निगमलाई ग्यासले थलायो ! ६ वर्षपछि वार्षिक घाटामा – Nepal Press

निगमलाई ग्यासले थलायो ! ६ वर्षपछि वार्षिक घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेका कम्पनी प्रायः घाटामा चलिरहेका छन् । अपवादका रुपमा नेपाल आयल निगम थियो, जसले २०७१/७२ देखि निरन्तर नाफा कमाइरहेको थियो । त्यो सिलसिला पनि अब तोडिएको छ ।

खाना पकाउने ग्यासको मूल्य समायोजन गर्न नसक्दा निगम पछिल्लो समय घाटामा डुबेको छ । एक वर्षभित्रै १८ चोटि गरिएको मूल्यवृद्धिले पनि निगमलाई उक्साउन सकेन । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम ६ वर्षपछि आव २०७७/७८ मा घाटामा गएको हो । यस आर्थिक वर्षमा निगमलाई करिब ५ अर्ब रूपैयाँ घाटा भएको छ । गत वर्ष निगमले १२ अर्ब ८७ करोड नाफा गरेको थियो ।

निगमले व्यवहोरेको घाटाको मुख्य स्रोत ग्यास नै भएको अधिकारी बताउँछन् । निगमका अनुसार अहिले प्रतिसिलिन्डर ग्यास बिक्री गर्दा ३ सय १९ रूपैयाँ ३२ पैसा घाटा हुन्छ । गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको १८ पटक मूल्य समायोजन हुँदा ग्यासको मूल्य भने दुईपटक मात्रै वृद्धि भएको थियो ।

गत माघ महिनामा ग्यासको मूल्य १ हजार ३७५ बाट बढाएर १ हजार ४ सय रूपैयाँ कायम भएको थियो । त्यसपछि अर्थिक वर्षको अन्तिम महिना असारमा १ हजार ४२५ रूपैयाँ पुर्‍याइएको छ ।

कोरोनाको समयमा आर्थिक क्रियाकलाप कम भएकोले उपभोक्तालाई मार पर्ने भन्दै निगमले ग्यासको मूल्य लामो समय नचलाएको हो । ग्यासको आयात कम गर्ने उद्देश्यका साथ निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय चुल्होलगायत भान्सामा प्रयोग हुने सामानको भन्सार घटाएर २५ प्रतिशतमा झारेका थिए । विस्तारै ग्यासलाई विद्यूतीय चुल्होले प्रतिस्थापन गर्न सकेमा निगमको बोझ कम हुने देखिन्छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्यासमा मूल्य समायोजन गर्न नसकेको करणले नै निगम घाटामा गएको बताए ।

उनले भने, ‘कोरोनाको समयमा ग्यासको मूल्य समायोजन गर्न सकिएन । उपभोक्तालाई राहत दिने भनेर नै ग्यासको मूल्य नबढाइएको हो ।’

पौडेलका अनुसार अहिले निगमले प्रतिसिलिन्डर ४ देखि ५ सय रूपैयाँ घाटा सहेर पनि ग्यास बेचेको छ । कोरोना महामारीका बेला तत्कालीन सरकारले ग्यासको मूल्य नबढाउन निगमलाई दवाव दिएको थिया । गत आवको अन्त्यसमा निगमले प्रतिसिलिन्डर २५ रूपैयाँ मूल्य वृद्धि गरेको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको आयल निगमले बताएको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगमले नोक्सानी भोग्नु परेको हो ।

निगमले हाल १५ दिनको अवधिमा करिब १ अर्ब हाराहारीमा नोक्सान व्यहोरेको छ ।

कुन वर्ष कति नाफा ?

आब २०६५/६६ देखि निगमले निरन्तर ५ वर्ष घाटा व्यहोरेको थियो । आब २०७१/७२ मा आएर निगमले १५ अर्ब ४ करोड नाफा कमायो । यस्तै, आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, आव २०७४/७५ मा ३ अर्ब ५८ करोड, आव २०७५/७६ मा ८ अर्ब ६५ करोड नाफा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर