नेपालमा पहिलो प्रयोगः ढलको पानी फोहोर-दुर्गन्ध हटाएर खोलामा (भिडियोसहित) – Nepal Press

नेपालमा पहिलो प्रयोगः ढलको पानी फोहोर-दुर्गन्ध हटाएर खोलामा (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका घर–घरबाट निस्केको ढल कहाँ जान्छ ? धेरैको जवाफ आउँछ, ‘बाग्मती र विष्णुमति खोलामा ।’ हो, काठमाडौंंबासीले घरबाट निस्केको ढल खोलामा खसालिएकोे प्रत्यक्ष देखेका छन् ।

बाग्मतीमा कञ्चन पानीको साटो ढल बग्न थालेको ३० वर्ष भइसक्यो । बस्ती बढेसँगै ढलको समस्या समाधान गर्न चुनौती पनि बढ्दो छ । तर पछिल्लो समय तपाईले बाग्मतीको खोलामा हेर्नुभयो भने ढल खसालेको खासै देखिँदैन । घरबाट निस्कने ढल कहाँ जान थाल्यो त ?

यो प्रश्नको उत्तर खोज्न गुहेश्वरीमा रहेको फोहोर पानी प्रशोधन केन्द्रमा पुग्नुपर्ने हुन्छ । सरकारले उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजना कार्यान्वयन ल्याएको छ । गुहेश्वरी प्रशोधन केन्द्रमा ढल खसालेर प्रशोधन गरी सफा पानी खोलामा बगाउन थालिएको छ ।

ढल प्रशोधन गरेर सफा पानी बगाउने प्रविधि नेपालमा पहिलोपटक सञ्चालनमा आएको हो । फोहोर पानी प्रशोधन केन्द्रले खोलालाई फोहोर हुनबाट जोगाउने विश्वास लिइएको छ ।

दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको क्षमता छ । गोर्कणदेखि मित्रपार्क, चाबहिल, नयाँबस्ती लगायतका क्षेत्रबाट १६ किलोमिटर ढलका लागि पाइप बिछ्याइएर प्रशोधन केन्द्रसम्म ल्याइएको छ । सबै ठाउँबाट आएको ढल ट्याङकीमा जम्मा हुन्छ । ट्याङ्कीमा आएको ४० प्रतिशत पानी प्रशोधनको लागि जान्छ । बाँकी खोलामा पठाइन्छ ।

हिउँदमा घरबाट निस्कने फोहोर पानी कम हुन्छ भने बर्खामा भल बाढी पनि ढलमै मिसिने भएकाले फोहोर पानीको प्रवाह बढ्ने गर्दछ । प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी आयो भने बाइपास टनेलमार्फत फिड गरेर तिलगंगा अस्पतालभन्दा तल पाइपबाट पानी खसाल्ने गरिएको छ ।

काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाका प्रमुख चन्द्रप्रसाद श्रेष्ठले भने, ‘हाम्रो प्लान्टमा आउने एउटा जाली छ, त्यो जालीमा रहेको पाइपबाट हाम्रो क्षमताको पानी यता आउँछ, बाँकी फेरि खोलामै जान्छ ।’

कसरी हुन्छ प्रशोधन ?

घरबाट निस्किएको फोहोर पानी ४ चरणमा ट्रिटमेन्ट हुन्छ । पहिलो प्रिलिमिनरी चरणमा सबै एरियाबाट आएको ढल ठूलो ट्याङ्कीमा खसालिन्छ । ट्याङकीमा आएको पानी क्षमताअनुसार रिटिट्रमेन्टको लागि पठाउने गरिन्छ ।

ट्याङ्कीबाट ट्रिटमेन्टको क्षमताअनुसार पठाएको पानी अर्को स्टेपमा प्रशोधनका लागि आउँछ । यसमा पानीमा आउने साना–ठूला फोहोरहरु ३ चरणमा निकालिन्छ । ढलमा २ सेन्टिमिटरभन्दा ठूला कुनै तैरिएका बस्तुहरु आएमा आफै निकाल्छ । त्यसभन्दा पछाडि पनि अझ मसिनो ४० सेन्टिमिटरको फोहोरको छोक्राहरु आफै निस्कन्छन् । त्यसपछि पानी अर्को चरणमा पठाइन्छ । यहाँसम्म ढलमा तैरिएको फोहोर मात्र निकाल्ने काम हुन्छ ।

 

दोस्रो चरणमा पानीमा भएको फोहोरलाई थिगार्ने काम हुन्छ र यसले आफैं बाहिर निकाल्छ । त्यसपछि अर्को चरणमा पानीसँगै आएको बालुवा ग्रिटीहरु थिग्रिन्छन् । बालुवा निकालिसकेपछि पानीलाई लिफ्ट गरेर अर्को प्रक्रियामा पठाइन्छ । त्यसमा बालुवा निकालेर पास भएको तर साना–साना तैरिएका बस्तुहरुलाई माथिल्लो प्रक्रियाबाट निकालिन्छ ।

यो चरण थिग्राउने मात्रै काम हो । फोहोरहरु हटाएपछि उक्तपानीको प्लिलिमिनरी काम सकिन्छ । त्यसपछि फोहोरका टुक्राहरु आउदैन । अनि पानीमा भएको माटो सहितको लेदोे सफा गर्न अर्को चरणमा पठाइन्छ । त्यसपछि बल्ल प्राइमेरी ट्रिटमेन्ट सुरु हुन्छ ।

पानीमा भएको फोहोरलाई थिग्राइन्छ । थिग्रिसकेकोलाई एकातिर पठाइन्छ र पानीलाई अर्को सेकेन्डरी ट्रिटमेन्टमा पठाइन्छ । त्यहाँबाट आएको पानी आधा पुरानो सिस्टममा र आधा नयाँ सिस्टममा जान्छ ।

शुरुको थिग्राइसकेको पानी सेकेन्डरी ट्रिटमेन्टका लागि पानीलाई इरियसन ट्याङ्कीमा पठाइन्छ । उक्त ट्याङ्कीमा पानी पठाइसकेपछि ब्याक्टेरिया ल्याएर हालिन्छ । पानीमा भएको नचाहिने पदार्थलाई ब्याक्टेरियाले खान्छ । त्यहीबाट उसले आप्mनो जनसंख्या बढाउँछ । त्यसपछि ब्याक्टेरियाले सोलिड बनाउँछ ।

मेसिनले पानीमा घुल्ने पदार्थलाई छुट्याउन नसक्ने भएपछि ब्याक्टेरियाले ती घुलेका पदार्थलाई खाइदिएर आप्mनो जनसंख्या बढायो भने सोलिड बन्छ । सोलिडलाई पछि थिग्राएर निकाल्न सकिन्छ । फोहोरलाई व्याक्टेरियाले खाइसकेपछि पानी बाक्लो बन्छ ।

आयोजनाका इन्जिनियर ओलीले भने, ‘पानीमा घुलेका नचाहिने पदार्थहरु, प्रदुषित फोहोर ब्याक्टेरियाका लागि खाना हुन्छ । ब्याक्टेरियालाई बचाउन अक्सिजन दिइरहेको हुन्छ । त्यसको लागि ट्याङकीको मुनि फिट गरिएको हुन्छ ।’

त्यसपछि पनि ब्याक्टेरियाले खाएर बनेको बाक्लो पानीलाई फिल्टर गरिन्छ ।

उनले थपे, ‘सफा गरेर पानीलाई फिल्टरमा राखिन्छ । फिल्टर भएर गएको पानी क्लोरिन हालेर खोलामा पठाइदिन्छौ ।’

ग्यासबाट विजुली उत्पादन

पानी प्रशोधनका क्रममा निस्केको मिथेनलाई विजुलीका रुपमा प्रयोग गर्ने गरिएको छ ।

अहिले मिथेन ग्याँसबाट झण्डै ३५० किलोवाट प्रतिघण्टा विजुली उत्पादन हुन्छ । उत्पादन भएको विजुलीले टिट्रमेन्ट प्लान्ट सञ्चालन गर्न लगभग ३० प्रतिशत धानेको आयोजनाका प्रमुख श्रेष्ठले बताए ।

उनी भन्छन्, ‘पहिला १०० प्रतिशत विद्युत राष्ट्रिय प्रशारण लाइनबाट ल्याइन्थ्यो भने अहिले कति उत्पादन हुन्छ त्यहीअनुसार मात्रै लिने गरिएको छ । अरु त हाम्रो टिट्रमेन्ट प्लानको विजुली नै काफी हुन्छ । पछि यसको क्षमता बढ्यो भने विजुलीको क्षमता पनि बढ्छ ।’

ग्यास होल्डरले ग्यास जम्मा गर्ने काम गर्छ । थिग्राइएको लेदोलाई ग्यास होल्डरमा लगेर कुहियाइन्छ । र त्यहीँबाट निस्केको ग्यासलाई जम्मा गरिन्छ । उक्त ग्यासलाई प्रशोधन गरेर इन्जिन जेनेरेटरमा पठाएर बिजुली निकालिन्छ । बढी भएको ग्यास स्प्रे गरेर बगाइन्छ ।

दुर्गन्ध सोस्ने प्रविधि

ढलबाट निस्कने ग्यास र गन्धलाई फैलनबाट रोक्ने प्रविधि पनि छ । अर्डर कन्ट्रोल युनिटले ढलको पानी गन्हाउने भयो भने त्यसलाई हटाउने गरिन्छ ।

शुरुमा प्रशोधन केन्द्रबाट ढलको दुर्गन्ध आएको स्थानीयले गुनासो गरेपछि शुद्धिकरण गर्न थालिएको हो । अब भने गन्ध नआउने केन्द्रको दाबी छ । ढल प्रशोधनबाट निस्किएको मल राखिएको ठाउँमा पनि गन्धन आउने श्रेष्ठ बताउँछन् ।

कुहिएको बस्तुबाट मिथेन ग्यास उत्पन्न हुन्छ । मिडियाहरुमा पानी स्प्रिड गरेपछि गन्ध पानीमा धुलेर जान्छ । त्यसपछि हावा स्वच्छ हुन्छ । यसले वातावरणमा प्रदुषण हुन दिँदैन ।

सबै युनिटहरुमा क्लोथ हुन्छ । जहाँ–जहाँ गन्हाउने सक्ने युनिटहरु हुन्छन्, त्यो सबै बन्द गरेर पाइपहरुमा ग्यास तान्ने गर्दछ । यस्ता प्रशोधन केन्द्र अन्य ठाउँमा पनि बन्दै गरेका त्यसबाट दुर्गन्ध नफैलियोस् भन्न यस्तो गर्नुपर्ने इन्जिनियरहरु बताउँछन् ।

प्रोजेक्ट इन्जिनियर सन्दिप ओली भन्छन्, ‘अरु ठाउँमा पनि यस्तो बन्दै छ । सर्वसाधरणले आलोचना धेरै गर्छन् । यो हाल्यो भने ती कुरामा सन्देश राम्रो जावस भनेर गरेको हो ।’

ढलबाट आउने दुर्गन्ध हटाउन ट्याङकीभित्रै दुईवटा जिआइ पाइप राखिएको छ । त्यसले ढलबाट गन्ध सोस्छ । उक्त पाइपबाट ग्यास पास हुन्छ । यसको काम मुख्यत २ किसिमको युनिट हुन्छ । एउटा फाइबरले अर्डर कन्ट्रोल युनिट गर्न सहयोग पुग्छ । अर्को गन्ध सोस्ने युनिट छ, यसले पाइपबाट पठाइएको दुर्गन्ध हटाउने काम गर्छ ।

कति छ क्षमता ?

अहिले उक्त प्रशोधन केन्द्रमा २ वटा प्लान्टले फोहोर पानी प्रशोधन गरिरहेको छ । शुरुमा बनेको प्लान्टको १ करोड ६२ लाख लिटर क्षमताको छ ।

उपत्यकामा बस्ती बढ्न थालेसँगै ढल पनि बढ्न थाल्यो । एउटा मात्रै ट्रिटमेन्ट प्लान्टले ढल प्रशोधन गरेर धान्न नसकिने भएपछि फेरि १ करोड ६२ लाख लिटर क्षमताको प्लान्ट बनाइएको हो ।

अहिले ३ करोड २४ लाख लिटर दैनिक प्रशोधन भइरहेको छ । अहिले ३ करोड मात्रै क्षमता भएकाले आएको जति ढल फिल्टर गर्न सकिएको छैन ।

मेलम्चीको पानी पनि वितरण भइसकेकोले र जनसंख्या पनि सोही अनुपातमा बढेकाले आयोजनाले अर्को ट्रिटमेन्ट प्लान्ट बनाउने योजना बनाएको छ ।

त्यसका लागि आयोजनाले अहिले प्लान्ट भएकै ठाउँमा बनाउनको लागि ठाउँ छोडेर राखेको छ । फेरि नयाँ प्लान्ट बनाउन सके १ करोड ६२ लाख थपेर ४ करोड ४८ लाख लिटर पानी प्रतिदिन ट्रिटमेन्ट गर्न सफल हुने आयोजनाको दाबी छ ।

आयोजनाका प्रमुख श्रेष्ठ थप्छन्, ‘अब आवश्यकता बढ्यो भने मात्रै बढाउने हो । यहाँको फ्लो बढ्यो भने त्यो बनाइन्छ ।’

१८ वर्षदेखिको योजना

गुहेश्वरीमा सरकारले ढल प्रशोधन केन्द्र बनाउने योजनाअनुसार सन् २००३ मा निर्माण थालिएको थियो । बस्ती बढ्न थालेपछि पुरानो ट्रिटमेन्ट प्लान्टले नधान्ने देखेर नयाँ प्लान्ट बनाउने योजना बनाइयो । सोहीअनुसार सन् २०१६ देखि नयाँ प्रशोधन केन्द्र बनाउन सुरु गरिएको हो ।

यो संरचना एक वर्षअघि नै तयार भइसकेको छ । र प्रशोधनको काम पनि सुरु भइसकेको छ । तर औपचारिक उद्घाटन गर्न बाँकी छ ।

सबै प्रक्रिया पुरा गरेर फिल्टरको भएको पानी खोलामा पठाउनेवित्तिकै फोहोर पानीमा मिसिन जाने भएकाले खोलामा सफा पानी भने देख्न मुस्किल पर्ने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।

‘खोलामा बगेर आएको पानी आफैँ फोहोर छ । यदि खोला पनि पहिले सफा थियो । हामीले ढललाई यहाँबाट सफा बनाएर पठायौं भने पौडी खेल्न पनि मिल्छ,’ उनले भने ।

खोलामा फोहोर गर्ने क्रम नरोकिएको उनले गुनासो गरे ।

उनले भने, ‘खोलामा फालिने फोहोरलाई रोकियो भने कुनै समय खोलामा हामीले ट्रिटमेन्ट गरेकैजस्तो पानी बग्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *