ड्रागन फ्रुटमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा चितवन–मकवानपुरका किसान (फोटो/भिडियो) – Nepal Press

ड्रागन फ्रुटमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा चितवन–मकवानपुरका किसान (फोटो/भिडियो)

चितवन । चितवन र मकवानपुरमा ड्रागन खेती फस्टाउन थालेको छ । कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत तथा सहायक सूचना अधिकारी उमराज अर्यालका अनुसार २ वर्ष यता चितवनमा करिब ३० विघा र मकवानपुरमा १५ विघामा यसको व्यावसायिक खेती विस्तार भएको छ ।

‘छतमा, करेशामा होस् या जग्गामा ड्रागन लगाउने क्रम बढेको छ’, उनी भन्छन्, ‘४–५ वर्षपछि सजिलै ड्रागन फल उपलब्ध हुनेछ ।’
कार्यालयले ड्रागनखेती गर्ने किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । चितवनको दिव्यनगर, थाकलटार, खुरखुरे, प्रेमवस्ती, कैलाशनगर लगायतका ठाउँमा व्यावसायिक रुपमा खेती सुरु भएको छ ।

मकवनापुरको मनहरी, मकवनापुरगढी, हेटौडा ११, १२ र १७ मा ड्रागन खेती थालिएको छ । ‘ड्रागन खेती गरौँ भन्ने सोच विकास भएको छ’, अर्यालले भने, ‘केही वर्षमै चितवन–मकवानपुर ड्रागन खेतीमा आत्मनिर्भर बन्ने संकेत देखिएको छ ।’

एकपटक लगाइसकेपछि करिब २० वर्षसम्म सोही बिरुवाबाट फल टिप्न सकिन्छ । पोलमा ४ वटासम्म बिरुवा रोप्न सकिन्छ । एउटा पोलबाट वर्षमा करिब ४० केजी उत्पादन हुन्छ ।

विरुवा रोपेको ८ देखि २ वर्षमा ड्रागन फुल्न सुरु गर्छ । वर्षमा ८ महिनासम्म लगातार फल टिप्न सकिन्छ । एक दर्जन फलफूलहरुमा पाइने तत्व ड्रागनको एउटै फलमा पाइने भएकाले यसलाई फलहरुको राजा पनि मानिन्छ ।

विदेशबाट फर्केर ड्रागन खेतीमा रमाउँदै युवा

सिंगापुर प्रहरीको अवकास प्राप्त मेजर तैबहादुर गुरुङ ड्रागन फलको आयात रोक्ने अभियानमा सक्रिय छन् । २९ वर्ष सिंगापुरमा बसेर ७ वर्ष पहिले नेपाल आएका उनी आजभोलि ड्रागन खेतीको रेखदेखमा छन् । भरतपुर–२६ दिव्यनगरमा दाजु पदमबहादुरसँग मिलेर गंगाश्री बहुउद्येश्यीय कृषि फर्म दर्ता गरर ३ विगाहा क्षेत्रफलमा उनले ड्रागन खेती गरेका छन् ।

पदमबहादुर १२ वर्ष जापान बसेर फर्किएका हुन् । दाजुभाइले ड्रागन खेती फैलाउन करिब ७० हजार बेर्ना बेचिसकेका छन् । प्रतिगोटा ३ सय रुपैयाँमा बेर्ना बेचेका छन् । ‘दिनहुँजसो फर्म घुम्न र बेर्ना लिन आउनेहरु हुन्छन्’, तैबहादुर भन्छन्, ‘खेती विस्तारहुँदा खुशी छौँ ।’

भियतनामबाट बेर्ना ल्याएर हुर्काएका तैबहादुर फर्मकै परिपक्व (म्याचुयर) विरुवाका हाँगा काटेर मलजल गरी नयाँ बेर्ना तयार पार्ने सोचमा छन् । ‘यो खेती सबैतिर हुन थालेपछि आयात रोकिनेछ’, उनले भने, ‘केही वर्ष कुर्नुपर्छ, सस्तो र सजिलै ड्रागन किनेर सर्वसाधरणले खान पाउनेछन् ।’

फर्मबाट उनले प्रतिकेजी ५ सय रुपैयाँमा फल बेच्दै आएका छन् । भविष्यमा यो खेतीको व्यवसायीकरण बढेमा प्रशोधन केन्द्रनै स्थापना गर्ने लक्ष्य लिएका छन उनले ।

ड्रागनबाट जुस, वाइन, जाम, जेली, आइसक्रिम, कस्मेटिक सामान, फेसप्याकलगायतका वस्तुहरु बनाउन सकिन्छ । ‘धेरैजना यो खेतीमा लागेमा कारखाना खोल्न सजिलो हुनेछ, उत्पादन पनि खपत हुनेछ’, उनी भन्छन्, ‘हरेक दिनको खाजा–खानामा प्रयोग हुन थालेपछि किसान थप उत्साहित हुनेछन् ।’ विदेशका ठूला सपिङ मल, रेष्टुरेण्टमा ड्रागनको उच्च माग देखेरै गुरुङ दाजुभाइले पुख्र्यौली खेतमा ड्रागन हुर्काएका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीका हरिशरण अर्याल २० वर्षदेखि कृषिकर्ममा छन् । १९ महिनायता उनी ड्रागन खेतीमा सक्रिय छन् ।

अघिल्लो वर्ष १२ कट्टठामा खेती थालेका उनले गत वर्ष १५ कट्टठा थप विस्तार गरे । उनले फर्ममा अढाई विघाको प्लटमा कागती, कुरिलोसमेत लगाएका छन् । ‘यहीबाटै बिक्रि भैरहेको छ, फल हुर्किन नपाउँदै बेच्नुपरेको छ’, उनी भन्छन् ।

कुखुरापालन, सयपत्री फुलखेतीको अनुभव समेत लिएका अर्याल आजभोलि ड्रागनखेतीमा व्यस्त छन् । बेर्ना १ सय ५० रुपैयाँ र ड्रागन फललाई प्रतिकेजी ६ सय रुपैयाँमा बेचेका छन् उनले । फर्ममा बेर्ना लिन आउनेहरुको संख्या बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर