निष्ठावान् कांग्रेस कार्यकर्ता थिचोमिचोमा परेको पौडेलको दावी, आन्दोलनमा ऐक्यवद्धता – Nepal Press

निष्ठावान् कांग्रेस कार्यकर्ता थिचोमिचोमा परेको पौडेलको दावी, आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका लागि पार्टीभित्र भइरहेका आन्दोलनप्रति समर्थन जनाएका छन् ।

देशभर निष्ठावान कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले पार्टी कार्यालय सानेपामा भएका ‘अनसन’ प्रति आफ्नो ऐक्यबद्धता रहेको जनाए । नेता पौडेलले सानेपा पुगेर क्रियाशील सदस्यताबारे अनसन बसेका नेता कार्यकर्ताको आन्दोलनमा समर्थनसमेत जनाएका छन् ।

‘देशभरीका कांग्रेसजनआज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिदैछ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यवद्धता छ’, पार्टी कार्यालयमा भइरहेका आन्दोलनमा समर्थन जनाउन सानेपा पुगेका पौडेलले नेपाल प्रेससँग भने ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टी जनाउँदै धर्ना दिइरहेका छन् । धनुषाका कांग्रेस नेता पूर्व सांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक आमरण अनसनमा बसेका छन् । त्यस्तै बारा, सर्लाही, मकवानपुर लगायत जिल्लाका कांग्रेस कार्यकर्ताहरु पनि सानेपामा धर्नामा रहेका छन् ।

उनीहरूले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण भएको, विधान र निर्देशिका उल्लंघन गरिएको लगायतका आरोप लगाउँदै आएका छन् । कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले विवाद निरुपणको जिम्मा पाएपनि अहिलेसम्म टुंग्याउन सकेको छैन ।

महामन्त्री डा. शशांक कोइरालाको निवासमा संस्थापनइतर समूहका नेताहरुसँग छलफल सकिएलगत्तै पौडेल सानेपा पुगेर कार्यकर्ताको आन्दोलनमा सहभागी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर