एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा – Nepal Press

एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा

काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु पार्टी एकताको लागि छलफल गर्न आज पनि सामूहिक रुपमा जुटेका छन् । विघटित एकता कार्यदलका नेताहरुबीच सिंहदरवारमा छलफल चलिरहेको छ ।

एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो । विघटित वार्ता टोलीका नेताहरु अनौपचारिक वार्तामा जुटेका हुन् ।

एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । शुक्रबारको बैठकमा कार्यदलका माधवपक्षीय नेताहरु उपस्थित भएर माधव नेपालसहितको बैठक बोलाउन अध्यक्ष केपी शर्मा अ‍ोली समक्ष माग गरेका थिए ।

नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट बढेको छ । एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने माधव नेपालले विश्वासको मत दिएर संसद जोगाउने बताउँदै आएका छन् ।

वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् ।

अब यो दायरमा स्थायी कमिटीका अन्य नेताहरुलाई समेत समेटेर दबाब दिने तयारी भइरहेको छ ।

विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ ।

एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।

प्रतिक्रिया

One thought on “एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन अनौपचारिक छलफलमा

  1. एमाले एकता जोगाउने उपयुक्त र अन्तिम बिकल्प भनेको सुभाष नेम्वाङको नेतृत्वमा एमाले सरकार हो यति गर्न सकेनौ भने आउने चुनाब देखि एमाले कहिले उठन नसक्ने गरि ओरालो लाग्छौ समयमा चेतना भया

Leave a Reply to काजी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर