बकर इदमा घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगको आग्रह – Nepal Press

बकर इदमा घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगको आग्रह

रूपन्देही । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घर–घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताएका छन् ।

वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भए पनि देशवासीको स्वास्थ्य सुरक्षाका लागि यो कदम चालिएको अन्सारीले बताए । मुस्लिम धर्मावलम्वीको मुख्य पर्व बकर इद बुधबार परेको छ ।

विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भए पनि यो वर्ष भने सुनसान हुनेछ ।

इदका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्वानी (बली) दिने गर्दछन् ।

बकर इदमा लुम्बिनी प्रदेशमा विभिन्न जिल्ला प्रशासनले घरमै नमाज पढेर संक्रमणबाट जोगिन आग्रह गरेका छन् । मुस्लिम धर्मावलम्बी धेरै रहेको बाँके, कपिलवस्तु, रूपन्देहीलगायतका जिल्लामा प्रशासनले कडाइ गर्दै भिडभाड नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *