आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति – Nepal Press

आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

रावलको बालुवाटार इन्ट्रीलगत्तै भएको थियो ६ सांसदसहित प्रेम आलेको कोटेश्वर इन्ट्री

काठमाडौं । असार २० गते साँझ एमाले उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार छिरेको खबर फैलिएसँगै पूर्वमन्त्री प्रेम आले आफूसँग नजिक सांसदहरूलाई माधव नेपाल कित्तामा लैजान छलफलमा जुटिसकेका थिए ।

एमाले वरिष्ठ नेता नेपाल र केन्द्रीय सदस्य तथा सांसद आलेको घर कोटेश्वरमा नजिकै छ । ६ महिना नपुग्दै मन्त्रीबाट हटाइएपछि केपी ओलीसँग असन्तुष्ट रहेका आले पछिल्लो समय आफ्नो गृहजिल्ला डोटीका सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठको एक वर्ष म्याद नथपिएपछि अपमानित महसुस गरिरहेका थिए ।

यसरी भयो आलेको कोटेश्वर इन्ट्री

भीम रावलको बालुवाटार इन्ट्रीसँगै प्रेम आलेलाई ओली पक्षबाट एक्जिटको ढोका खुल्यो । प्रचण्ड-माधवनिकट कतिपय माध्यमबाटै भीम रावललाई ओलीले कार्यवाहक अध्यक्ष दिने भनेको देखि भारतीय गुप्तचरसँग मेरियट होटलमा वार्ता गरेपछि रावल फेरिएको हल्ला चलाइयो ।

बालुवाटारमा ओलीसँग भेटेपछि रावल वार्ता कार्यदलको संयोजकको रूपमा एमाले मिलाउने वार्तामा जुटे । उता आलेको इन्ट्री माधव नेपाल निवासमा भयो । नवौं महाधिवेशन माधव प्यानलबाटै वैकल्पिक केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावमा रावलले टिकट नदिने भएपछि मात्र ओली पक्षमा लागेका थिए ।

उनका लागि माधव नेपाल गुट नयाँ थिएन । भीम रावलबाट पनि धोखा हुन लागेको महसुस गरिरहेका बेला माधव नेपालले प्रेम आलेको प्रस्ताव सुने । जसले गर्दा उनलाई ढाडस मिल्यो ।

आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

चरणबद्ध भेटघाटमा आलेले माधव नेपाललाई सोधे- ‘भीम रावलसँग कति सांसद छन् ? बडा रावल र छोटा रावल (भीम र झपट) मात्र होइन ? म तपाईंलाई ६ देखि १० जना सांसद ल्याइदिन्छु । हिजो पनि रावलहरूका कारण मैले तपाईंलाई छाडेको हुँ, आज तिनीहरूले धोखा दिँदैछन्, म तपाईंलाई साथ दिन्छु ।’

आलेले विगतमा माधव नेपालनिकटका सांसदहरू बिना बुढाथोकी, यज्ञ बोगटी, गोपाल बम, पार्वती विसुंखे, गणेश पहाडीहरूलाई ओली पक्षमा लगेको भन्दै अब फेरि त्यति नै संख्या नेपाल पक्षमा ल्याइदिने बताए ।

यसबीचमा कार्यदलमा रहेका नेताहरूबाट माधव नेपालले अपेक्षित सहयोग पाइरहेका थिएनन् । भीम रावलले मुखै फोरेर शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने बताइसकेका थिए । १० बुँदे सहमति माधव नेपाललाई चित्त बुझेको थिएन तर कार्यदलमा रहेका नेताहरूले त्यसलाई मान्न दबाब दिए ।

यसरी एकपछि अर्को भरोसा आफ्ना दोस्रो तहका नेताहरूबाट टुट्दै गएका बेला नेपाललाई प्रेम आलेले ‘तपाईंलाई जति जनाले धोखा दिन्छन्, त्यसको क्षतिपूर्ति म दिलाउँछु’ भन्दै सांसदहरू लगेर भेटाउन थाले । आलेले अझै १० जना सांसद ओली पक्षबाट माधव पक्षमा ल्याइदिने वचन समेत दिएको नेपालनिकट एक एमाले नेताले बताए ।

कसलाई आफ्नो भनूँ ?

विश्वासको मत साउन ३ को पहिलो बैठकमै लिने कुनै तयारी थिएन । तर, साउन २ गते गठबन्धनका शीर्ष नेताहरूबीच गोप्य बैठक भयो । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका वार्ता टोलीका नेताहरूले संस्थागत निर्णयबाट मात्र विश्वासको मतबारे टुंगो लगाउनुपर्ने बताउनु र केपी ओलीको बहुमत रहेको कमिटीबाट त्यो निर्णय नहुने बुझेका नेपालले भीम रावलभन्दा प्रेम आलेको भरोसा गर्नुपर्ने अवस्था आइपुग्यो ।

वार्ता टोलीमा रहेकासहित १० जना जति आफूनिकट सांसदले धोखा दिन सक्ने हिसाब नेपालले गठबन्धनका नेताहरूलाई सुनाए । तर, त्यसको क्षतिपूर्ति अर्कोतिरबाट हुने जानकारी पनि उनले गराइसकेका थिए । त्यसो त माधव पक्षका अदालतमा गएका २३ मध्ये १२/१३ जनाले मत दिए पनि पुग्ने अवस्था थियो ।

तर, त्यसबीचमा वामदेव गौतमले पनि माधव नेपाललाई अप्रत्यक्ष साथ दिए । किसान श्रेष्ठले अप्रत्याशित रूपमा माधव नेपाललाई साथ दिए । प्रेम आलेले वचन पूरा गरेर सांसदको संख्या जुटाइदिएपछि माधव नेपाल ढुक्क भए र साउन ३ मै विश्वासको मत लिने निर्णयमा प्रधानमन्त्री पुगे ।

कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

बिहान एकाएक विश्वासको मत आजै लिने चर्चा चलेपछि एमाले वार्ता टोलीको दुवै पक्षका नेता माधव नेपाल निवास कोटेश्वर पुगे । उनीहरूले नेपाललाई १० बुँदे कार्यन्वयन गर्न र विश्वासको मत नदिन आग्रह गरे । तर, नेपालले आफू एक्लै भने पनि देउवालाई विश्वासको मत दिने अडान लिए ।

भीम रावल र माधव नेपालबीच भनाभन जस्तै पर्‍यो । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरूले पनि एकाएक आजै विश्वासको मत लिनुको पछाडि एमाले फुटाउने षड्यन्त्र रहेको भन्दै नेपाललाई त्यसमा नफस्न आग्रह गरे । तर, माधव नेपाल निकै अघि बढिसकेका थिए ।

उनले आफ्नो बहुमत नरहेको र केपी ओलीले जम्मा पारेको कमिटीको निर्णय आफूले नमान्ने भन्दै १० बुँदे सहमतिमा समर्थन नरहेको बताए । त्यसो त १० बुँदे सहमतिप्रति नेपालको असन्तुष्टि रहेको र आफू ओली बराबर हस्ताक्षरसहितको दोस्रो अध्यक्ष हुनुपर्ने सर्त राखेको कुरा यसअघि नै बाहिर आइसकेको थियो ।

कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

वास्तवमा माधव नेपाललाई उनले भरोसा गरेका दोस्रो तहका नेताहरूले अन्तिम क्षणमा साथ नदिएकोमा साह्रै चित्त दुःखेको छ । उनले आफूलाई भेट्न जाने नेता कार्यकर्तासँग नामै लिएर दाहिने र देब्रे हात भनिएकाहरूले धोखा दिएको बताउने गरेका छन् । तर, त्यो धोखाको घडीमा प्रेम आलेले नेपाललाई काँध थापेको उनी आलेप्रति कृतज्ञ बनेका छन् ।

माधव नेपालसँगै अदालतमा गएका २३ मध्ये ७जनाले विश्वासको मत नदिए पनि प्रेम आलेसहित ८ जना थपिएको भन्दै नेपालका एक निकट सहयोगीले आफ्नाबाट भएको क्षर्ति आलेबाट पूर्ति भएको टिप्पणी गरे ।

आलेसँग गएका सांसदहरूलाई पालैपालो मन्त्री बनाउने सम्भावना रहेको छ । पहिलो चरणमा माधव नेपालले ओली समूहबाट गएकामध्ये प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने बताइएको छ । आलेले पर्यटन मन्त्रालय पाउने सम्भावना छ ।

यद्यपि आलेले भने नेपाल प्रेससँग कुरा गर्दा आफूले मन्त्रीका लागि माधव नेपाललाई साथ दिएको नभइ रावलहरूले धोखा दिएकाले विगतमा पनि माधव नेपालकै टिमको एउटा सदस्यका रूपमा साथ दिएको बताए । उनले अदालतसम्म माधव नेपालसँग गएर विश्वासको मत दिने बेला भाग्नेहरू दोगला चरित्रका व्यक्ति भएको भन्दै निर्णायक बेलामा आफू उभिएको बताए ।

आलेले भने, ‘म त दुईपटक वनमन्त्री भइसकेँ, अब मन्त्री पाउँछु भनेर लागेको होइन । यस्तो हल्ला ती व्यक्तिले गर्दैछन् जो हिजो सधैँभरी पार्टी र सरकारको विरुद्ध लागे । मुद्दासमेत लिएर अदालत गए अहिले जितेपछि अदालतको अवहेलना गरेर मैदान छाडेर भागेका छन् । हिम्मत भए कि पक्षमा कि पार्टीको निर्णय अनुसार विपक्षमा मतदान गर्न सक्नुपर्थ्यो ।’

आलेले नेम्वाङलाइ भनेका थिए- अर्को मान्छे खोज्नु

२०७४ को चुनावअघि ओलीसँग नजिकिएका आलेले त्यसपछि माधव नेपाल गुट छाडेका थिए । रावलहरूका कारण आफूले ओली गुट रोजेको उनले बताउने गरेका थिए । सुदूरपश्चिममा ओलीलाई बलियो बनाउन आलेले आफ्नो ठाउँबाट सक्नेजति सबै गरेका पनि हुन् ।

राजनीतिक रूपमा रावल नेता भए पनि मान्छे तान्ने र व्यवस्थापन गर्नेमा आले अगाडि छन् । उनले कतिपय सांसदहरूलाई पनि आर्थिक सहयोग गर्ने गरेका छन् । बालुवाटारमा राति २ बजेसम्म पनि सांसद र केन्द्रीय सदस्यहरूलाई लगेर आलेले बैठक गराउँथे ।

आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

मन्त्रीबाट हटेकोमा असन्तुष्ट भए पनि आलेले गुट परिवर्तन गर्ने सोचेका थिएनन् नेताहरूले । हट्नु पर्दाको असन्तुष्टि त सबैमा छ भनेर सामान्यीकरण गरियो । तर, आले भित्रभित्रै सांसदहरूसँग छलफलमा जुटिसकेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि उनले कम्तीमा ६ जना सांसदको समर्थन माधव नेपाललाई जुटाएपछि शुरूमा नपत्याएका माधव पछि ढुक्क भए ।

यसबीचमा आले रिसाउने अर्को प्रकरण सशस्त्र प्रहरीका एक डीआईजी भए । सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन् । उनले आलेबाट ठूलो भरोसा गरेका थिए । उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए ।

उनले यो कुरा प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए ।

गृहमन्त्री खगराज अधिकारी थिए । तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्‍मा पुगेर पनि भएन । त्यसपछि उनी झनै रुष्ट भए । प्रवीण श्रेष्ठ अहिले सर्वोच्च अदालत गएका छन् भने आले सत्तारुढ गठबन्धनमा पुगेका छन् यही प्रकरणपछि ।

त्यसपछि आलेले माधव नेपाललाई भेटेर भनेका थिए- ‘जति सांसद ओली पक्षमा लगेको थिएँ, त्यति नै सांसद लिएर आउँछु । शुरूमा माधव नेपालले पत्याएका थिएनन् तर आलेले प्रमाणित गरिदिए ।’

प्रेम आले रुष्ट भएको थाहा पाएका विष्णु पौडेलले उनलाई सम्झाउन खोजेका थिए । तर, आले निकै पर पुगिसकेका थिए । एक दिन पौडेलले फोन गरेर सोधे- आलेजी कहाँ हुनुहुन्छ ? आलेले जवाफ दिए- म त सडकमा छु । पौडेलले फेरि भने- हामी पनि त सडकमै छौं नि आउनुस् कुरा गरौं । तर आले बिरामी छु भन्दै गएनन् ।

आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

आले जसरी पहिले भीम रावलसँग नमिलेर ओली गुटमा लागेका थिए । पछिल्लो समय लेखराज भट्ट, कर्ण थापा र निरु पालहरूसँग मिलेनन् । आफूलाई हटाएर नारदमुनी रानालाई आफ्नै मन्त्रालय दिएपछि आलेले ओलीलाई छाड्ने निर्णय गरिसकेका थिए, तर रावलहरूका कारण मात्र रोकिएका उनले बताउने गरेका थिए ।

त्यसो त आलेसहितले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि झपट रावल ‘प्रतिगामीहरू हिजो केपी ओलीको विघटनमा साथ दिए र आज केपी कमजोर भएपछि फेरि विश्वासको मत दिने भन्दैछन्’ भन्दै राजनीतिको यस्तो अनैतिक खेलमा नलाग्ने भन्दै मतदानमा भाग नलिइ बाहिरिएिका थिए ।

परिस्थिति अन्तिममा यस्तो भयो, संसद जोगाउन भन्दै गठबन्धन बनाउने र अदालतमा जाने भीम रावलले राजीनामा दिए । संसदको स्थायित्वका लागि मुद्दा लड्ने झपट रावल अन्तिममा आफूले मुद्दा लडेर ब्युँताएको संसद र समर्थन गरेको प्रधानमन्त्रीको पक्षमा मत नदिइ संसदबाट बाहिरिए । तर, संसद विघटनको सिफारिस गर्ने मन्त्रिपरिषदका सदस्य आले रावलहरूको ठाउँमा पुगे ।

मन्त्री हुँदाका असन्तुष्टी

नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

त्यसबेला अरु कसैले आफू छाड्न तयार छु भएनन् तर आलेले भन्दा तत्कालीन प्रधानमन्त्री ओली शन्तुष्ट भएका थिए । आले मन्त्री भएपछि लगातार अभिव्यक्तिका कारण विवादमा परे । पछिल्लोपटक अक्सिजन सिलिण्डरमा फोटो राखेर निर्वाचन क्षेत्रमा पठाएको प्रकरण निकै विवादित बन्यो ।

आलेले आफ्नो जिल्लामा अक्सिजन पठाउन तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग धेरै आग्रह गरेका थिए । तर, सहयोग नपाएपछि उनी आफैंले किनेर अक्सिजन सिलिण्डर पठाए । कार्यकर्ताले त्यसमा फोटो टाँसे । आलेले व्यक्तिगत रूपमा किनेर पठाएको सिलिण्डरमा कार्यकर्ताले फोटो टाँस्नु स्वभाविक थियो ।

त्यही प्रकरण एक दिन मन्त्रिपरिषद् बैठकमा उठ्यो । स्वास्थ्यमन्त्रीले सहयोग नगरेपछि आफूले व्यक्तिगतरूपमा किनेर पठाएको आलेले बताए । प्रधानमन्त्री ओलीले ‘अक्सिजन सिलिण्डर मन्त्रीले बोक्ने होइन’ भनेपछि आलेले ‘त्यसो भए म मेरा जनतालाई मर्न दिउँ ? ’ भनेर जवाफ फर्काएका थिए ।

मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

त्यसो त आले प्रकृति संरक्षण कोषको अध्यक्षमा योजना आयोगका सदस्य प्रधानमन्त्रीका काका पर्ने कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएकोमा पनि असन्तुष्ट थिए । यसअघि वन तथा वातावरण मन्त्री कोषको अध्यक्ष हुने प्रावधान रहे पनि आफ्नो पालामा ओलीलाई नियुक्त गरेकोमा उनको भित्रभित्रै चित्त दुःखेको निकटस्थहरूलाई सुनाएका थिए ।

बजेटमा आफूलाई र वन मन्त्रालयलाई नसोधी ढुंगा गिट्टी निकासी गर्ने कुरा राखेकोमा पनि उनी असन्तुष्ट थिए । त्यसको पक्षमा बोल्न भने पनि उनले बोल्न मानेन् । पछिल्लोपटक नेपाल वन निगम लिमिटेडको कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट ७४ नम्बर ल्याएका पंकज दासलाई नियुक्त नगरी ४९ नम्बर ल्याएका रामेश्वर भट्टराईलाई नियुक्त गरिएकोमा पनि उनी असहमत थिए ।

मन्त्री हुँदाको सन्दर्भमा उनले औपचारिक टिप्पणी गर्न चाहेनन् । तर यति चाहिँ भने–जुन क्याबिनेटमा प्रधानमन्त्रीबाट पूर्ण रुपमा साथ,सहयोग र स्वतन्त्रता प्राप्त हुन्न त्यस्तोमा मन्त्री नहुनू राम्रो । म अब मन्त्री बन्नेहरुलाई पनि त्यहि सुझाव दिन्छु ।

आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

हुन त भीम रावलहरूले माधव नेपालको साथ छाडेका छैनन् र छाड्ने अवस्था पनि देखिन्न । पार्टी एकताको लागि उनीहरू एक कदम पछि हटेका छन् । तर, आलेले भने यही मौकामा आफ्नो स्थान माधव नेपाल क्याम्पमा सुरक्षित गरेका छन् ।


प्रतिक्रिया

One thought on “आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर