा प्रयोग हुने चेक, भौचर, स्यानिटाइजर, कर्मचारीलगायतमा हुने खर्च घटेको छ ।

डिजिटल प्रणालीमा आवद्धता, नवीकरण तथा सञ्चालन अनुमतिका लागि ग्राहकसँग लिने अतिरिक्त शुल्क र अन्तर बैंकिङ मोवाइल भुक्तानीका लागि असुल्ने चर्को रकमवाट बैंकहरूको आम्दानी बढेको छ । डिजिटल भुक्तानी प्रणालीको प्रयोगले लागत घटाएपनि बैंकहरू शुल्क घटाउन तयार छैनन् । तर, उक्त सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि गरी ग्राहकलाई छिटो-छरितो सुविधा दिन भने तयार देखिँदैनन् ।

कसरी आउँछ समस्या ?

बैंकहरूमा मोवाइल बैंकिङसम्बन्धी सेवा प्रदायकको भूमिका एफवान सफ्टको फोन पेले उपलब्ध गराउँदै आएको छ भने यसका लागि आवश्यक प्रविधि यसैको एफवानले उपलब्ध गराउँदै आएको छ । मोवाइल बैंकिङ सम्बन्धित सेवा फोन पे, बैंक तथा वित्तीय संस्था र स्वीचको भूमिका नविल बैंकले गर्दै आएका छन् । यसरी फरक-फरक निकायको अन्तरआवद्धताका कारण मोवाइल बैंकिङमा समस्या आउने गरेको फोन पेका चिफ अपरेटिङ अफिसर दिवस सापकोटाले बताए ।

मोवाइल बैंकिङमार्फत रकम काटिए पनि २४ घण्टाभित्र भइसक्ने भए पनि कहिलेकाहीँ फिर्ता नभएमा ग्राहकको गुनासोपछि फिर्ता हुने गरेको उनी बताउँछन् । आफूहरूले सेवा प्रदायकको भूमिका मात्रै निर्वाह गर्ने भएकाले बैंकको प्रणालीबाटै फिर्ता हुनपर्ने उनको भनाइ छ ।

‘मोवाइल बैंकिङसम्वन्धी सेवाको अन्तरआवद्धता ३ ठाउँमा भएकाले कुन ठाउँको स्टिमको गल्ती हो भनेर पत्ता लगाउन समय लाग्छ । त्यस्तै हामीले दुई बैंकबीच हुने कारोबारको मिडियटरको भूमिकामात्रै निर्वाह गरिरहेका छौं’, उनले भने । कारोबारमा समस्या आएमा सम्वन्धित वित्तीय संस्थाको प्रणालीले नै रकम फिर्ता पठाउने गरेको सापकोटा बताउँछन् ।

‘फोन पेमा आएका गुनासो सम्वन्धित बैंकमा पठाउने हो बाँकी रकम सेटलमेन्टको पार्ट हामीले हेर्न नमिल्ने भएकाले रकम फिर्ता आउन ढिला भएको हुनसक्छ’, उनले भने । ग्राहकले गुनासो नगरेमा रकम फिर्तासमेत आउन नसक्ने सापकोटाको भनाइ छ । पछिल्लो समय मोवाइल बैंकिङका प्रयोगकर्ता बढेकाले क्षमता विस्तार गर्ने वेला भएको उनी बताउँछन् ।

यसका लागि फोन पेसहित बैंक तथा वित्तीय संस्थाले आफ्नो आन्तरिक प्रणालीको अपग्रेड गर्नुपर्ने देखिन्छ । ‘हामीले नयाँ प्रविधिको प्रयोग गर्दै प्रणालीभित्र भएका त्रुटीलाई हटाउनका लागि सबैको प्रयासको खाँचो छ,’ सापकोटाले भने ।

बैंकका पुरानै प्रणालीका कारण समस्या

बैंक तथा वित्तीय संस्थामा प्रयोग भएका पुरानै प्रणालीका कारण पनि ग्राहकले मोवाइल बैंकिङमार्फत पठाएको सन्देशको रेसपोन्समा ढिलाइ हुने गरेको हुने गरेको पाइन्छ । अधिकांस विकास बैंकहरू तथा ४ वाणिज्य बैंकहरूले पुमरी नामक पुरानै भर्सनको प्रणाली प्रयोग गरिरहेका छन् ।

पुमरीभन्दा मोवाइल बैंकिङका सेक्युरिटी फिचरहरू नयाँ रहेकाले ग्राहकले पठाएको भुक्तानीसम्बन्धी सन्देशको चाँडो रेसपोन्स नहुनु स्वभाविक भएको रहेको फोन पे बताउँछ । ‘फिनाकल’ प्रणाली जडान गरेका बाणिज्य बैंकहरूमा यस्ता समस्या कम देखिने गरेको उसको भनाइ छ ।

काटिएको रकम कहाँ जान्छ ?

मोवाइल बैंकिङ प्रयोगमार्फत यसरी काटिएको रकम सम्वन्धित बैंककै खातामा हुने सापकोटा बताउँछन् । स्टिमको खरावीका कारण बैंकहरूले पठाउने व्यक्ति खाताबाट क्रेडिट र पाउने व्यक्तिको खातामा डेविट गर्न नमिल्ने उनको भनाइ छ । यसरी काटिएको व्यालेन्स वापत बैंकहरूले ब्याज भुक्तानी गर्ने गरेको आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्थानुसार फोन पेमार्फत दैनिक अधिकम २ लाख र एकपटकमा २५ हजारसम्मको रकम पठाउन मिल्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *