जसपाको आधिकारिकताबारे आयोगको इजलासमा आजदेखि सुनुवाइ – Nepal Press

जसपाको आधिकारिकताबारे आयोगको इजलासमा आजदेखि सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।

जसपा विवाद समाधानका लागि यसअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो । छलफलमा सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकािरकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको हो ।

ऐनका अनुसार दुवै पक्षले आफ्नो आधिकारीकता दावी गर्न कानून व्यवसायीलाई इजलासमा बहस गराउन सक्नेछन् ।

जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।

यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो ।

ठाकुर पक्षले आफ्ना माग पूरा गर्न ओली सकरात्मक रहेको भन्दै ओलीको नेतृत्वमा सरकार बनाउन समर्थन दिएको थियो । दुवै पक्षले आफूसँग बहुमत रहेको दावी गर्दै आएका छन् ।

शनिबारमात्रै ठाकुर पक्षका ५ जना सांसदहरु यादव समूहको बैठकमा सहभागी भएका छन् । जसबाट यादव समूह केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमतमा देखिएको छ ।

प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रहेको इजलासमा आजबाट सुरु हुने सुनुवाई सकिएपछि आधिकारीकताको टुंगो लाग्ने छ । जसपाको आधिकारिकता नपाउने पक्षलाई आयोगले नयाँ दल दर्ताका लागि समय दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर