बकर इद– कुर्वानीसँगै सौहार्द र सद्भावको पर्व – Nepal Press
बकर इद विशेष

बकर इद– कुर्वानीसँगै सौहार्द र सद्भावको पर्व

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वका रुपमा रहेको छ भने ईदुल अजहा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलीचालीको भाषामा ईदुल अजहालाई बकर इद पनि भन्ने गरिन्छ ।

दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ईदुल अजहा धर्म रक्षाका लागि पूर्वजहरुले गरेको बलिदानको सम्झनास्वरुप मनाउने गरिन्छ । यसलाई कुर्बानीको पर्व पनि भनिन्छ ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो बकर ईद । बुधबारदेखि इस्लाम धर्मावलम्बीहरुले बकर इद इदुल अजहा मनाउने र तीन दिनसम्म मनाइने यो पर्व नयाँ वर्षको रुपमा मनाइने मौलाना नजरे आलमले बताए ।

राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार नवाज, हज र कुर्वानी अनिवार्य मानिने इस्लामका पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

नेपालको जनगणना अनुसार ४.४ प्रतिशत जनसंख्या रहेपनि मुस्लिम अगुवाहरुका अनुसार करिब १० प्रतिशतको हाराहारीमा तथ्यांक छ, इस्लाम धर्मावलम्बीहरुको । मुस्लिम समुदायको वास्तविक तथ्यांक लिन मुस्लिम समुदायकै व्यक्ति तथ्यांक संकलनमा अनिवार्य हुनुपर्ने अलीले बताए । ‘हाम्रो समुदायको कर्मचारीले तथ्यांक नलिँदासम्म वास्तविक विवरण बाहिर आउँदैन, मैले आयोगमा बसेर पनि यो विषय भन्दै आएको छु’, अलीले भने । इस्लामी क्यालेण्डरअनुसार हिजरी सालको अन्तिम महिना जिलहिज्जाको १० तारिखका दिन यो पर्व मनाइन्छ ।

इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भएअनुसार पैगम्बर हजरत इब्राहिमलाई सपनामा अल्लाहले आफ्नो सबैभन्दा प्यारो चीज अल्लाहको नाममा बलिदान गर्न आदेश दिए । सो आदेशलाई स्वीकार गर्दै आफ्नो सबैभन्दा प्यारो चीज आफ्नै छोरा इस्माइल अलैयाहिस्सलामलाई बली दिने निर्णय गरे ।

उनले छोरालाई सो कुरा सुनाएनन् । तर छोरालाई आकाशवाणी भएर बली दिन लागेको भन्ने कुरा इस्माइललाई थाहा भयो । इस्माइलले अल्लाहका निम्ति बली चढ्नु आफ्नो लागि सौभाग्य हुने भन्दै स्वीकार गरे ।

इस्माइलले बाबु हजरतलाई भने– अल्लाहको नाममा बली चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बली दिने निर्णय गरेर तपाइँले ठीक गर्नुभयो, मलाई बली दिने क्रममा तपाइँको हात नकामोस्, त्यसका लागि तपाईंले आँखामा पट्टी बाँध्नुहोला ।

कुरानमा लेखिएको उदृत गर्दै मुस्लिम अगुवा अलीले भने– हजरतले आँखामा पट्टी बाँधेर छोराको घाँटीमा चक्कुल चलाए, त्यसबेला बाख्राको आवाज सुनियो, हजरतले पट्टी खोलेर हेर्दा बाख्रा काटिएको थियो र छोरा इस्माइल अली पर सकुशल उभिइरहेका थिए । यो अल्लाहले हजरतको परीक्षा लिएको समय थियो, उनी परीक्षामा पास भएर उनका छोराको जीवन जोगियो, उनको कुर्वान (त्याग) को परीक्षा थियो त्यो ।’ सोही दिनको सम्झनामा विश्वभरिका इस्लाम धर्मावलम्बीहरुले बकर इद मनाउन थाले ।

कुरानअनुसार यो पर्वमा स्वस्थ चौपाया (बोका)को (कुर्वानी) बली दिनुपर्छ । बली दिएपछि स्वर्ग (जन्नत)को बाटो खुल्छ भन्ने विश्वास रहेको अली बताउँछन् ।

मुस्लिम अगुवाका अनुसार कुर्वानी दिएको बलीको मासु तीन भागमा बाँडिन्छ । यसमध्ये एउटा आफ्नो घरमा, दोश्रो मस्जिदमा र तेस्रो आफन्तलाई बाँडिन्छ ।

कसरी मनाइन्छ बकर इद ?

बिहानै उठी नित्य कर्म सकेर खुला मैदानमा गएर नवाज पढ्नुपर्छ । नवाज पढेर घर फर्किइसकेपछि बली दिइन्छ । आर्थिक अवस्था कमजोर हुनेहरुले बली दिँदैनन् । उनीहरुलाई बली दिनसक्नेहरुले बलीको मासु (जसलाई तनुका भनिन्छ) बाँडिन्छ ।

तीन दिनसम्म मनाइने यो पर्वको तीनैदिन नै बली दिने चलन छ । पहिलो बली घरमुलीको नामबाट, त्यसपछि परिवारका सदस्यहरुको नामबाट दिने चलन छ ।

जसको नामबाट बली दिइन्छ, उसले बलीसम्बन्धी सबै काम नसकिँदासम्म अन्न र पानी खानुहुँदैन भन्ने मान्यता छ । जसको नामले बली दिइन्छ, त्यसले बलीको मासु प्रसादको रुपमा ग्रहण गरेपछि कुर्वानी सफल भएको मानिन्छ ।

सबैको लक्ष्य मक्का मदिना पुग्ने !

मुस्लिम समुदायका लागि एकपटक पुग्नैपर्ने ठाउँ हो, मक्कामदिना । यो धेरै जनाले लक्ष्य पनि राखेका हुन्छन् र पुग्छन् पनि । सो ठाउँमा जानुलाई मुस्लिम समुदायमा ठूलो धार्मिक सफलता मानिन्छ ।

साउदी अरबमा रहेको मक्का मदिना मुस्लिमहरुको सबैभन्दा ठूलो र प्रसिद्ध मस्जिद हो । मक्का मदिना हज गर्न जानेहरु त्यहाँ कैद गरी राखिएको भनिने शैतानमाथि ढुंगा हान्छन् र शैतानलाई ढुंगाले लागेपछि मक्का मदिनाको हज सफल भएको मानिन्छ । नेपालबाट वर्सेनि सयौं मुस्लिमहरु मक्का मदिना जान्छन् ।

कोरोना महामारीले प्रभावित इद

कोरोना महामारीले गतवर्षदेखि यो समुदायले राम्रोगरी मनाउन पाएका छैनन् । सामूहिक भेला भएर नमाज पढ्ने, मस्जिदमा जम्मा हुने र हज गर्न गतवर्ष पनि महामारीले रोक्यो, अहिले पनि उस्तै समस्या छ ।

यो वर्ष महामारीबाट जोगिँदै विभिन्न चरणमा गरेर मस्जिदमा आउने–जाने व्यवस्था गराइएको छ । मुस्लिम आयोग र स्थानीय प्रशासनलले घरघरमै बसेर पर्व मनाउन आग्रह गरेका छन् ।

सद्भाव र भाइचाराको पर्वः मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

उनले नेपाली समाज विविधताले रंगिएको बताउँदै एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्ने बताए ।

उनले भनेका छन्– बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको बताउँदै पोखरेलले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुने बताए ।
साथै पोखरेलले बकर ईद पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मनाउन आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *