जनकपुर-जयनगर रेल्वे लिकको परीक्षण सफल, प्रतिघण्टा १२० किलोमिटर कुदेकोमा शंका – Nepal Press

जनकपुर-जयनगर रेल्वे लिकको परीक्षण सफल, प्रतिघण्टा १२० किलोमिटर कुदेकोमा शंका

जनकपुरधाम । भारतको जयनगर-जनकपुरधाम-कुर्था रेल्वे लिकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिएको छ । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल कुदाएर लिकको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले दावी गरेका छन् । उनका अनुसार लिकको स्पिड परीक्षण सफल भयो ।

यस्तै रेल्वे कम्पनीकै इन्जिनियर विनोद ओझाले कुर्थादेखि जयनगर २३ मिनेटमा पुगेको जानकारी दिए । उनले पनि रेल ११० देखि ११५ किलोमिटर प्रतिघण्टा स्पिडमा रेल कुदेको दावी गरे ।

तर उनीहरुले गरेको दावी झुटो रहेको नेपाल प्रेसले केही प्रमाण फेला पारेको छ । जुन रेल परीक्षणका लागि ल्याइएको थियो, त्यसको क्षमता नै प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा कुद्ने थिएन ।

रेलको पछाडि भागमा स्पष्ट लेखिएको छ, ‘११० किलोमिटर प्रतिघण्टा ।’ यसलाई आधार मान्ने हो भने परीक्षण नै असफल भएको छ र रेल्वे अधिकारीहरुले ढाँटेका छन् । ११० किलोमिटर प्रतिघण्टा कुट्ने क्षमताको रेल त्यति पनि कुद्न नसक्ने इन्जिनियरहरु बताउँछन् ।

रेल्वे लिक परीक्षण गर्न रेल आइसकेको कुरा थाहा पाएर जनकपुरस्थित रेल्वे स्टेशनमा ठूलो भीड लागेको थियो । तीमध्ये कसैलाई पनि विश्वास लागेन कि, रेल १२० किलोमिटरको स्पिडमा कुद्यो । एक युवकले भने, ‘रेल मुस्किलले ७०/८० किलोमिटरको स्पिडमा कुदेको हुनसक्छ ।’

रेलको लिक भारतीय कम्पनीले निर्माण गरिरहेको छ । जयनगरदेखि बर्दिबाससम्म ६४ किलोमिटर लिक निर्माण गर्ने सम्झौता भएपनि हालसम्म कुर्थासम्म करिब ३४ किलोमिटर मात्र निर्माण भएको छ । बाँकी लिक निर्माणाधीन अवस्थामा छ ।

लिक परीक्षणको नाटक गरेर निर्माण मापदण्डअनुसार भएको देखाउन खोजिएको एक अधिकारीले बताए । उनका अनुसार लिक निर्माण सही हो र यसको स्पिड क्षमता १२० किलोमिटर प्रतिघण्टा रहेको देखाउन ठूलो रकमको चलखेल भएको हुनसक्छ ।

नेपाल सरकारले खरिद गरेको रेल परीक्षण गर्ने खालको नभएको भन्दै भारतीयबाटै अर्को रेल ल्याइएको थियो । परीक्षणका क्रममा नेपाल र भारत दुवै देशका रेल्वे अधिकारीहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *