‘एमालेविरुद्ध ग्राण्ड डिजाइन शुरु भयो, ओलीले अहंकार र नेपालले कुण्ठा त्याग्नुपर्छ’ – Nepal Press
नेपाल टक

‘एमालेविरुद्ध ग्राण्ड डिजाइन शुरु भयो, ओलीले अहंकार र नेपालले कुण्ठा त्याग्नुपर्छ’

अब एमालेमा एकताको अध्याय शुरु हुन्छ, दश बुँदे सम्झौताबाटै पार्टी अघि बढ्छ

काठमाडौं । योगेश भट्टराई पछिल्लो समय एमालेभित्रको राजनीतिमा एक प्रकारले तटस्थ छन् । यद्यपी उनी माधव नेपाल समूहका आन्तरिक बैठकहरुमा सहभागी भइरहेकै छन् । पार्टी एकताको लागि भनेर शेरवहादुर देउवलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर पनि नगरेका भट्टराई आइतवार विश्वासको मत दिने बेला संसद छाडेर हिँडे । माधव नेपालसहितको छलफलमा एकमत हुन नसकेपछि यसअघि वार्ता कार्यदलमा रहेकासहित १० जना एमाले सांसद कतै मत नदिने भनी हिँडेका थिए ।
कतै पनि भोट नहाल्नुको कारण के हो ? भट्टराईसँगै नेपाल प्रेसले गरेको संक्षिप्त प्रश्नोत्तर,नेपाल टकमा ।

संसदमा ‘नो भोट’को व्यवस्था हुँदाहुँदै तपाईंहरु बाहिरिनु भयो । माधव नेपाललाई ‘कन्भिन्स’ गर्न नसकेर हो ?

केपी ओलीलाई कन्भिन्स गर्न नसकेर हो ।

यसमा केपी ओलीको कुरा कसरी आयो ?

पहिलो कुरा, पार्टी अध्यक्षले यस विषयमा छलफल नै गर्नु भएन । पार्टीको आधिकारिक मञ्चमा यस विषयमा छलफल नै भएन । यदि आधिकारिक मञ्चमा हामी सबैको उपस्थिति भएको भए पार्टी एक धारणामा जानसक्थ्यो, जान्थ्यो।

दोस्रो, अहिलेको अवस्थामा नेकपा (एमाले)को एकतालाई बचाउन र नेकपा एमाले एकै ठाउँमा बस्ने स्थिति उत्पन्न भएको सन्दर्भमा एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने सन्दर्भमा सत्तापक्षलाई मतदान गर्न हुँदैनथ्यो । स्वभाविक रुपमा एमाले प्रतिपक्षमा बस्थ्यो ।

अर्को विकल्प एमालेसँग एउटा जिम्मेवार प्रतिपक्षका रुपमा शेरबहादुर देउवाका काम, कारबाहीलाई हेर्ने एउटा मौका पनि थियो । फ्लोरबाट सर्मथन गरेर प्रतिपक्षमा पनि बस्न सक्थ्यो । यसले पार्टी अझै एकतावद्ध हुन्थ्यो । एक ठाउँमा उभिन सकिन्थ्यो ।

यी विभिन्न विकल्पमा अध्यक्षले छलफल नै गर्न चाहनु भएन । र, अहिलेको अवस्थामा एमालेको एकतालाई रक्षा गर्नुपर्ने प्रमुख दायित्व पनि भएको हुनाले र पार्टी भित्र एक मत बन्न नसकेको अवस्थामा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सक्ने अवस्था भएन । यसले पार्टी एकतालाई झन कमजोर गर्ने र पार्टी भित्रको एकताको परिस्थिति झन कमजोर गर्ने अवस्था आउथ्यो ।

त्यसकारण पार्टी एकताको महत्वलाई ध्यान दिँदै पार्टी एकता चाहिँ संवादहीनताको अवस्थामा नहोस् । कुनै न कुनै नेतृत्वको एउटा पंक्तिबाट संवादलाई निरन्तरता दिन सकियोस् भनेर हामी केही साथीहरुले मतदानमा भाग नलिने निर्णय गरेका हौं ।

पार्टीले विपक्षमा जाने भनेर निर्णय गरेको थियो, त्यो निर्णयमा गएको भए पनि हुन्थ्यो नि ?

त्यसमा जान पनि त उहाँले छलफल गर्नुपर्‍यो नि ! उहाँले छलफल नै गर्न चाहनु भएन ।

विपक्षमा मतदान गर्न माधव नेपाललाई ‘कन्भिन्स’ गर्न सक्नु भएन ?

महन्थ ठाकुर पक्षले समेत देउवालाई मतदान गर्ने भनिसकेपछि माधव नेपाललाई पनि हामीले आफ्नो निर्णय पुर्नविचार गर्न भन्यौं । उहाँ त्यसमा तयार हुनु भएन । र, त्यो कुरा केपी ओलीको तर्फबाट माधव नेपाललाई प्रस्ताव पनि भएन । लचकताका साथ अध्यक्षको प्रस्ताव जानुपर्थ्याे यस्तो बेलामा ।

अध्यक्ष अलिकति लचक भएर संसद जोगाउने तपाईंहरुको उदेश्य हो, संसद जोगिइ हाल्यो, यस्तो बेलामा हामी एक ठाउँमा बसौं । तपाईं हामी विपक्षमा उभिउँ भन्ने प्रस्ताव राख्न सक्नुहुन्थ्यो नि !

यसले अब पार्टी एकतामा सहज अवस्था आउला त ?

पार्टी एकताको विकल्प छैन् । आज (आइतवार राति)को घटनाबाट एउटा अध्याय सिद्धिएको छ एमालेभित्र । अब नयाँ अध्याय शुरु हुन्छ । त्यो नयाँ अध्याय एकताको हुन्छ । र, त्यो एकताको अध्यायमा अध्यक्ष ओलीले आफ्नो अहंकारलाई त्याग्नुपर्छ । बरिष्ठ नेता नेपालले पनि आफ्नो कुन्ठालाई त्याग्नुपर्छ । अध्यक्षले अब आफूलाई जमिनमा उभ्याउनुपर्‍याे ।

यथार्थ स्थिति के हो, त्यसलाई समीक्षा गरेर कार्यदलबाट प्रस्ताव गरेको १० बुँदे सहमतिलाई सामूहिक निर्णयको माध्यमबाट कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुपर्‍याे ।

१० बुँदेको अपनत्व लियौं भनेर अस्तिको बैठकमा अध्यक्ष ओलीले भन्नु भएको छ । तर, माधव नेपालले चाहिँ त्यसमा सहमति जनाउनु भएन भनेर कार्यदलका दुई जना नेताहरुले भन्न्नुभयो नि ?

कार्यदलमा जे सहमति भएको थियो, त्यो सहमति अनुसार कार्यान्वयन भएको होइन त्यो । कार्यदलको सहमति अब यो १० बुँदेलाई पार्टी स्थायी कमिटीको संयुक्त बैठकबाट अपनत्व लिने हो । पार्टी स्थायी कमिटीमा माधव नेपाल र उहाँका मानिसहरुको अनुपस्थितिमै गर्ने भनिएको होइन् । सबैको उपस्थितिमा त्यसको अपनत्व लिने भनिएको हो । त्यो वातावरण अध्यक्षले बनाउनुपथ्र्यो, बनाउनु भएन । त्यो वातावरण बनाउन माधव नेपालले पनि ‘प्रो एक्टिभ’ भूमिका खेल्नुपथ्र्यो । उहाँले पनि त्यो भूमिका खेल्नु भएन ।

१० बुँदेमा माधव नेपालको असमति होइन ?

असहमति हुनै सक्दैन त्यसमा । उहाँले खटाएका प्रतिनिधिले गरेको सहमतिमा उहाँको कसरी असहमति हुन सक्छ ? त्यसको कार्यान्वयन प्रक्रियामा उहाँको असहमति हो । कार्यान्वयन प्रक्रियामा सँगै बसेर निर्णय गर्नुपर्थ्याे भन्ने कुरा हो । अब नयाँ एकताको ढोका खोल्नुपर्छ एमालेमा । एमालेलाई एक्ल्याउने एउटा ग्रान्ड डिजाइन शुरु भएको जस्तो देखिन्छ । केपी कमरेडको अहंकारले पनि त्यसलाई थेग्न सक्दैन । राष्ट्रिय राजनीतिबाट एमाले अलग हुनुहुँदैन । किनारामा जानुहुँदैन ।

देउवालाई विश्वासको मत दिनेहरुलाई पनि समेटेर लानुपर्‍यो ?

विश्वासको मत दिने, नदिने सन्दर्भमा सर्वोच्च अदालतले सबैलाई विवेक प्रयोग गर्न स्वतन्त्रता दिएको थियो । मान्छेले आफ्नो मत जाहेर गरे । मेरो भनाइ त्यस्तो गर्नुहुँदैनथ्यो भन्ने हो । त्यसमा अध्यक्षको पहल नभएपछि त्यो अध्याय सकियो । अब नयाँ अध्यायबाट शुरु गर्नुपर्छ ।


प्रतिक्रिया

4 thoughts on “‘एमालेविरुद्ध ग्राण्ड डिजाइन शुरु भयो, ओलीले अहंकार र नेपालले कुण्ठा त्याग्नुपर्छ’

  1. तपाईंहरुको उदेश्य संसद जोगाउने मात्र थियो भने ओली लाई वैशाख २७ मा विश्वाशको मत दिएको भए संसद जोगिने थियो त |
    आहिले आएर नाटक धेरै गर्नु पर्दैन जनता ले सबै बुजेका छन ||

  2. अझैपनि योगेशहरू माधवलाई जोगाउन केपी ओलीलाई दोष देखाउने प्रयत्न गर्दैछन्। बैशाख २७ गते विश्वासको मत दिएको भए आजको स्थिति आउने नै थिएन। देउवालाई प्रम बनाउन अनेक बाहानबाजीमात्र भएन आत्मघाती खेल पनि भए। प्रचण्डसँग मिलेर ओलीलाई सिध्याउँछु भन्दा आजको स्थिति बनेको हो। ओलीले भनेकै थिए, मलाई पाँच वर्ष प्रम बन्न देउ र महाधिवेशनपछि अध्यक्ष छोड्छु। अहिले पानीमाथिको ओभानो बन्ने

  3. योगेश जि ढुलमुले प्रबृती बाट कहि पुगिदैन।पार्टिको उच्चतम पुगेको प्रधानमन्त्री चलाइसकेको ब्यक्तिले अदालतले भन्यो भन्दैमा पार्टिको निर्देशन वा भनौ नैतिकता पार्टी प्रतिको निश्ठा प्रतिको बैरभाव साध्ने किसिमले मनोपोली गर्न मिल्छ?तपाइहरुले सन्सद र सम्बिधान बचाउने नाममा देउबालाइ मत दियको जिकिर गर्नु हुन्छ।पार्टी अध्यक्ष ले बिश्वाशको मय माग्दा किन बहिस्कार गरेर हिड्नु भयो?केवल अध्यक्ष प्रतिको कुण्ठा र बैरभाबले काम गरेको बुझिदैन र?यदि तपाइको गुट्ले काङ्रेसलाइ भोट हाल्ने हो भने कार्यकर्तालाइ आफ्नै पार्टिलाइ भोट हाल भनेर कसरी निर्देशन गर्नु सक्नु हुन्छ?तपाइको गुटले काङ्ग्रेस लाई भोट हालिरहदा कार्यकर्ताले काङ्ग्रेस राप्रपा तथ अन्य पार्टिलाइ भोट हाले भने के गर्नु हुन्छ?अराजकता बाहेक केही भेट्नु हुने छैन।चेतना जागोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर