प्रचण्डको दौडधुप- मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति – Nepal Press

प्रचण्डको दौडधुप- मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषय छलफलमै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मंगलबार बिहानैदेखि राजनीतिक भेटघाटमा सक्रिय भए । विशेषगरी उनले सत्ता गठबन्धनमा आवद्ध नेताहरूसँग छलफल गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार निवास कोटेश्वरमा पुगेका थिए । त्यहाँ उनीहरूबीच करिब पौने घण्टा छलफल भएको थियो ।

प्रचण्ड र माधव नेपालबीचको छलफल चलिरहदा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए । त्यहाँ उनीहरूबीच सरकार सञ्चालन र केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भएको थियो ।

माधव नेपाल र उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

देउवा र प्रचण्डबीच पनि मन्त्रिपरिषद् विस्तार, ओली सरकारले गरेका नियुक्ति खारेजी र न्यूनतम साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच यी तीन कुरामै सहमति भएको छ । मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने र न्यूनतम साझा कार्यक्रम बनाउने सहमतिमा उनीहरू पुगेको बताइएको छ।

ओली सरकारले गरेको नियुक्ति खारेजीको प्रक्रिया भने देउवाले शुरू गरिसकेका छन् । यो बीचमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भइसकेको छ । ११ राजदूत नियुक्ति प्रक्रिया खारेज गरिएको छ । त्यस्तै सुकुम्बासी आयोग पनि खारेज गरिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा भने छलफल भए पनि कुनै सहमति नभएको बताइएको छ । माओवादी केन्द्रले राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरेको छ। देउवाले यो विषयलाई अहिले छलफलमै राख्नु पर्ने बताएका छन् ।

देउवा र कांग्रेस यो विषयमा खासै सकरात्मक नभएको बुझिएको छ । प्रचण्डले तत्कालीन ओली सरकारमा पनि राजनीतिक संयन्त्रको कुरा उठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर