कैलालीका ९ प्रहरी कारबाहीमा, १० लाई सम्मान – Nepal Press

कैलालीका ९ प्रहरी कारबाहीमा, १० लाई सम्मान

कैलाली । कैलालीमा पछिल्लो १९ दिनमा ९ प्रहरीमाथि कारवाही भएको छ ।

असार १६ गते कैलालीमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक विश्व अधिकारीले आचारसंहिता विरुद्धका गतिविधिहरू गर्ने ९ जना र उत्कृष्ट काम गर्ने १० जनालाई सम्मान गरेका हुन् ।

कारबाहीमा पर्नेमा अधिकांश डिउटीको समयमा मदिरा सेवन गर्नेहरु रहेको प्रहरी स्रोतले बताएको छ ।

‘उनीहरूलाई तत्कालको लागि चेतावनी दिइएको हो । यसपछि पनि थप लापरबाही भए कडा कारबाही हुन्छ’ एक प्रहरी अधिकारीले भने ‘प्रहरी प्रमुखले अहिले प्रहरीसेवालाई थप जिम्मेवार बनाउन खोज्नु भएको छ ।’

कारबाहीमा पर्नेमा असई हवलदार र सिपाही छन् । ५ जना कारबाहीमा परेका र अन्य ४ जना कारबाहीको प्रक्रियामा रहेको प्रहरी स्रोतले बतायो ।

राम्रो काम गरेका १० प्रहरी जवान सम्मानित भएका छन् । तीमध्ये ८ जना टीकापुरमा बालक हत्याको घटना अनुसन्धानमा खटिएका थिए ।
‘हाम्रो प्रहरीसँग हामी’

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लामा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्ने भएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्न लागेको बताए ।

धनगढीमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइतबार प्रहरी उपरीक्षक अधिकारीले आफ्नो अभियानबारे जानकारी दिएका थिए ।

‘हामी अब फरक फरक बिधाका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाउन लाग्छौँ’ उनले भने ‘त्यो अभियानको सुरु आजबाट भएको छ ।’

उनले कैलालीमा पछिल्लो समय लागूपदार्थको दुव्र्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियानसमेत सुरु गर्न लागेको बताए ।

कैलाली प्रहरीले अब लागूपदार्थ सेवन गर्ने र कारोबार गर्नेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उनले दाबी गरे । उनले प्रहरी सेवा लिन आउनेहरूको अभिलेखीकरण समेत राख्ने बताए ।

‘प्रहरीमा सेवा लिन आउनेहरूको तथ्याङ्क राख्ने व्यवस्थासमेत गरेका छौँ’ उनले भने, ‘यसबाट नागरिक कति सन्तुष्ट छन् भन्ने थाहा हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *