पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी – Nepal Press

पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा स्थानीयले वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

आफूहरूसँग समन्वयनै नगरी पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै स्थानीयले वडाध्यक्ष दानसिंह जोगीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले नाराबाजी समेत गरेका थिए । स्थानीयले ‘वडाध्यक्ष मुर्दावाद’, ‘जनतामाथि हस्तक्षेप गर्न पाइँदैन’ , ‘हाम्रो सर्त पुरा गर’ लगायतका नारा लगाएका थिए ।

दशरथ प्राथमिक विद्यालयमा स्थानीयको समन्वय बिना प्राविधिक बिद्यालय ल्याएको भन्दै उनीहरुले विरोध जनाउँदै आएका थिए । उक्त बिषयमा वडाध्यक्षले चासो नदिएपछि तालाबन्दी गरिएको हो ।

घोडाघोडी नगरपालिकाको समायोजन प्रक्रियामा परेपछि उक्त बिद्यालय भवन खाली भएको थियो । त्यहाँ रहेका बिद्यार्थि तथा शिक्षकहरूलाई वडा नम्बर १० मा रहेको अमर सहिद माविमा समायोजन गरिएको थियो ।

वडाध्यक्षले स्थानीयको समन्वयमा बिना नै वडा नम्बर १० वडा पहलमानपुरमा रहेको पहलमानसिंह मेमोरियल प्राविधिक बिद्यालय ल्याएको भन्दै विरोध गरेको पहिचान युवा क्लबका अध्यक्ष ठागुराम कठरियाले बताए । उनले माग पुरा नहुँदा सम्म तालाबन्दी कायमै रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *