गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड – Nepal Press

गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड

यस्तो दुरदशा यति छिट्टै देख्नुपर्छ भन्ने लागेको भए एकताको प्रस्ताव लैजान्थे होला ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै प्रधानमन्त्रीले छोटो समयमा दुई-दुई पटक संसद विघटन गरेको नेपाली इतिहास नभएको बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै प्रचण्डले दलभित्रको आन्तरिक झगडाका कारण संसदलाई ‘भिक्टिम’ बनाउन नपानइने बताए।

‘पाँच वर्ष नपुग्दै दुई-दुई पटक विघटन र अदालतबाट पुर्नस्थापित भएको अनुभव नेपालको इतिहासमा थिएन,’ प्रचण्डले भने, ‘दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नै दल विभाजन गर्ने काम इतिहासमा पहिलो चोटी हो ।’

आफू नै पार्टी एकताको प्रस्तावक भएको भन्दै उनले अहिले संसदमा यस्तो यस्तो कुरा आफैंलाई दुःख लागेको उनको भनाइ थियो । ‘यस्तो दुरदशा यति छिटो देख्नुपर्छ भन्ने लागेको भए मैले किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला ?,’ प्रचण्डले भने, ‘किन गठबन्धनको प्रस्ताव लैजान्थे होला ।’

प्रचण्डले सपथ ग्रहणमा नगएकोबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भिन्न मतलाई स्वीकार नगर्ने स्वभाव देखिएको आरोप लगाए ।

सदनमा ओलीको अनुपस्थितिबारे पनि प्रचण्डले टिप्पणी गरे । ‘यो सदनले पनि केपी जीको मुखबाटै कुरा सुन्न चाहेको थियो,’ उनले भने, ‘देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भन्ने कुरा सुन्न चाहेको थियो । यो मलाई स्वभाविक लागेको छैन् । यो अस्वभाविक र अलोकतान्त्रिक पनि हो ।’

ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएको भन्दै उनले अब उनका कुरा नपत्याइने बताए।

‘हामी केपीजीको दम्भ, अहंकार र अत्याचारको जाँतोमा नपिसिएको हुन्थ्यो भने उहाँले भनेको पनि केही हो कि जस्तो लाग्थ्यो,’ उनले भने, ‘भन्ने एउटा, गर्ने अर्को । गोहीको आँसु चुहाएर कसैले पत्याउँछ तपाईंलाई ?’

पार्टीभित्रको विवादका कारण संसदलाई शिकार बनाउन नपाउने उनको भनाइ छ । ‘पहिलो चोटी संसद विघटन गर्दा केपी जीले भनेको कुरा के थियो भने पार्टीभित्र काम गर्न दिएन त्यसैले संसद विघटन गरेँ,’ प्रचण्डले भने, ‘पार्टीभित्रको कुराले संसदलाई ‘भिक्टिम’ गर्न पाइन्छ ? यो कुन चाहिँ लोकतन्त्र हो यो ? पार्टी भित्रको बहुमतलाई किच्न खोज्ने कुन चाहिँ लोकतान्त्रिक संस्कार हो ?’

आफूलाई युद्ध हारेर आएको भनिएको भन्दै प्रचण्डले आक्रोस पोखे । उनले आगोसँग नखेल्न पनि चेतावनी दिए । सर्वोच्च अदालतले नेपालको संविधानको रक्षा गर्ने काम गरेको भन्दै उनले धन्यावाद थिए । विवेक प्रयोग गरेर सबैले देउवालाई विश्वासको मत दिन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर